स्थायी समिति आजः ओलीका दूतको खुमलटार दौड जारी, यस्तो छ दुई पक्षको रणनीति – Janadesh Daily | ePaper

स्थायी समिति आजः ओलीका दूतको खुमलटार दौड जारी, यस्तो छ दुई पक्षको रणनीति


जनादेश वाच ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक साताक अन्तरालपछि आज बस्दैछ । मंसिर २१ मा सुरू भएको स्थायी कमिटी बैठक एक साताको स्थगनपछि पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्नेछ ।

सबैतिर अल्पमतमा परेर रक्षात्मक बनेका प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले बैठकको पूर्वसन्ध्यामा पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउने प्रयास जारी राखेका छन् । तर प्रचण्डलाई फकाउने प्रयास अहिलेसम्म सफल हुन सकेको छैन ।

शनिबार मात्रै ओली निकट नेता एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले अर्का प्रचण्डलाई भेटेर दुई अध्यक्ष मिलेर जानुको विकल्प नभएको बताएका थिए । त्यसका लागि दुवै अध्यक्षको प्रस्ताव फिर्ता गरेर अघि बढ्न उनको प्रस्ताव थियो ।

प्रचण्डलाई मनाउन प्रधानमन्त्री ओलीले अर्का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, प्रदीपकुमार ज्ञवाली,पृथ्वीसुब्बा गुरुङलगायत नेताहरुलाई पनि परिचालन गरेका छन्। गत भदौ २६ गतेको निर्णयको वरिपरिबाट सहमति खोज्नुपर्ने बताउँदै आएका छन्।

यदि त्यसरी सहमति नभए अर्को सहमति गरेर भएपनि दुई अध्यक्ष मिलेर जानुपर्ने प्रस्ताव गरेका छन्। तर प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नहुने प्रष्ट पार्दै कुनै एक पद छाड्न ओलीलाई दबाब दिएका छन् । भदौ २६ को सहमति ओलीले नै उल्लंघन गरेको प्रचण्डको भनाई छ ।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत ओली अल्पमतमा परेको समयमा प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताले बहुमतबाट निर्णय गर्न चाहेका छन् । यसमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहमत देखिएका छन् ।

माधव नेपाललाई छोडेर आफूसँग मिल्न ओलीले गरेको आग्रहलाई प्रचण्डले अस्वीकार गरिदिएका थिए । नेता नेपालले दुई अध्यक्षको मात्रै सहमति आफूलाई मान्य नहुने र कमिटीको निर्णय अनुसार चल्नुपर्ने चेतावनी दिँदै आएका छन् ।

एक पद त्याग गर्न ओली तयार नभए स्थायी कमिटीमा बहुमत अल्पमतका आधारमा निर्णय हुने र त्यसो गर्दा उनले दुवै पद गुमाउन सक्ने चेतावनी प्रचण्ड-माधव पक्षले दिएको छ।

९ सदस्यीय सचिवालयमा अल्पमतकै कारण आफू प्रतिकूलको निर्णय खेपिसकेका ओलीले स्थायी कमिटीबाट पनि सकारात्मक परिणाम नपाउने निश्चित भएपछि उनी बैठक टार्नेमा लागिपरेका छन् ।

४४ सदस्यीय स्थायी कमिटीमा ओलीका पक्षमा प्रष्ट खुलेका सदय ११ जनामात्र छन् । त्यहाँ पनि विधि र पद्धति मिचेको भन्दै ओलीलाई प्रतिकूल हुने निर्णयले निरन्तरता पाउने सम्भावना छ ।

फेल भयो बैठकबाट भाग्ने ओलीको दाउ
ओलीका दूतहरुको खुमलटार दौड जारी रहेपनि प्रचण्ड नगलेपछि आजको बैठकमा सहभागी हुने बाध्यता ओलीलाई आइलागेको छ ।

अघिल्लो साता स्थायी समितिलाई पत्र पठाउँदै उनकै शब्दमा प्रचण्डको ‘अभियोग पत्र’ फिर्ता हुनुपर्ने अडान राखेका ओलीले आजको बैठकमा उपस्थित भएर बचाउको प्रयास गर्ने उनी निकटहरुले संकेत गरेका छन् ।

र ओली बैठकमा सहभागी हुने भए बैठक धुम्बाराहीमा नभएर बालुवाटारमा बस्नुपर्ने शर्त पनि ओली पक्षले अघि सारेको छ । स्वास्थ्य र सुरक्षाका दृष्टिले बालुवाटार नै सुरक्षित हुने उनीहरुको तर्क छ ।

स्थायी कमिटी बैठककै दिन पारेर आइतबार बिहान प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सामेल नहुने बताएपछि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक स्थगित गर्ने अवस्था आएको छ । अर्थात् बैठकबाट भाग्ने एउटा दाउ फेल भएको छ ।

कांग्रेसले सरकारको कार्यशैलीविरुद्ध राष्ट्रव्यापी विरोध प्रर्दशनको घोषणा गरेका कारण संवैधानिक परिषद् बैठक सार्न पर्ने परिस्थिति निर्माण भएको हो । प्रधानमन्त्री ओलीले आइतबारका लागि यो बाहेक अन्य कुनै कार्यक्रम घोषणा गरेका छैनन्।

प्रधानमन्त्री ओली निकट महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्थायी कमिटी बैठकको एजेण्डामा सहमति भइसकेकाले ओली उक्त बैठकमा सहभागी हुने बताएका छन्। तर प्रचण्डको प्रस्तावमाथि छलफल नहुने उनीहरुको दाबी छ ।

प्रचण्ड-माधव पक्षले भने स्थायी कमिटी बैठकमा ‘पार्टीको आन्तरिक समस्यामाथि छलफल’ भनेर साझा एजेण्डा तय गरिएपनि त्यसअन्तर्गत प्रचण्डको प्रस्ताव, एमसीसी, पार्टी एकताका बाँकी कामलगायत विषयमा छलफल हुने अडान लिएको छ।

ओली र प्रचण्ड आआफ्नै अडानमा कायमै रहने र बहुमतीय निर्णयको बाटोमा जाने अवस्था आएमा नेकपा विभाजनतर्फ जाने निश्चित रहेको विश्लेषकहरुले बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्