परिचय बदल्दै : व्यावसायिक उत्पादनमा पूर्वलडाकु – Janadesh Daily | ePaper

परिचय बदल्दै : व्यावसायिक उत्पादनमा पूर्वलडाकु


  • खेमराज गौतम, गलकोट ।

बाह्र वर्षको उमेरमा सशस्त्र द्वन्द्वमा होमिएकी तिलाकुमारी अहिले द्वन्द्वको कुरा लुकाउन खोज्नुहुन्छ । जनयुद्धमा घरपरिवार त्यागेर लाग्नुभएका सल्यानको बागचौर नगरपालिका– ४ की तिलाकुमारी अहिले बागलुङमा आएर द्वन्द्व भुल्दै कृषि कर्ममार्फत व्यावसायिक उत्पादनमा लाग्नुभएको छ । पढ्ने, रमाइलो गर्ने उमेरमा योद्धा बन्नुभएको तिलाकुमारीले जनयुद्धमा होमिएर आफ्नो समय खेर फालेको तीतो अनुभव सुनाउनुभयो । उहाँ द्वन्द्वको घाउ मेटाउँदै व्यावसायिकरुपमा कुखुरा, टर्की र बङ्गुरपालनमा लाग्नुभएको छ ।

विसं २०५२ फागनु १ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सशस्त्र द्वन्द्व थाल्दा तिलाकुमारी १२ वर्षकी हुनुहुन्थ्यो । जनयुद्धमा होमिएपछि तिलाकुमारीको दैनिकी र बाटो मात्र फेरिएन, उहाँको नामसँगै गन्तव्य र लक्ष्य पनि फेरियो । उहाँलाई समीक्षाको उपनामले चिनाउन थाल्यो । उहाँ समानताको लडाईंका लागि युद्धमा होमिनुभयो तर आज बिर्सन चाहानुहुन्छ पुराना यादहरू । उहाँले परिवर्तनका लागि युद्धमा होमिए पनि अन्त्यमा आफू शुन्य अवस्थामा आए पनि नयाँ जीवनको शुरुआत गरेको बताउनुभयो ।

तत्कालीन समयमा माओवादीकी निडर, आत्मविश्वासी, भरोसायोग्य लडाकु र स्वास्थ्यकर्मीको भूमिकामा रहनुभएकी तिलाकुमारी अहिले बाटो बदलेर सामान्य जीवयापनमा फर्कनुभएको छ । युद्धमा घाइतेको उपचार मात्र होइन, आवश्यकता पर्दा हतियार उठाएर युद्धको अग्रभागमै रहेर २४ वटा युद्ध लडे पनि शान्ति प्रक्रियामा आएपछि आपूmलाई बेवास्था गरेको दुखेसो गर्नुभयो । “चौबिस वटा युद्ध आफू नै लडेको अनुभव छ”, तिलाकुमारीले भन्नुभयो, “तर आज आफ्नो जीवनमा मात्र हैन नेपाली समाजमा समेत कुनै परिवर्तन आएन, अहिले साधारण तरिकाले जीवन जिउन थालेकी छु ।”

समाज र देश बदल्नका लागि गरेको युद्ध र सङ्घर्षबाट देशमा केही अभूतपूर्व परिवर्तन भए पनि आफ्नो जीवनमा समय र परिवार गुमाउनुपरेको उहाँको भनाइ छ । तिलाकुमारीमा क्रमशः एकपछि अर्को निराशाका बादल मडारिँदै आयो । त्यसैले आजभोलि फेरि तिलाकुमारीको दैनिकी फेरिएको छ । उहाँ अहिले कुखुरा, चल्ला, घर व्यवहार र चुला चौकामै सीमित भइरहनुभएको छ ।

महिलाले दासताबाट मुक्ति पाउँछन्, असमानताका सबै जञ्जिर तोडिन्छन्, महिला र पुरुषको मात्र होइन, समाजमा हुने सबै खालका भेदभावको अन्त्य हुन्छ भनेर हत्केलामा प्राण लिएर माओवादीबाट १९ वर्षको उमेरमा २०५९ साल चैत २७ गते जनमुक्ति सेनाबाट युद्ध लड्नुभएकोे तिलाकुमारीले तिनै मीठा सपना देखाएका नेताबाट आपूm विभेद र अन्यायमा परेको अनुभूति गर्नुभएको छ ।

जनमुक्ति सेना बनेर रुकुमको खारा युद्ध, भालुवाङलगायतका २४ स्थानमा युद्ध लड्नुभएको तिलाकुमारीलाई अहिले पछुतो भएको छ । उहाँले माओवादीमा लागेर समय र आफ्नो भविश्य मात्रै खेर फाल्नुभएन युद्धमा आफ्ना दाजु झलकमान, भाउजु र भतिजीसमेत गुमाउनुभयो । पातलो र मोटो मसाल भन्दै दाजुले गरेको राजनीति देखेर कम्युनिष्ट बन्नुभएकी तिलाकुमारीलाई उहाँका दाजुले तत्कालीन समयमा माओवादीको उपचार गर्नका लागि दाङको राप्ती हेल्थ इन्स्टिच्युटबाट अनमीसमेत पढाउनुभएको थियो । अनमी सकिँदा साथ प्रमाणपत्र झोलामा राखेर युद्धभूमिमा होमिनुभएकी तिलाकुमारीको भालुवाङ लडाईमा प्रमाणपत्र हराए पनि ज्ञान, सीप र क्षमताले धेरै घाइतेले नयाँ जीवन पाएको सम्झना दिमागमा ताजै रहेको उहाँको भनाइ छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्