बेलायती महारानीले सार्वजनिकरुपमा कोरोना खोप लगाउने – Janadesh Daily | ePaper

बेलायती महारानीले सार्वजनिकरुपमा कोरोना खोप लगाउने


महारानी एलिजावेथको जन्मदिनमा यसवर्ष सलामी नदिइने
एजेन्सी ।

बेलायती महारानी एलिजाबेथ द्धितियले सार्वजनिकरुपमा कोरोना भाइरसविरुद्धको खोप लगाउने भएकी छिन् । महारानीले अबको केही हप्ता भित्रै लगाउने तयारी रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

बेलायतले फाइजरको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरिसकेको छ र खोपको पहिलो खेप बेल्जियमबाट आइसकेको छ । अबको केही दिनभित्रै बेलायतमा प्राथमिकता सूचिका आधारमा खोप लगाउन सुरु हुने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

महारानी एलिजाबेथले सर्वसाधारणलाई खोप लगाउनका लागि उत्साहित गर्ने उद्देश्यसहित चाँडै नै खोप लगाउने तयारी भएको समाचारमा जनाएको छ । महारानीसँगै ९९ वर्षका प्रिन्स फिलिपले पनि खोप लगाउने छन् । उनीहरुले खोप लगाउनका लागि कुनै विशेष पहुँच वा प्रभावको प्रयोग नगरी पहिलो चरणको खोप अभियान सुरु भएपछि लाइनमा बसेर खोप लिने बताएका छन् ।

डाक्टरको सल्लाहमा महारानी र प्रिन्स फिलिपले खोप लगाउने तयारी गरेको द डेलीमेलले जनाएको छ । महारानी र प्रिन्सले सार्वजनिक रुपमा खोप लगाउँदा सर्वसाधारणमा खोपलाई लिएर रहेको गलत सूचनाको प्रभाव हटाउन सहयोग पुग्ने जनस्वास्थ्यविदले बताएका छन् ।

यसैबिच अमेरिकाका तीन पूर्व राष्ट्रपतिले पनि सार्वजनिक रुपमा खोप लगाउने बताइसकेका छन् । अमेरिकामा फाइजर र मोदेर्नाको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति माग गरी निर्माता कम्पनीले निवेदन दिएका छन् ।

डिसेम्बरको दोस्रो हप्ता अमेरिकी नियामक निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले खोपलाई स्वीकृति प्रदान गर्ने अपेक्षा छ । पूर्व राष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस र बिल क्लिन्टनले खोप उपलब्ध भएपछि टेलिभिजनमै खोप लगाउने बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्