बालुवाटारमा के के भयो, यस्तो छ सहमतिको वास्तविकता – Janadesh Daily | ePaper

बालुवाटारमा के के भयो, यस्तो छ सहमतिको वास्तविकता


जनादेश अपडेट ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको नयाँ आन्तरिक विवाद केही मत्थर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएपछि विवाद टरेको हो ।

बुधबार दिनभर बालुवाटारमा निक्कै रस्साकस्सी चल्यो । धेरैलाई जिज्ञासा छ संकट कसरी टर्‍यो र सहमति कसरी भयो ? बुधबार सहमति जुटाउन मुख्य गरी शंकर पोखरेल, विष्णु पौडेल, घनश्याम भुषाल र सुवास नेम्वाङले खेलेका थिए ।

प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आरोपप्रत्यारोपपूर्ण संवादपछि अन्ततः तात्कालिक संकट टर्‍यो ।

बुधबार बालुवाटारमा मुख्य ३ वटा सहमति भएका थिए । पहिलो – सहमतिमा संवैधानिक निकायमा पदपूर्ति हुने। प्रधानमन्त्री र प्रचण्डबीच सहमतिमा संवैधानिक निकायमा पदपूर्ति गर्ने सहमति बन्यो। त्यसैको जगमा प्रधानमन्त्रीले अध्यादेश फिर्ता हुने बताए । सहमतिमा संवैधानिक पदमा नियुक्ति गर्ने वातावरण बनाउन अध्यादेश फिर्ता लिए ।

अध्यादेश आएपछि प्रचण्डले ओलीलाई दबाब दिन संसद अधिवेशनको माग गर्दै राष्ट्रपति भवनमा सासंदलाई पठाए । भीम रावल र पम्फा भुषाल शितल निवास पुगेपछि ओली फतक्क गलेका थिए ।

अध्यादेश ल्याउने कदम आपत्तिजनक भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षीय नेताहरुले बुधबारको स्थायी समिति बैठकमा प्रधानमन्त्रीविरुद्ध कडारुपमा प्रस्तुत हुने तयारीका साथ बालुवाटार पुगेका थिए। उनीहरु ८३ जना सांसदको हस्ताक्षरसहित सो मागपत्र बोकेर शीतल निवास पुगेका थिए।

त्यही दबाबकाबीच दुई अध्यक्ष, महासचिव, भुसाल, नेम्वाङ र पोखरेलबीच छलफल भयो र तीन–बुँदे सहमति गर्दै तत्कालको गतिरोध अन्त्य गर्ने समझदारी बन्यो।

बालुवाटारमा भएको सहमतिलाई ओली पक्षले प्रचारको विषय बनाउँदै प्रचण्डको प्रस्ताव फिर्ता हुने बताएपछि खुमलटारले काउन्टर दिएको थियो ।

ओली र प्रचण्डबीच अध्यादेश र संसद् अधिवेशन माग गर्ने हस्ताक्षर सहितको निवेदन फिर्ता गर्ने सहमतिबाहेक अरु सहमति नभएको प्रचण्डको सचिवालयले स्पष्ट पारेको थियो ।

प्रचण्डको सचिवालयबाट स्वकीय सचिव गंगा दाहालले अध्यादेश र संसद अधिवेश बोलाउने पत्र फिर्ता गर्ने बाहेक अरु कुनै सहमति नभएको दावी गरेकी हुन् ।

प्रधानमन्त्री निकट स्रोतले भने दुवै अध्यक्षका लिखित आरोप प्रत्यारोप पनि फिर्ता गरेर बैठकमा संयुक्त प्रस्ताव लैजाने समझदारी भएको दावी गरेको थियो ।

स्थायी समितिको अर्को बैठक पुस ५ गते र सोहि दिनका लागि तय भएको केन्द्रीय समिति बैठक पुस १० गते गर्ने समझदारी पनि गरियो।

यहि सहमतिपछि ओली पनि बैठकमा सहभागी भए। बैठकमा उनले संवैधानिक निकायहरुमा पदाधिकारी नहुँदा १० महिनादेखि सरकारलाई काम गर्न अप्ठेरो भएकोले ती निकायहरुमा नियुक्ति गर्न खोजेको धारणा राखे।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्