जनादेश, काठमाडौँ ।
नेकपा स्थायी समितिको आजको बैठक केही बेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठक नेकपा नेता तथा पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै नेकपा बैठक स्थगित गरिएको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले उनको निधनमा शोक प्रस्ताव गर्दै बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
यस अघि पत्रमात्र पठाएर अनुपस्थित रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि आजको बैठकमा सहभागी भएका थिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने अडानसहित गत मंसिर २१ गते सुरु भएको स्थायी समिति बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएका थिए ।
ओली सहभागी हुने भएरै आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको थियो । अर्को बैठकदेखि मात्रै ओली र प्रचण्डको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
बैठक टार्ने रणनीतिमा रहेको ओली समूह प्रचण्डलाई फकाउने रणनीतिमा छ । आजै विहानमात्र ओली निकट नेता सुवास नेम्वाङले पार्टी एकता जोगाउनका लागि सकारात्मक भूमिका निर्वाह गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका थिए ।
स्थायी समिति बैठक बस्नु अघि कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका नेम्वाङले पार्टी एकता जोगाउनका लागि सकरात्मक भूमिका निर्वाह गर्न आग्रह गरेको बताएका हुन् । पार्टी एकता रक्षाका लागि अध्यक्ष प्रचण्ड पनि सकरात्मक रहेको नेम्वाङले बताए ।