नेकपाः ओली जसपा फुटाउने प्रयासमा, प्रचण्डको व्रिफिङः अब निष्कर्ष निकाल्नुपर्छ – Janadesh Daily | ePaper

नेकपाः ओली जसपा फुटाउने प्रयासमा, प्रचण्डको व्रिफिङः अब निष्कर्ष निकाल्नुपर्छ


जनादेश वाच ।

नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवाद नयाँ उत्कर्षतर्फ जाने संकेत देखिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनलाई जवाफ दिन ल्याएको प्रत्युत्तर प्रतिवेदनमा लगाइएका प्रत्यारोप र भाषाले अब मिलेर अघी बढ्न कठिन देखिएको विश्लेषकहरुले बताएका छन् ।

ओली जसरी पनि इतर पक्षलाई गलाउने र आफ्नो सत्ता अहिलेकै शैलीमा मनोमानीरुपमा अघि बढाउने मनस्थितिमा देखिन्छन् भने प्रचण्ड र बरिष्ठ माधव नेपाल पक्षले अब ओली नसच्चिए यसरी अघी बढ्न नसक्ने निष्कर्ष निकालेको छ ।

सजपा फुटाउने ओलीको प्रयास
यस अघिको आन्तरिक विवादमा आफ्नो सत्ता सुरक्षित राख्न संघीय समाजवादी पार्टी फुटाउने प्रयास गरेका र त्यसकै लागि पार्टी फुटाउने अध्यादेश ल्याएका प्रधानमन्त्री ओलीले समाजवादी जनता पार्टी विभाजनको प्रयास गरेको बताइएको छ ।

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादीबीच एकीकरण भएर गठन भएको जनता समाजवादी पार्टीको केन्द्रीय र संघीय परिषद् गठन भइसकेको छ । तर स्थानीय, प्रदेश र जिल्ला तहको समायोजनको प्रक्रिया बाँकी नै छ । यही समयमा ओलीले उक्त पार्टी विभाजनको प्रयास गरिरहेको श्रोत बताउँछ ।

जसपा उच्च स्रोतकाअनुसार जसपाका केही सांसदहरु प्रधानमन्त्री केपी ओलीको नियमित सम्पर्कमा छन् । नेकपा विभाजन भएमा जसपा पनि फुट्ने निष्कर्षमा जसपाकै नेताहरु पुग्न थालेका छन् । नेकपा विभाजनको अवस्थामा जसपाका सांसदहरु पनि अलग पार्टी बनाएर सरकारमा जानेसम्मको तयारीमा लागेको ती नेताको दाबी छ ।

यस अघि पनि पार्टी विवाद उत्कर्षमा पुग्दा जसपा विभाजन गराउन खोजेको आरोप प्रधानमन्त्री ओलीमाथि लागेको थियो । त्यसका लागि ओली निकट सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र प्रहरी पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीका सांसद डा.सुरेन्द्र यादवलाई घरबाटै ‘अपहरण’ गरेर काठमाडौं ल्याएका थिए । त्यसविरुद्ध जसपाले उजुरी नै गरेको थियो ।

प्रचण्डको व्रिफिङ ओली नसच्चिए निर्णायक कदम
ओलीले पार्टीमा पेस गरेको जवाफी प्रतिवेदन अध्ययन गरिरहेका कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयका नेताहरुसहित आफूनिकट स्थायी समिति सदस्यहरुसँग सामुहिक र एकल रुपमा छलफल जारी राखेका छन् । उनले आइतबार विहानदेखि साँझसम्म वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए।

यस्तै आफूनिकट स्थायी समिति सदस्यहरु जनार्दन शर्मा, वर्षमान पुन, मात्रिका यादव लगायतसँग पनि प्रचण्डले सघन छलफल गरेका छन्। नेताहरुसँग प्रचण्डले ओली रुपान्तरण नभई केही नहुने र उनी रुपान्तरण हुने सम्भावना नदेखिएको भन्दै अब निर्णायक कदम चालिने संकेत गरेका छन् ।

कात्तिक २८ गते प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको जवाफ दिँदै ओलीले शनिबार बसेको सचिवालय बैठकमा ३८ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्