जनादेश, काठमाडौँ ।
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दैछ । गत मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो ।
दिउँसो एक बजे बोलाइएको बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको नेकपाले जनाएको छ ।
पूर्वराजदूत एवम् पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो । बैठकको अर्को मिति भने शोक प्रस्ताव पारित भएपछि तय हुनेछ । शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूची तर्फ नबढाउने प्रचलन छ ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सचिवालय बैठकमा आरोप-प्रत्यारोप पत्रको दोहोरी नै चलेपछि पार्टी विवाद स्थायी कमिटीमा पुगेको छ ।
ओलीका दूतको दौडधुप जारी
ओली निकट नेता सुवास नेम्वाङले पार्टी एकता जोगाउनका लागि सकारात्मक भूमिका निर्वाह गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । स्थायी समिति बैठक बस्नु अघि कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका नेम्वाङले पार्टी एकता जोगाउनका लागि सकरात्मक भूमिका निर्वाह गर्न आग्रह गरेको बताएका हुन् । पार्टी एकता रक्षाका लागि अध्यक्ष प्रचण्ड पनि सकरात्मक रहेको नेम्वाङले बताए । स्थायी कमिटी बैठक अघि नेम्वाङ खुमलटार पुगेका हुन् ।