जनादेश, काठमाडौँ ।
नेपाली काग्रेसका नेता रामचन्द्र पौडेलले केपी ओली सरकार इतिहासकै भ्रष्ट भएको आरोप लगाएका छन् । कांग्रेसले गरेको विरोध कार्यक्रम सम्बोधन गर्ने क्रममा काठमाडौंको शान्ति वाटिकामा सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नकै लागि सबै निकाय केन्द्रीकृत गरेको टिप्पणी गरेका हुन् ।
पौडेलले कुन राजा ल्याउन जनता सडकमा आए भन्ने प्रश्न गर्दै ओली सरकारकै कारण प्रतिगामीहरु सडकमा आएको टिप्पणी पनि गरे । वरिष्ठ नेता पौडेलले अब कुनै पनि तानाशाही र सर्वसत्तावाद विरुद्ध जुर्मुराएका बताए । नेपाली जनता जागरणको अवस्थामा पुगेका भन्दै उनले अब कम्युनिस्ट शासन समाप्त हुने उल्लेख गरेका थिए ।
सरकारको सर्वसत्तावाद र अधिनायकवादी चरित्रविरुद्ध कांग्रेसले ७७ वटै जिल्लामा गरेको विरोध कार्यक्रम सम्बोधन गर्ने क्रममा शीर्ष नेताहरुले ओलीकै कारण राजावादीहरु सडकमा आएको भन्दै ब्यवस्था विरुद्धभन्दा पनि कुशासनको विरुद्ध लाग्न सबैलाई अपील गरेका छन् ।
देशब्यापी विरोधसभा राखेर सरकार विरुद्ध खनिएको कांग्रेसका नेताहरुले सरकार महँगी, भ्रष्ट्रचार र कुशासनमा लागेको आरोप लगाउदै सरकारमा बस्ने नैतिकता गुमाएको आरोप लगाएका छन् ।
कोरोनाको महामारीमा सरकार ओम्नी समूह जस्ता भ्रष्ट्र र क्षमता नभएका संस्था छानेर अबौं भ्रष्ट्रचार गरेको, वाइडी बडी, न्यारो बडी, यति होल्डिङ्स, प्रिन्टिङ प्रेसमा अबौं भ्रष्ट्रचार गरेको भन्दै यसको संरक्षक नै प्रधानमन्त्री भएको कांग्रेसको आरोप छ ।