मलाई नियोजितरुपमा फसाउन खोजियोः नारायण काजी श्रेष्ठ – Janadesh Daily | ePaper

मलाई नियोजितरुपमा फसाउन खोजियोः नारायण काजी श्रेष्ठ


जनादेश, काठमाडौँ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कमान सिंह लामाको मृत्युपछि आफूलाई नियोजितरुपमा फसाउन खोजिएको दाबी गरेका छन् । कम्युनिस्ट आन्दोलनको भ्रष्टीकरणविरुद्ध लाग्दा आफूलाई नियोजित रुपमा फसाउन खोजिएको उनको दाबी छ ।

कमानसिंह लामाको मृत्युपछि बाहिरिएको अडियोरभिडियो सामग्रीका विषयमा विवादित बनेका श्रेष्ठले कम्युनिस्ट आन्दोलन भ्रष्टीकरणतिर भएको विषयमा निरन्तर पैरवी गर्दा आफूमाथि प्रहार भएको जिकिर गरेका हुन् ।

आर्थिक लेनदेनमा आफ्नो कुनै संलग्नता नभएको बताउँदै श्रेष्ठले जनादेशसँग दुई पक्षलाई मिलाउन सहजीकरण मात्रै गरेको दाबी गरे । आफूले आर्थिक लेनदेन हुनेगरी बार्गेनिङसमेत नगरेको श्रेष्ठले प्रष्टीकरण दिएका छन् ।

लामाको निधनसँगै एउटा विवादित लेनदेनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम मुछिएपछि आलोचकहरुले नारायणकाजीविरुद्ध फायर खोलेका छन् ।

कमानसिंह लामाको कोरोना भाइरसका संक्रमणका कारण शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहान निधन भएको थियो ।

कोरोना लागेपछि १६ दिनदेखि उनी अस्पतालमै रहेका उनले अन्तिम समयमा लेखेका फेसबुक स्ट्यास लगायतका कुरालाई लिएर कतिपयले नारायणकाजीमाथि गम्भीर आरोप समेत लगाएका छन् ।

एउटा विवादित लेनदेनमा नारायणकाजीले मध्यस्थता गरेकोभन्दै श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ ।

सनराइज खबर डटकम भन्ने अनलाइनले “नारायणकाजी श्रेष्ठका कारण दर्दनाक बनेको थियो कमानसिंहको जीवन” शीर्षकमा एक समाचार प्रकाशित गर्दै उनीमाथि लागेका आरोप पुष्टि हुने दाबीसहितका अडियो र भिडियो सामग्री प्रकाशित गरेको छ ।

भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ । तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम लिएको देखिन्छ । श्रेष्ठले दुवै जनालाई परिवारकै सदस्यजस्तै भएकाले मिल्न सुझाब दिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्