जनादेश, काडमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
‘कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ जसमा सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्छ’, सम्बोधनका क्रममा ओलीले भने ।
प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुनेसमेत बताए । अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गरेका छन् । कोभिड–१९ लाई कै केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो । प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पुर्याइएको थियो ।
सरकारले थाल्यो खोप ल्याउने तयारी
सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो। द्रुतकार्य योजनाका लागि आठवटा समिति गठन गरिएको छ। सरकारले खोप अभियान नै सञ्चालन गर्नेछ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार समितिले खोप आयात, भण्डारणदेखि वितरणलगायतका प्रक्रियाको कामलाई अघि बढाएको छ।
उनले भने, ‘खोप व्यवस्थापन कसरी गर्ने, जनचेतनादेखि तालिमलगायतका काम भइरहेका छन्। हामीसँग भण्डारण गर्न मिल्ने खोप प्राथमिकतामा पर्छ। हाम्रो जोड जतिसक्यो अनुदानमा खोप ल्याउने हो। त्यसका लागि कूटनीतिक प्रयास भइरहेको छ।’
खोप आयातमा सहजताका लागि औषधि अध्यादेशसमेत जारी भइसकेको छ। नेपालले कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना बनाएको छ, जसमा कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशतलाई प्राथमिकताका आधारमा निःशुल्क खोप लगाइनेछ।
विश्वका गरिब राष्ट्रलाई खोपको समान पहुँच हुनुपर्छ भनेर विश्व स्वास्थ्य संगठन, युनिसेफ, विश्व बैंक र गाभी सम्मिलित गठबन्धन बनेकाले यसलाई कोभ्याक्स नामाकरण गरिएको हो। खोप खरिद प्रक्रियाका लागि बजेटको जोहो गर्ने काम भइरहेको छ।