जनादेश, काठमाडौँ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको भ्रमणले भारतसँग संवादहीनताको अवस्था अन्त्य गरेको दाबी गरेका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा शुक्रबार उपस्थित भएका परराष्ट्र मन्त्री ज्ञवालीले भारतीय विदेश सचिवको भ्रमणसँगै भारतसँगको औपचारिक संवादको ढोका खुलेको दाबी गरेका हुन् ।
विदेश सचिवको नेपाल भ्रमणमा सीमा सम्बन्धी समस्यालाई औपचारिक एजेन्डा बनाएर उठाइसकेको र त्यसलाई प्रेस विज्ञप्तीमा समेत उल्लेख गरिएको उनले बताए । नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यसलाई औपचारिक रुपमा नै एजेन्डा बनाएर राखिएको मन्त्री ज्ञवालीको दाबी छ ।
सीमा सम्बन्धी विषयमा छलफल गर्ने गरी दुई देशका सचिव स्तरीय बैठक बस्ने तयारी भइरहेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।