संस्थागत हुँदै नेकपाको विवाद, ओलीविरुद्ध प्रचण्ड-नेपाल समूहको मोर्चावन्दी तल्लो तहसम्मै – Janadesh Daily | ePaper

संस्थागत हुँदै नेकपाको विवाद, ओलीविरुद्ध प्रचण्ड-नेपाल समूहको मोर्चावन्दी तल्लो तहसम्मै


जनादेश, काठमाडौँ ।

सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समीकरणलाई तल्लो तहसम्मै लैजाने तयारी गरेका छन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तरसंघर्ष चर्किएपछि प्रचण्ड र नेपालले आफ्ना कुरा सातै प्रदेशसम्म लैजान थालेका हुन् ।

उनीहरूले जिल्ला संगठन समितिका सचिवसम्मलाई भेला गराई प्रशिक्षण अभियान चलाउने निष्कर्ष निकालेका छन् । त्यसैक्रममा हिजो काठमाडौंमा उनीहरूले वाग्मती प्रदेशअन्तर्गत १३ जिल्लाका आफूनिकट इन्चार्ज, अध्यक्ष र सचिवसम्मको भेला समेत गरेका छन् ।

पेरिसडाँडा कोटेश्वरस्थित जनवर्गीय संगठनहरूको सम्र्पक कार्यालयमा भएको भेलामा करिब ५० जना जिल्ला नेता सहभागी थिए । दाहाल र नेपालले झन्डै चार घण्टा पार्टीको विवाद, दुवै अध्यक्षका प्रस्ताव, अबको रणनीतिलगायत विषयमा प्रशिक्षण दिएका थिए ।

उनीहरूले प्रधानमन्त्री ओलीसँग कुनै पनि प्रकारको सम्झौता नगरिने, अहिलेको अन्तरसंघर्ष वैचारिक राजनीतिक भएको भन्दै यसलाई तल्लो तहसम्मै छलफलमा लैजाने बताएका थिए ।

ओली र प्रचण्डबीच बुधबार भएको एक्लाएक्लै भेट सहज बन्न नसकेपछि अब एकलरुपमा नभेट्ने भन्दै छुट्टिएका थिए ।

ओलीले प्रचण्डको माग अनुसार आफू पार्टी अध्यक्ष नछोड्ने र प्रधानमन्त्री पदबाट पनि राजीनामा नदिने अडान दोहोर्याएपछि प्रचण्डले ओलीसँग मिल्न नसकिने बताएका थिए ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको समिकरण तोडेर आफूसँग सहकार्य गर्न ओलीले प्रस्ताव पनि प्रचण्डले अस्वीकार गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्