ट्रम्पलाई फेरि झट्का, जर्जियामा तेश्रो पटकको गणनामा पनि बाइडेन विजयी – Janadesh Daily | ePaper

ट्रम्पलाई फेरि झट्का, जर्जियामा तेश्रो पटकको गणनामा पनि बाइडेन विजयी


एजेन्सी ।

चुनावी नतिजा उल्ट्याउने प्रयासमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि झट्का लागेको छ । अब उनले नतिजालाई चुनौति दिने बाटाहरु लगभग बन्द हुने अवस्था आएको छ ।

जर्जिया राज्यमा तेस्रो पटक भएको मतगणनामा पनि जो बाइडेन विजयी घोषित भएपछि ट्रम्पलाई अन्तिम झट्का लागेको हो ।

गएको नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको आफूबाट नतिजा खोसिएको आरोप बिना प्रमाण लगाउँदै आएका ट्रम्पको आग्रहमा जर्जियामा तेस्रोपटकसम्म मतगणना गरिएको थियो ।

सुरुका दुई चरण जस्तै तेस्रो चरणको मत गणनामा पनि ट्रम्प बाइडेन भन्दा पछि नै रहे र जर्जियाले राष्ट्रपतिमा राज्यबाट बाइडेन विजयी भएको पुनः घोषणा गरेको छ ।

परम्परागत रुपमा रिपब्लिकनहरुको पकड रहँदै आएको राज्य जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार मतले पछि पारेका हुन् ।

जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरले तेस्रो पटक भएको मतगणनाको नतिजा घोषणा गरेका हुन् ।

रिपब्लिकन ब्राडले राष्ट्रपति ट्रम्प र उनको टिमबाट लगातार बिना प्रमाण आधारहिन चुनावी धाँधलीको आरोप लगाइरहँदा त्यसले राज्यलाई असर गरिरहेको भन्दै चेतावनी समेत दिएका छन् ।

यद्यपि ट्रम्पले अझै पनि बिना प्रमाण धाँधलीको आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् ।

जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राडले एट्लान्टामा भएको पत्रकार सम्मेलनमा भने, ‘हामीले वैध रुपमा खसालिएका मत तीन पटक गन्यौँ र नतिजा उस्तै रह्यो । मलाई थाहा छ कि अझै पनि यस्ता व्यक्तिहरु छन् जसलाई लाग्छ चुनावमा धाँधली भएको छ । तर प्रमाण, खास प्रमाण र तथ्य हामीलाई त्यो भन्दा फरक कुरा बताउँछ ।’

ट्रम्पले विभिन्न ब्याटलग्राउण्ड राज्यमा आफ्नो हारलाई जितमा परिणत गर्न वा नतिजा उल्ट्याउनका लागि गरेको सबै कानूनी प्रयासहरु प्रमाण बिना खारेज भएका छन् वा विपक्षमा फैसला भएका छन् ।

ट्रम्पले दुई दिनअघि राज्यको भ्रमण गरेर सार्वजनिक कार्यक्रममा धाँधलीको आरोप लगाएपछि जर्जियाको तेस्रो पटक भएको मतगणनाको नतिजा आएको हो ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ । बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाउने पक्का भएको छ । बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन् ।

ट्रम्पले सत्ता हस्तान्तरणका लागि महत्वपूर्ण मानिने ट्रान्जिसनको मार्ग प्रशस्त गरिसकेको भएपनि अझै पनि चुनावी पराजय स्वीकार गरेका छैनन् । विपक्षीहरुले चुनाव धाँधली गरेर जितेको उनको आरोप छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्