चिनियाँ मिसन सफल कि असफल ! नेकपाका दुई पक्षको यस्तो सन्देश – Janadesh Daily | ePaper

चिनियाँ मिसन सफल कि असफल ! नेकपाका दुई पक्षको यस्तो सन्देश


जनादेश वाच ।

नेकपा विभाजनको प्रक्रियामा प्रवेश गरेपछि बेइजिङबाट एक्सप्रेसमा आएको प्रतिनिधि मण्डलले नेकपाको दुई घटकका नेताहरुसँग भेटेर सम्भावित परिदृष्यबारे जानकारी लिएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेकपा विभाजनको प्रक्रियामा गएको छ।

यो अवस्थाबारे अध्ययन गर्न नेपाल आएको टोलीले दुवै पक्षबीच अझैपनि दुई पक्षबीच मिलनबिन्दु कुनै हुनसक्छ कि भनी नेकपाका शीर्ष नेताहरुसमक्ष भ्रमणमा रहेका चिनियाँ नेताहरुले जिज्ञासा राखेका थिए।

आइतबार चीनबाट आएको उच्चस्तरीय टोलीले काठमाडौं ओर्लेसँगै क्रमशः राष्ट्रपति, प्रधानमन्त्री र नेकपाका सबै शीर्ष नेतालाई छुट्टाछुट्टै भेटिसकेको छ ।

नेकपा मिलाउन आएको भन्दै आलोचना भएपछि चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालय र नेपालको अध्ययन भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौले आफूहरु नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नआएको प्रष्ट्याएका छन्।

सोमबार साँझ पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल तथा संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँगको भेटमा चिनियाँ उपमन्त्रीले आफूहरुको नेपाल भ्रमण आन्तरिक मामिलामा छलफल गर्नका लागि नभएको बताएका थिए ।

यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचिआनले पनि नेपालको पछिल्लो अवस्थाबारे आफूहरु जानकार रहेको तर आन्तरिक मामिलामा हस्तक्षेप गर्ने आफ्नो पार्टीको कुनै नीति नभएको बताएका छन्।

चिनियाँ टोलीलाई कुन नेताले के भने

एकताको प्रयास गर्न नेपाल आएको कुओ येझाउ नेतृत्वको चार सदस्यीय टोली अन्ततः निराश फर्कने सम्भावना प्रबल छ । नेकपा विभाजित भएमा आफ्नो ठूलो मेहनत र लगानी खेर जाने तथा प्रतिस्पर्धीहरु फेरि बढ्ने त्राससहित नेपाल आएको सीपीसी उच्चस्तरीय टोलीले नेकपामा तलसम्म कित्ताकाट भइसकेको दृश्यका बीच आइतबार र सोमबार नेकपालाई पुनः ब्युँताउने असफल प्रयास गर्‍यो ।

प्रधानमन्त्री ओलीः पछि फर्किन सकिन्न
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ टोलीले मूल रूपमा प्रतिनिधिसभा विघटनको विषयमा चासो राखेको थियो । ओलीले पछि फर्किन सकिने परिस्थिति नरहेको जिकिर गर्दै पार्टीभित्रैबाट संसद्को दुरुपयोग गरी अप्रिय दुर्घटना निम्त्याउने तयारी भएपछि विघटन गर्नुपरेको दाबी गरेका थिए ।

प्रधानमन्त्रीसँग चिनियाँ राष्ट्रपतिका विशेष दूत कुओ येचौले, ‘के मध्यावधि चुनाव सहज ढंगले सम्भव छ ?’ भनेर सोधेका थिए, ओलीले जवाफमा ‘किन छैन, मज्जाले सम्भव छ’, भन्ने जवाफ दिएका थिए ।

पार्टीमा पुन: कुनै मिलन विन्दु निस्कन सक्छ कि ? भन्ने टोलीको अर्को जिज्ञासामा ओलीले नेकपा फुट नै नभएको बताए।

प्रधानमन्त्री ओलीसँग टोलीले तीन चरणमा भेटवार्ता गरेको थियो । पहिलो चरणमा प्रधानमन्त्री ओलीसँग अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्बाङ थिए । त्यसपछि उनीहरू बाहिरिए । प्रधानमन्त्रीको साथमा प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई सामेल भए । अन्त्यमा प्रधानमन्त्री एक्लै बसेर भेट गरेका थिए ।

नेकपा अध्यक्ष प्रचण्डसँगको भेटमा चिनियाँ उपमन्त्रीले नेकपाका विभाजित दुई पक्षबीच मिल्नका लागि अझै पनि कुनै मिलनबिन्दु हुनसक्छ कि भनी जिज्ञासा राखेका थिए । प्रचण्डले ओली सच्चिएमात्र त्यस्तो सम्भावना रहेको बताएका थिए प्रतिनिधि सभाको पुनर्स्थापना नै त्यस्तो बिन्दु हुनसक्ने उनको संकेत थियो ।

‘हाम्रो कारणले अहिलेको यो अवस्था आएको होइन। प्रधानमन्त्री ओलीलाई हामीले सरकार सञ्चालनमा सहयोग नै गर्दै आएका हौं तर प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले संसदमाथि प्रहार गर्नुभयो,’ प्रचण्डका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङको सन्देश पनि प्रचण्डलाई सुनाएका थिए।

प्रचण्डले चिनियाँ टोलीलाई भनेका थिए, ‘पार्टी एक हुने सम्भावना निकै कम छ। ओली सच्चिएमा पार्टी एकताबारे केही सोच्न सकिएला। तर त्यसको संकेत पनि देखिएको छैन। झनझन उहाँ तानाशाही प्रवृतिमा होमिनु भएको देखिन्छ। जुन बिन्दुमा गल्ती भएको थियो त्यही पुग्नुहोस् भन्दा उहाँले पार्टी विभाजन गरिदिनु भयो।’

माधव नेपालः ओली नै दोषी
कुओको टोलीले प्रचण्ड र नेपालसमक्ष अलगअलग तर उस्तै धारणा राखेको थियो । टोलीले नेपालसँग,‘नेपालमा राजनीतिक अनिश्चय देखियो। त्यसबाट नेपालले कसरी निकास पाउला? हामीलाई चिन्ता लाग्यो । त्यसैले नेपाल आएको हो। तर हामी आन्तरिक मामिलामा हस्तक्षेप गर्न आएको होइन। हामी नेकपा एक भइदियोस् भन्ने मात्र चाहन्छौँ। पार्टी एक भएको भए राम्रो सन्देश जाने थियो। नत्र विदेशीको हस्तक्षेप हुन्छ कि भन्ने चिन्ता छ’, भनेका थिए ।

नेपालले आफ्नो मुलुक र पार्टीमा उत्पन्न जटिल परिस्थितिलाई लिएर चिन्ता गरेको विषयलाई सकारात्मक रुपमा लिएको भएपनि अब पार्टी एकताको सम्भावना निकै कम रहेको चिनियाँ टोलीलाई सुनाएका थिए ।

चिनियाँ उच्चस्तरीय टोलीले नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग करिव एक घण्टा डल्लु पुगेर छलफल गरेको थियो । नेता खनालसँग पनि यो टोलीले सोही कुरा दोहोर्‍याएको थियो । नेता खनालका अनुसार चिनियाँ टोलीले नेकपा एक भइरहे नेपालमा समृद्धि र विकासको गति तीव्र हुनेमा जोड दिएको थियो। खनालले पनि आफू नेकपा एकताकै पक्षमा रहेको तर पछिल्लो पटक परिस्थिति जटिल बनेको जवाफ चिनियाँ टोलीलाई दिएका थिए।

चिनियाँ टोलीले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलगायत दलका नेताहरुसँग पनि छलफल गर्ने कार्यतालिका बनाएको बुझिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्