स्वस्थ जीवनशैली: के हो, स्वस्थ जीवनका लागि चार कुरामा विशेष ध्यान दिनु – Janadesh Daily | ePaper

स्वस्थ जीवनशैली: के हो, स्वस्थ जीवनका लागि चार कुरामा विशेष ध्यान दिनु


डा. मदन गिरी, काठमाण्डौ । ।

स्वस्थ र निरोगी जीवनका लागि जीवनशैली ठीक राख्न जरुरी छ । स्वस्थ जीवनशैलीका लागि एक पैसा पनि खर्च गर्नु पर्दैन । आहारविहारमा ध्यान दिए पुग्छ । यहाँ आहारको अर्थ व्यापक छ । मुख र जिब्रोले लिने खाद्य पदार्थलाई मात्र आहार मान्नु हुँदैन । आहारको अर्थ हुन्छ, बाहिरको चिज शरीर भित्र लिनु । जेसुकै कुरा पनि हामीले बाहिरबाट भित्र लिन्छौं भने त्यो आहार हो ।

भोजन आहार हो, जसलाई हामीले मुख र जिब्रोद्वारा भित्र लिन्छौं । तर आँखाद्वारा पनि हामीले बाहिरको दृश्य भित्र लिन्छौं । दृश्य पनि आहार नै हो । कानले लिने आवाज, त्वचाले गर्नेे स्पर्श तथा मनले ग्रहण गर्ने विचार र कल्पना पनि आहार नै हो । गलत विचारको आहारले नै अधिकांश मानसिक रोग सुरु हुन्छन् । त्यसैले त भनिन्छ, जस्तो खान्छौं, उस्तै हुन्छौं । त्यसैले आहारको यो महत्ववलाई मनन् गर्दै स्वस्थ जीवनका लागि चार कुरामा विशेष ध्यान दिनु अनिवार्य छ ।
– सन्तुलित भोजन
– शुभाचरण
– निद्रा-वि श्राम
– शुभविचार
यो नै स्वस्थ जीवनशैली हो । यस्तो स्वस्थ जीवनशैलीलाई व्यवहारमा उतार्न स्वस्थकर नियमको पालना गर्नुपर्छ ।

नियम एक

– बिहान सूर्योदयपूर्व वा ब्रह्म मुहूर्तमा उठ्ने बानी बसाल्ने ।
– उठ्नासाथ एकदुई गिलास शुद्ध पानी (कब्जियतले दिसा खलास हँुदैन भने मनतातो पानी) पिएर बाथरुम जाने ।
– दिसापिसाब तथा स्नान गर्ने ।
– दैनिक रूपमा, नसके कम्तीमा पनि सप्ताहको एक दिन स्नान गर्नुपूर्व तोरीको तेल या तिलको तेल या जैतुनको तेलले सम्पूर्ण शरीर मालिस गर्ने ।
-सफासुग्घर लुगा लगाएर शान्त, सफा र खुल्ला ठाउँमा बसेर प्राणायाम, ध्यान तथा योग आसनहरू गर्ने ।
– सकिन्छ भने दिनहुँ पाँच किलोमिटर हिँड्ने या दौडिने ।
– कम्तीमा पनि महिनाको एक पटक उपवास बस्ने ।

 नियम दुई

– काम पूरा लगनका साथ गर्ने ।
– परि श्रमअनुसार वि श्राम गर्ने ।
– बढी भोगविलास नगर्ने ।
– विवाहित भए सप्ताहमा एकदुई पटक सहवास गर्ने ।
– समयमै खाने, समयमै सुत्ने र समयमै उठ्ने ।
– गहिरो र पर्याप्त निद्रा लिने ।
– सधैं सत्य, प्रिय र हितकारी वचन बोल्ने ।
– फटाहा कुरा नगर्ने, कटुवचन नबोल्ने ।
– विनम्र व्यवहारको अपेक्षा गरिएजस्तै आफूले पनि विनम्र व्यवहार गर्ने ।
– फजुल खर्च नगर्ने, जुवातास नखेल्ने, व्यभिचार तथा अनावश्यक फेसनमा धन र समय खेर नफाल्ने ।

 नियम तीन

– घुस खाने तथा भ्रष्टाचार गर्ने जस्ता कुकृत्यहरू नगर्ने ।
– जस्तोसुकै आपत्-विपत्मा पनि मनको धैर्यलाई टुट्न नदिने ।
– हिम्मत र हौसला बनाइराख्ने ।
– ठूलाको आदर, असलको संगत र सानालाई माया गर्ने ।
– सधैं सत्य, अनुशासन र न्यायको मार्गमा हिँड्ने ।
– अन्याय र असत्यका अगाडि कहिल्यै नझुक्ने ।
– जातपात, भेषूभषा मत-सम्प्रदाय, लिंग, वर्ण र पेसा आदिको आधारमा कसैसग भेदभाव तथा पक्षपातपूर्ण व्यवहार नगर्ने ।

नियम चार

– देशको संविधान र कानुनको पालना गर्ने ।
– देशलाई अहित हुने कुनै काम नगर्ने ।
– सरल र सरस जीवन जिउने ।
– घर सफासुग्घर र फूलहरू रोप्ने ।
– घर बनाउँदा बिहान सूर्यको प्रकाश घरभित्र छिर्ने गरी बनाउने ।
– बेडरुममा अनावश्यक सामग्रीहरू नराख्ने ।
– भित्तामा उत्तेजक तस्बिर तथा धेरै भित्तेपात्रोहरू नझुन्ड्याउने ।
– बिछ्यौना सधैं सफासुग्घर राख्ने ।
– लुगाहरू मिलाएर राख्ने ।
– च्यातिएका लुगालाई नष्ट गर्ने ।
– अध्ययन कोठामा किताबहरू मिलाएर राख्ने ।
– च्यातिएका किताबहरूलाई पुनः बाइन्डिङ गरेर राख्ने ।
– नचाहिने किताबहरू व्यवस्थापन गर्ने ।
– टुटेफुटेका कुनै पनि सामग्रीहरू कोठामा नराख्ने ।
– पत्रपत्रिकाहरूलाई यत्रतत्र नफाल्ने ।

नियम पाँच

– जीवनको एक महान् लक्ष्य बनाउने र त्यसका लागि प्रयासरथ रहने ।
– मेहनतको पसिना बगाउने र अनि चैनका साथ सुत्ने ।
– बेलाबेलामा स्वास्थ्य परीक्षण गराउने ।
स्वस्थ जीवनशैली भनेकै यही हो । यस्तो जीवनशैली अपनाउने मानिसको जीवन नै स्वस्थ र सुखी हुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्