जनादेश, काठमाडौ ।
सगरमाथाको नयाँ उचाई घोषणासँगै नेपाल र चीनबीचको मित्रता पनि नयाँ उचाइमा पुगेको चीनले बताएको छ ।
बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लि च्येनले सो कुरा बताएका हुन् ।
प्रवक्ता च्येनले सगरमाथाको नयाँ उचाइ घोषणा हुनु चीन र नेपाल बीचको मित्रतामा नयाँ कोशेढुंगा थपिएको बताए । ‘यसले ट्रान्स-हिमालयन बहुपक्षीय नेटवर्क विस्तारमा समेत सहयोग पुग्छ ।’ प्रवक्ता च्येनले भने ।
चिनियाँ राष्ट्रपति सी चिन फिङ र नेपाली समकक्षी विद्यादेवी भण्डारीले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेको उल्लेख गर्दै यसले दुई देशबीचको मित्रतामा नयाँ कोशेढुंगा थपिएको चीनकव बुझाई छ ।
प्रवक्ता च्येनले दुई देशबीचको यो पहलकदमीले कोरोना महामारीबाट आक्रान्त विश्वमा नयाँ आशा जगाएको समेत बताएका छन् ।
चीन र नेपालले झैं मिलेर समझ्दारीबाट साथ काम गरेमा कोराना भाइरसलाई सजिलै हराउन सकिनेमा उनले जोड दिए ।
चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको यसै वर्ष ६५ वर्ष पुग्ने बताउँदै उनले दुई देशको पहलकदमीबाट बिआरआईमा सहकार्यमा समेत प्रगति भैरहेको बताएका छन् ।
मंगलबार नेपाल र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेमी बढेको घोषणा गरेका गरेका थिए । यो घोषणासँगै सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८.८६ मिटर स्थापित भएको छ ।
सोही दिन चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले एक अर्कालाई सन्देश पठाउँदै सगरमाथाको नयाँ उचाइको संयुक्त घोषणा गरेका थिए ।
सगरमाथा चीन र नेपालको मित्रताको द्योतक हो अनि मूल्यवान प्राकृतिक श्रोत साधन सम्पदा पनि हो। सगरमाथाको पर्यावरणीय संरक्षण सबैको साझा दायित्व हो। राष्ट्राध्यक्ष सी चिन फिङले सन्देशमा भनेका छन् ।