हिल्सा हिउँमा सीमा गस्ती – Janadesh Daily | ePaper

हिल्सा हिउँमा सीमा गस्ती


सिमकोट, रासस ।

चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी (बिओपी) का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ । हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा नियमितरूपमा हिल्सा बिओपीमा खटिएका सुरक्षाकर्मीले गस्ती गर्दै आउनुपरेको छ ।

केही दिन अगाडि परेको हिमपातले हिल्सा क्षेत्र सेताम्मे भएको सीमा सुरक्षाचौकीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी बताउनुभयो । उहाँको नेतृत्वमा गस्ती टोलीले विकट क्षेत्र र लिमीतर्फ सीमास्तम्भको निरीक्षण गर्ने गरेको छ भने नारातर्फ नेपालपट्टि पनि अनुगमन गर्ने गरेको छ ।

इन्चार्ज केसीले भन्नुभयो, “माइनस सातसम्म तापक्रम अहिले पुगेको छ र हिल्साका होटल व्यवसायीका अनुसार अझै बढ्ने जानकारी आएको छ । बिहान उठ्दा धारा, शौचालय, बाल्टीका पानी जमेको छ । पानी जमेर भएको बरफलाई तताएर मात्र पानी निकाल्न सकिने अवस्था छ ।”

सीमा सुरक्षा गर्नु पहिलो कर्तव्य भएका कारण आफ्नो ज्यानको प्रवाह नगरी सुरक्षाकर्मी लागिपरेको उहाँले बताउनुभयो । हिल्सा कर्णाली नदीको तीरमा गहिरो खोँचमा भएका कारण हिउँदको समय घाम पनि थोरै लाग्ने गर्दछ । दिनमा एकपटक ११ बजेतिर मात्रै घाम लाग्ने गरेको उहाँले बताउनुभयो ।

हालसम्म हिल्सामा नेपाल प्रहरीको सुरक्षाकर्मी हिउँदमा नबसेको समयमा सीमा सुरक्षाचौकी स्थापना भएको वर्ष सीमा नाका सशस्त्र प्रहरीको टोली बस्न शुरु गरेको छ । नेपाल प्रहरीको हिल्सामा रहेको चौकी केही समय अगाडि जिल्लामा फिर्ता भइसकेको छ । हिल्सा बिओपीमा २२ सुरक्षाकर्मीले सीमा सुरक्षा दिँदै आएका छन् भने १२ स्थानीय नागरिक बस्दै आएको बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्