एजेन्सी ।
विश्वमा गत चौबीस घण्टामा ६ लाख ३२ हजार कोरोन संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४८ लाख पुगेको छ ।
दोस्रो लहरको संक्रमण तीव्र हुँदा मृतक संख्यामा भने फेरि नयाँ रेकर्ड कायम भएको छ । बुधबार विश्वभर १२ हजार ३०९ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।
यसअघि ११ मंसिरमा एकैदिन १२ हजार संक्रमितको मृत्यु भएको थियो । विश्वभर १४ लाख ९८ हजार २९६ जनाको मृत्यु भएको छ ।
छिमेकी भारतमा पछिल्लो २४ घण्टामा ४९८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३८ हजार ६५७ पुगेको छ ।
यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९५ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३३ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख ३३ हजार ४७१ पुगेको छ ।