ओली पक्षीय नेता र राष्ट्रपतिलाई प्रचण्डको सन्देशः ओलीले एक पद नछोडे बहुमतबाट निर्णय – Janadesh Daily | ePaper

ओली पक्षीय नेता र राष्ट्रपतिलाई प्रचण्डको सन्देशः ओलीले एक पद नछोडे बहुमतबाट निर्णय


जनादेश वाच ।

सत्तारुढ नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति नजुटेपछि नेकपा अब बहुमतीय प्रक्रियाबाट अघि बढ्ने देखिएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षीय नेताहरुले ओली प्रक्रियाबाट भागिरहे अब बहुमतीय प्रक्रियाबाट निर्णय हुने बताएका छन् । प्रचण्ड नेतृत्वको बुधबारको सचिवालय बैठकले ओलीलाई बैठकमा उपस्थित हुन तीन दिनको समय दिएको छ । २ दिनमा सहमति कायम नभए २० गतेको बैठक बसेर प्रतिवेदनमाथि छलफल हुने सचिवालयका एक नेताले बताएका छन् ।

ओलीले दुई मध्ये एक पद छाड्ने बटम लाइन
प्रचण्ड नेपाल समूहले ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने बटमलाइन अघि सारेको छ । दुईमध्ये एक पद छाडे मात्रै कुरा मिल्ने उनीहरुको भनाई छ । तर, ओली भने दुवै पद छाड्ने पक्षमा छैनन् । उनले प्रधानमन्त्री पद लिन निर्वाचन कुर्न र अध्यक्षको पद लिन महाधिवेशन कुर्न भनिसकेका छन् । चार महिनापछि हुने पार्टीको महाधिवेशनले अध्यक्ष पद निर्धारण गर्ने र आगामी निर्वाचनले प्रधानमन्त्री पद निर्धारण गर्ने भएकाले त्यतिबेलासम्म धैर्य गर्न ओलीको आग्रह छ ।

‌ओलीले दुवै पक्षका प्रस्ताव फिर्ता लिएर संयुक्त प्रस्ताव ल्याउने अडान लिइरहेको भएपनि प्रचण्ड त्यसका लागि तयार छैनन् । दुवै अध्यक्षको संयुक्त दस्तावेज ल्याउन प्रस्तावसहित बिहीबार बिहान महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेतासुवास नेम्वाङ खुमलटार पुगेका थिए । ओली र प्रचण्डबीच २३ दिनदेखि संवाद हुन सकेको छैन। त्यो संवादहीनता तोड्न बालुवाटारनिकट नेताहरु पनि सक्रिय छन्।

कात्तिक २५ गतेदेखि ओली र प्रचण्डबीच एक्लाएक्लै संवाद भएको छैन। कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले सरकार र पार्टी सञ्चालन गर्न ओली असफल रहेको ठहर गर्दै १९ पृष्ठको राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसपछि चुलिएको विवाद पार्टी फुटउन्मुख छ। ओलीले मंसिर १३ गते प्रचण्डले लगाएको आरोपहरुलाई खण्डन गर्दै ५३ बुँदामा ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गरे । त्यसले नेकपाभित्र झन् ठूलो विवाद मात्रै चर्काएको छैन, पार्टी विभाजनको तयारी समेत गरेको आरोपले एकले अर्कोलाई लगाइरहेका छन्।

नौ–सदस्यीय सचिवालयमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रचण्डको पक्षमा उभिएका छन्।

ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पदबाट राजीनामा दिने सम्भावना तत्काल देखिँदैन। यदि उनले कुनै एक पदबाट राजीनामा दिए भने सहमतिको कोर्स अघि बढ्न सक्ने केही नेताहरु बताउँछन्।

शितल निवास पनि सक्रिय

प्रचण्ड र ओलीबीच दरार पैदा भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मिलापको प्रयास गरेकी छिन् । विहीबार प्रचण्डलाई शितल निवास बोलाएर उनले २० मंसिरको सचिवालय र २१ मंसिरको स्थायी समितिको बैठक स्थगित मिलापको वातावरण बनाउन सुझाव दिएकी हुन् ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफललगत्तै प्रचण्डलाई बोलाएर राष्ट्रपतिले दिएको सुझावलाई प्रचण्डले धन्यवाद मात्र भनेका थिए । प्रचण्डले निर्धारित समयमै सचिवालय र स्थायी समितिको बैठक बस्ने र ओलीको अटेरी कायम रहे बहुमतीय प्रक्रियाबाट निर्णय हुने अडान राखेका छन् ।

नेकपाको वर्तमान संकट ओलीबाटै सिर्जित भएको र समाधान पनि ओलीबाटै हुनुपर्ने प्रचण्डको तर्क थियो । आफू ओलीप्रति लचिलो भएर नै २६ भदौमा सहमति जुटेको उल्लेख गर्दै प्रचण्डले ओलीमा समस्या रहेको बेलिविस्तार लगाएर आउँदा बैठक बहुमतीय प्रक्रियामा जाने बताएपछि राष्ट्रपति भण्डारी भने चुपचाप बसेको स्रोतको दाबी छ ।

यो पनि हेर्नुस्- शितल निवासको सक्रियतापछि बाबुरामले भनेअब त अति भो !

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्