जनादेश अपडेट ।
प्रमुख प्रतिपक्षी कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दै छ । सरकारको सर्वसत्तावादविरुद्ध प्रदर्शन गर्न लागेको कांग्रेसले जनाएको छ ।
पुल उद्घाटन गर्न जाँदा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार भएको घटनापछि कांग्रेसले सरकारको ज्यादतीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो । पार्टी कार्यकर्ता आफैँ सडकमा उत्रिएपछि पदाधिकारी र पूर्वपदाधिकारी बैठकले देशभर एकैसाथ, एउटै नाराका साथ सरकारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।
कांग्रेसले पौडेलमाथि दुव्र्यवहारसहित सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड र महिला हिंसा तथा बलात्कारका घटना वृद्धिजस्ता दर्जनौँ मुद्दाका कारण सरकारविरुद्ध सडकमा जानु परेको कांग्रेसको भनाई छ ।
कांग्रेसले कोरोना संक्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।
सरकारले अलोकतान्त्रिक क्रियाकलाप गरेको र लामो अन्तरालपछि गठन भएको स्थिर सरकार भए पनि जनताको अपेक्षाअनुरूप काम गर्न नसक्दा निराशा छाएको र प्रतिगामी शक्तिसमेत सल्बलाएको भन्दै सर्वसाधारण नागरिकलाई समेत सडक प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ ।
कोरोनाका कारण भन्दै कांग्रेसले औपचारिक रूपमा जिल्लामा प्रतिनिधि नपठाएको भएपनि शीर्ष नेता र अधिकांश केन्द्रीय सदस्य जिल्ला–जिल्लामा पुगेका छन् । सभापति देउवाले हेटौँडामा हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्नेछन् ।
वरिष्ठ नेता पौडेलले काठमाडौंमा, उपसभापति विमलेन्द्र निधिले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध सभालार्ई सम्बोधन गर्ने कार्यक्रम छ । महोत्तरी जाने तयारीमा रहेका नेता कृष्णप्रसाद सिटौला भने कोरोना पजिटिभ भएपछि होम आइसोलेसनमा छन् । यस्तै, महामन्त्री डा. शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री डा. प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा, सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटा र पूर्वसहमहामन्त्री डा. रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले कास्की, पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले सप्तरीमा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् ।