जनादेश, काठमाण्डौ ।
विवादास्पद अध्यादेश जारी गरेर आज दोश्रो पटक बोलाइएको संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको अध्यक्षतामा जारी परिषद् बैठकले रिक्त रहेका विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको लागि सिफारिस गर्ने अनुमान गरिएको छ । खागरि अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा ३ जना रिक्त पदमा नियुक्तिको सिफारिस गर्ने प्रधानमन्त्री ओलीको तयारी छ ।
बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित छन् । आज विहान बोलाइएको बैठकमा बैठकका विषयवस्तुको जानकारी समयमा नआएको भन्दै सभामुख सापकोटा अनुपस्थित भएपछि गणपूरक समेत नपुगेर स्थगित भएको थियो ।
नेकपाभित्रको विवादकाबीच ओली इतर पक्षका मानिने सभामुख अनुपस्थित भएपछि प्रधानमन्त्रीले दिउँसो अध्यादेश जारी गरेर बहुमतको आधारमा निर्णय गर्नसक्ने प्रावधानसहितको व्यवस्था गरेका थिए ।
नयाँ ब्यवस्था अनुसार प्रधानमन्त्री सहित ३ जना सदस्यको सहमतिलाइ गणपूरक मानिने उल्लेख छ । संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने ब्यवस्था छ भने सदस्यमा सभामुख, प्रधानन्यायाधीश, राष्ट्रियसभाको अध्यक्ष, प्रमुख प्रतिपक्ष दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहन्छन् । तर प्रतिनिधिसभाको उपसभामुख लामो समयदेखि रिक्त रहदै आएको छ ।
ओलीले अध्यादेशकै आधारमा संबैधानिक परिषद्को बैठक आयोजना गर्ने र निर्णय गर्ने बाटोमा ओली लागेपछि नेकपा विवाद उत्कर्षमा पुगेको छ । यस विषयमा प्रतिक्रिया जनाउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा सचिवालयका ५ नेता खुमलटारमा बसिरहेका छन् ।