२८ मंसिर आइतबारका दिन। लगनखेलस्थित ललितपुर जिल्ला अदालत परिसरमा एउटा नाटकीय घटना घट्यो। त्यसदिन नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभाग प्रमुख प्रेम दर्नाल र जिल्ला सेक्रेटरी सञ्जीब नेपालीलाई सर्वोच्चको आदेशमा रिहा गर्दै थियो। ललितपुर जिल्ला अदालतका श्रेस्तेदारको रोहवरमा उनीहरु छुट्टिदै थियो।
६ मंसिरमा विशेष ब्युरोले उनीहरुलाई ललितपुरको नख्खुबाट पक्राउ गरी ललितपुर प्रहरीलाई जिम्मा लगाएको थियो। उनीहरुविरुद्ध सुरुमा चन्दा आतंक र पछि संगठित अपराधमा ललितपुर प्रहरी अनुसन्धानमा जुटेको थियो। उनीहरुले गैरकानुनीरुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालिएको थियो। सर्वोच्चले उक्त रिटमाथि सुनुवाई गरी रिहा गर्न आदेश सुनाएको थियो।
आदेशलगत्तै प्रहरीले उनीहरुलाई ललितपुर जिल्ला अदालत पुर्यायो। र, त्यसपछि सुरु भयो नाटकीय मञ्चन।
प्रेम र सन्जीब अदालत छिरेको केही बेरमै एक जना मानिस अदालत छिर्छन्। गोलो गहुँगोरो अनुहार, दाह्री जुंगाले चिउडो ढाकिएको। मोटा मान्छे अदालतको भुँइ तलामा रहेको सोफामा बस्छन्। भुँइ तलामै रहेको श्रेष्तेदारको कोठाभित्र प्रेम र सन्जीब हुन्छन्।
केहीबेरमा श्रेस्तेदारले सर्वोच्चको आदेशअनुसार उनीहरु रिहा भएको सुनाउँछन्। त्यसपछि प्रेम दर्नाल भुँइ तलामै रहेको रेस्ट रुमभित्र छिर्छन्। त्यसअघि नै सोफामा बसिरहेका मोटा मानिस रेस्टरुमभित्र छिरिसिकेको हुन्छ। जे हुन्छ त्यही रेस्टरुम भित्र हुन्छ। दुई मिनेटपछि रेस्टरुमबाट निस्केर अदालतको भुँइ तलामा रहेको सञ्जीबसँगै हिँडेर अदालतको गेटतिर लाग्छन्। गेट नपुग्दै ढुकेर बसेका ललितपुर प्रहरीले अर्को मुद्दामा फेरि गिरफ्तार गर्छ।
भक्तपरमा उनीहरुविरुद्ध उजुरी परेको भन्दै दुबैलाई प्रहरीले भक्तपुर पुर्याउँछ। तर त्यहाँ पुगेपछि थाहा हुन्छ, सञ्जीबलाई रेस्टरुमबाट निस्केर जाऔँ होला अबु भन्ने व्यक्ति विप्लवको अर्थ विभाग प्रमुख प्रेम दर्नाल नभई उनका भाइ प्रमेश भन्ने लोकेन्द्र दर्नाल पक्राउ परेका रहेछन्। उनी कसरी फरार भए भन्दै अहिले प्रहरीलाई टाउको दुखाइको विषय बनेको छ।
अति खोजीको सूचीमा रहेका प्रेम र सञ्जीब पक्राउपछि प्रहरीले ठूलै उपलब्धि ठानेको थियो। तर २१ दिन हिरासतमा राखी अनुसन्धान गर्दासमेत प्रहरीले कुनै ुक्लुु नभेट्टाएपछि निराश बनेको थियो। त्यसपछि पनि उनी अदालतबाटै प्रहरीको घेरा तोडी भागेपछि प्रहरीलाई झनै तनाव बनाएको छ।
अदालतभित्र त्यसदिन विकसित घटनाक्रमको प्रहरीले भेउ समेत पाउन सकेन र प्रेम दर्नाल अदालतको गेटबाहिर गिरफतारको लागि कुरिरहेको प्रहरीलाई चक्मा दिँदै भाग्न सफल भए।
योजनाबद्धजस्तै देखिने यो घटनामा प्रेमकैजस्तो शारीरिक बनावट भएका र प्रेमकै अनुहारका उनका भाइ लोकेन्द्र रेस्टरुम पुगेको र दाइ प्रेम पनि त्यहाँ भेटेपछि बाहिरी लुगा साटफेर गरेको बुझिएको छ।
दाइको लुगा लगाएर बाहिर निस्केर सञ्जीबसँग लागेर गेटमा पक्राउ परेको केही बेरपछि हुलिया परिवर्तन गरी अदालतको मूल गेटबाटै प्रेम भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। अहिले उनी पार्टीको सम्पर्कमा पुगिसकेको विप्लव नेतृत्वको स्रोतले बताएका छन्।
(नेपालन्युजमा सुरेश तामाङले लेखेका छन्)