आकश्मिक मन्त्रिपरिषद् राखेर प्रधानमन्त्रीले ल्याए संबैधानिक परिषद् सम्बन्धी अध्यादेश – Janadesh Daily | ePaper

आकश्मिक मन्त्रिपरिषद् राखेर प्रधानमन्त्रीले ल्याए संबैधानिक परिषद् सम्बन्धी अध्यादेश


जनादेश, काठमाडौँ ।

सरकारले संबैधानिक परिषद् बैठक सम्बन्धि अध्यादेश जारी गरेको छ । मंगलबार विहान बसेको आकश्मिक मन्त्रिपरिषद् बैठकले पारित गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेसँगै जारी भएको हो ।

नेकपाभित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध हुने अवस्था आएपछि सरकारले अध्यादेश ल्याएको हो । संशोधनमा भएको अध्यादेशमा परिषद् बैठक बसेर निर्णय गर्नका लागि सहज पारिएको छ ।

पार्टी विवाद चर्किँदै गएको समयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको संवैधानिक परिषद्को बैठक सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित हुन पुगेको थियो भने २८ गतेपनि सभामुखसहित काँग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि स्थगित भएको थियो ।

संशोधनअघिको संवैधानिक परिषद् काम कर्तव्य, अधिकार र कार्यविधि २ हजार ६६ अनुसार परिषद् बैठक आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्ने उल्लेख थियो । तर उपदफा २ मा अध्यक्षको निर्देशानुसार सचिवले परिषद्को बैठक बस्ने मिति, समय र स्थान तथा छलफलको विषयसूची सहितको सूचना बैठक बस्नुभन्दा कम्तिमा ४८ घण्टा अगावै सदस्यहरुलाई पठाउनु पर्ने बाध्यकारी व्यवस्था छ ।

यही सूचना नपाएको भन्दै सभामुख सापकोटा आज विहानको बैठकमा अनुपस्थित भएका थिए । अध्यादेश ल्याएर संबैधानिक परिषद्ले निर्णय गरेपछि नेकपाभित्र विवाद थप चर्किने निश्चित भएको छ ।

ओलीले पार्टी विवाद चर्किरहेको समयमा चालेका कदमले संबैधानिक संकट निम्तिन सक्ने विश्लेषकहरुले बताएका छन् । ओलीले यस अघि नै पार्टीको तर्फबाट संसदीय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागिसकेका छन् । गुरुङले भने ओलीले भन्दैमा राजीनामा नदिने जवाफ दिएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्