टेलिभिजनबाट प्रचण्डको सन्देशः ओलीले ब्याटल हारिसके, मैले जितें – Janadesh Daily | ePaper

टेलिभिजनबाट प्रचण्डको सन्देशः ओलीले ब्याटल हारिसके, मैले जितें


जनादेश मिडिया वाच ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पराजित भैसकेको दाबी गरेका छन् । कान्तिपुर टेलिभिजनको ‘फायर साइड’ कार्यक्रममा रुपेश श्रेष्ठसँगको अन्तर्वार्ताका क्रममा प्रचण्डले जनताको सर्वोच्च संस्था विघटन गरेर ओली राजनीतिक व्याटलमा पराजित भएको दाबी गरेका हुन् ।

“जनताका प्रतिनिधिको संस्था सामूहिक विवेकको स्वरुप हो त्यो विवेकलाई सत्ताले मिच्न खोजेर ओलीजीले व्याटल हारिसक्नु भयो, मैले जितें”, प्रचण्डले अन्तर्वार्ताका क्रममा भनेका छन् ।

प्रचण्डले जनताको सर्वोच्च निकाय जसरी पनि व्युँतिने बताउँदै ओलीले इतिहासमा कलंकको टीका लगाएको टिप्पणी पनि गरे ।

“ओलीजीले संसदमा आएर विश्वासको मत लिनु भएको भए त्यो निक्कै लोकतान्त्रिक हुन्थ्यो, उहाँले मैले लोकतन्त्रको खातिर आएँ भन्न पनि पाउनुहुन्थ्यो तर उहाँ त आफ्नो सत्ता जाने भएपछि संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन तिर पो लाग्नु भो, यहाँबाट उहाँ पराजित भएको पुष्टि हुन्छ”, प्रचण्डले अन्तर्वार्ताका क्रममा भनेका छन् ।

संसद व्युँतिने र नयाँ सरकार बन्ने दाबी गर्दै प्रचण्डले कांग्रेसका सभापति शेर बहादुर देउवासँग सबैखाले सहकार्य हुन सक्ने सम्भावना औल्याएका छन् ।

“हिजो पनि शेरबहादुर जीसँग सहकार्य भएकै हो, भोलि पनि हुनसक्छ । मैले ९ महिनामा सरकारको नेतृत्व सरक्क छोडिदिएपछि संसदबाट उहाँले मलाई राजनेता भनेको संसदमै रेकर्ड छ”, प्रचण्डले भने ।

आफूलाई एकदम गतिहीनता मन नपर्ने बताएका प्रचण्डले कतिपयले आफ्नो गतिशीलतालाई अस्थिरता भन्ने गरेको र त्यसलाई आफूले स्वभाविकरुपमा लिने गरेको बताए ।

आफू दशकौंदेखि नेपाली राजनीतिको केन्द्रमा रहेको कुराले यो गौरव हो कि पीडाबोध भनेर घोत्लिने गरेको बताएका प्रचण्डले यो गौरव र नेपाली जनताको विश्वास भएको दाबी गरे ।

ओलीले चुनाव गर्नका लागि घोषणा नगरेको दाबी गर्दै प्रचण्डले कोही पनि यस्को भुलभुलैयामा पर्न नहुने बताए ।

यो पनि हेर्नुस्

चिनियाँ मिसन सफल कि असफल ! नेकपाका दुई पक्षको यस्तो सन्देश

आफूहरु जिवितै रहेको र एक व्यक्तिलाई मन लागेको कुरा गर्ने अवस्था धेरैदिन नरहेन समेत उनले बताएका छन् । आफूहरु जिवितै रहेको बताउन नै सडकमा ‘हामी यहाँ छौं’ भन्ने व्यानर बोकेर पुगेको उनले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्