जनादेश काठमाण्डौ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका छुट्टाछुट्टै प्रस्ताव र अन्य दस्तावेज अध्ययन गर्नका लागि बैठक एकसाताका लागि स्थागित गरी मंसिर २८ गते बोलाएको हो ।
बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव माथि अध्ययन गर्नका लागि समय दिइएको जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागी नभई आफू आउन नसक्नुको कारण खुलाई पत्र पठाएका थिए । ओलीको पत्र सचिवायल सदस्य इश्वर पोखरेलले पढेर सुनाएका थिए । ओलीको पत्रमा प्रचण्डले ल्याएको प्रस्ताव बैठकमा छलफलका लागि राख्न नमिल्ने भएकाले आफू उपस्थित नभएको जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए ।
ओलीको पत्र बाचनपछि अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गरेका थिए । अध्यक्ष प्रचण्डले पार्टी जीवनमा नै गम्भीर र संकटपूर्ण अवस्था आएको भन्दै पार्टी एकतालाई कायम राख्नका लागि गम्भीर व्यापक छलफलका लागि आग्रह गरेको प्रवक्ता श्रेष्ठले बताए । प्रचण्डले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको भन्दै ओलीलाई चुनौति दिएका छन् ।
उनले को प्रधानमन्त्री हुने र को अध्यक्ष हुने भन्ने कुरा गौण र गणतन्त्र र पार्टी एकताको रक्षा प्रमुख विषय भएको भन्दै यही बैठकमा अध्यक्ष छोड्न तयार छु भनेका थिए । नेकपाले मंसिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुष ५ गतेका लागि सार्ने निर्णय समेत गरेको छ ।