जनादेश, जिल्ला व्युरो ।
डोटी र दाङमा भएका छुट्टा-छुट्टै जीप दुर्घटनामा कम्तिमा ४ जनाको ज्यान गएको छ । गएराति डोटीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।
सदरमुकाम दिपायलबाट डोटीको बोगतान फुदसिल तर्फ जाँदै गरेको म १ स ५५० नम्बरको जीप गए राति १ बजे बोगतान फुदसिल- ७ मा दुर्घटना भएको डोटीका प्रहरी प्रमुख एसपी जनकराज पाण्डेले जानकारी दिए।
‘दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, पाँच जना घाइते भएका छन्,’ एसपी पाण्डेले आइतबार बिहान जनादेशसँग भने, ‘घाइतेलाई उपचारको लागि दिपायल ल्याइँदै छ।’
दुर्घटनामा बोगतान फुदसिल- ७ की वडा सचिव मञ्जु त्रिपाठी, केआइसिंह गाउँपालिका- ४ का हरिनारायण भट्टको मृत्यु भएको छ। अर्का मृतकको सनाखत हुन नसकेको एसपी पाण्डेले जानकारी दिए।
उता, दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि अन्य दुईजना गम्भीर घाइते भएका छन्।पिकनिक गएर फर्केका व्यक्ति चढेको जीप दुर्घटना भएको हो।
घोराही उपमहानगरपालिका १७ असारेमा लुम्बिनी प्रदेश ३–०१–०२२ च ६३६९ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट खेतमा पल्टिँदा घोराही उपमहानगरपालिका १७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको हो।
दुर्घटनामा परि सोही ठाउँका ३५ वर्षीय उमाकान्त घिमिरे र घोराही १५ का ३६ वर्षीय समिर पन्त घाइते भएका छन्।
घाइते दुवैलाई उपचारका लागि कोहलपुर लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए।
घोराही–४ सिस्नेखोलाको एक्ले पिपलमा पिकनिकबाट घोराहीतर्फ आउने क्रममा जीप दुर्घटनामा परेको हो ।