जनादेश, काठमाडौं ।
तनहुँमा प्रहरी नियन्त्रणमा लिइएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । तनहुँमा पुल उद्घाटनका क्रममा प्रहरीले नियन्त्रणमा लिइएका पौडेल कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेपछि रिहा भएका हुन् ।
पौडेलसहित कांग्रेसको तनहुँ कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले रिहा गरेको छ।
बुधबार दिउँसो तनहुँको व्यास नगरपालिकाका दुईवटा वडा जोड्ने पुल उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो।
घटनाको विरोध गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई फोन गरी नेता पौडेललाई तत्काल रिहा गर्न माग गरेका थिए।
त्यसपछि बुधबार साँझ पौडेलसहितका नेतालाई प्रहरीले छाडेको हो । पुल उ्घाटनका विषयमा प्रतिपक्षी कांग्रेस र सत्तारुढ नेकपा कार्यकर्ताबीच झगडा परेपछि प्रशासनले त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।
त्यहि निषेधज्ञा तोडेको भनेर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेतालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
रिहा भएपछि कार्यकर्तालाई सम्बोधन गर्दै पौडेलले केपी ओली नेतृत्वको सरकारले शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन्।
पौडेललाई जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो। पौडेल पुल उद्घाटनमा जाँदा सत्तारुढ नेकपानिकट राष्ट्रिय युवा संघले अवरोध गर्न खोजेपछि झडपको अवस्था आएको थियो।
यसैबीच वरिष्ठ नेता पौडेलमाथि भएको धरपकड र गिरफ्तारीलाई लिएर कांग्रेस नेताहरुले आक्रोश पोखेका छन्।