जनादेश, काठमाडौँ ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल अब हिन्दु राज्य हुन नसक्ने बताएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका ५ स्थित मुलकोटगढी महाँकाल त्रिशुलडाँडा परिसरमा शनिबार १ सय २१ फिट अग्लो त्रिशुलको शिलन्यास गर्दै उनले नेपाल अब कहिल्यै पनि हिन्दु राज्य हुन नसक्ने बताए ।
उनले हिन्दु धर्मको पालना गर्न र हिन्दु आचारण अबलम्बन गर्न संविधानले नरोकेको भन्दै हिन्दु राष्ट्र र हिन्दु राज्य फरक विषय भएकाले नेपाल अब हिन्दु राज्य हुन नसक्ने बताएका हुन् ।
धर्म र राजनीति फरक विषय भएकाले राजनीतिमा धर्मलाई मिसाउन नहुने उनको तर्क छ । एशियाकै अग्लो भनिएको १ सय २१ फिट अग्लो त्रिशुल ३ करोड ३२ लाख रुपैयाको लागतमा निर्माण गरिन लागेको हो ।