संसदमा आक्रमणदेखि वासिङ्टनमा कर्फ्युसम्म, कसरी भयो घटना (तस्विर कथा) – Janadesh Daily | ePaper

संसदमा आक्रमणदेखि वासिङ्टनमा कर्फ्युसम्म, कसरी भयो घटना (तस्विर कथा)


एजेन्सी ।

हारेको चुनावी नतिजा आफ्नो पक्षमा पार्न हरेक उपायको सहारा लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार टार्न उक्साएको कदमले अमेरिकाको शिर विश्व सामु झुक्ने अवस्था आएको छ ।

ट्रम्पको प्रमाण बिहीन उक्साहटमा उनका हतियारधारी समर्थकले बुधबार संसद भवनमा आक्रमण गरेका हुन् । उनीहरुले झण्डै तीन घण्टा संसद भवनमा नियन्त्रण तथा तोडफोड गरे ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन क्यापिटल बिल्डिङभित्रै पसेर आक्रमण र तोडफोड गरेका थिए ।

 

अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यु घोषणा गरिएको छ । संसद भवनभित्रै गोली लागेर एकजना महिलाको मृत्यु भएको छ ।

घटना कसरी भयो
अमेरिकी कंग्रेसमा सांसदहरुले जो बाइडेनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला आक्रमण भएको हो । सदनभित्र बहस चलिरहेकै बेला ट्रम्प समर्थकहरु क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए । झ्याल र ढोका तोडफोड गरेरै हतियारसहित ट्रम्प समर्थक भित्र पसे । सभामुखको कार्यकक्षमै पसेर, कुर्सीमा बसेरै ट्रम्पको पक्षमा नाराबाजी भयो ।

संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप समेत भयो । उक्त झडपमा प्रहरीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको सीएनएनले पुष्टि गरेको छ । ती महिलालाई छातीमा गोली लागेको थियो । प्रदर्शनमा ६ जना गम्भीर घाइते छन् । दुई दर्जन पक्राउ परेका छन् भने सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार नियन्त्रणमा लिएका छन् ।

वासिङ्टनमा मेयरले घोषणा गरेको कफ्र्यु सुरु भएको छ । बेलुका ६ बजेदेखि सुरु भएको कर्फ्यु आदेश बेलुका ६ बजेसम्म जारी रहनेछ । कर्फ्युको बाबजुद पनि संसद भवन क्षेत्र वरपर प्रदर्शन भएको थियो ।

संसद आक्रमणको घटना लगत्तै देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले यो अन्यौलता र हिंसाको अन्त्य गर्न ट्रम्पलाई आग्रह गरेका छन् । अमेरिकी लोकतन्त्रमा ट्रम्पले कू गर्ने प्रयास गरेको भन्दै उनले लोकतन्त्रमाथि हमला भएको टिप्पणी गरेका छन् । कमला ह्यारिस लगायत जर्ज बुसले समेत अमेरिकी संसदमाथिको आक्रमण लोकतन्त्रमा शोभनिय नभएको बताएका छन् ।

ट्रम्पले अमेरिकी लोकतन्त्रको अपहरण गर्ने प्रयास गरेको उनीहरुको आरोप छ । तर, ट्रम्पले चाहिँ प्रदर्शनकारी समर्थकलाई घर फर्किन निर्देशन दिइसकेका छन् । अमेरिकी जनताको भोट चोरिएको आरोप संसद भवनभित्रै नाराको रुपमा लगाइएको थियो ।

संसद भवनभित्रै स्थिती तनावग्रस्त बनेपछि सभामुख न्यान्सी पेलोसी, उपराष्ट्रपति माइक पेन्स र अन्य सांसदलाई सुरक्षित स्थानतर्फ लगिएको थियो । लगत्तै नेसनल गार्डले संसद परिसरमा लकडाउन घोषणा गरेका थिए । प्रदर्शनकारी संसद भवनभित्र तोडफोड गर्दा पनि प्रहरी मूकदर्शक बनेको देखिन्थ्यो । केही प्रदर्शनकारीले तोडफोड गर्दै प्रहरीसँग सेल्फी लिइएको दृश्यहरु थिए ।

ट्रम्प आलोचनाको केन्द्रमा
ट्रम्पले प्रमाण बिना चुनावमा धाँधलीको आरोप लगााउँदै त्यसकै कारण हिंसा भएको बताएका छन् । प्रहरी र प्रदर्शनकारीबिच भएको झडपको क्रममा गोली लागेर एक महिलाको मृत्यु भयो । अमेरिकी इतिहासमा बुधबारको दिन विश्वसामु ‘लाज’ को कारण बनेको भन्दै ट्रम्पको आलोचना भएको छ ।

राष्ट्रपटिका पूर्व उम्मेदवार (रिपब्लिकन) तथा सिनेटर मिट रोमिनीले राष्ट्रपति ट्रम्पका कारण हिंसा भड्किएको बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ट्रम्पका समर्थकबाट जे भयो त्यो बिद्रोही गतिविधि रहेको भन्दै गम्भीर निन्दा र आलोचना गरेका छन् ।

संसद भवनमा सन् १८१४ पछि भएको यो अहिलेसम्मकै खराब आक्रमण रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । त्यो बेला बेलायती आर्मीले भवन जलाएका थिए ।

हतियारधारी ट्रम्प समर्थक बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने सदनको गतिविधिमा अवरोध गरि नतिजा उल्ट्याउन चाहन्थे ।

हिंसात्मक गतिविधि र त्यसमा ट्रम्पले प्रदान गरेको उक्साहटका कारण उपराष्ट्रपति माइक पेन्समाथि दबाब बढेको छ । उनले मन्त्रीपरिषदको निर्णयबाट ट्रम्पलाई तत्काल राष्ट्रपतिबाट हटाउनु पर्ने आवाज उढेको छ ।

ट्रम्प र उनका समर्थकबाट भएको गतिविधिले अमेरिकी प्रजातन्त्रमाथि गम्भीर आक्रमण गरेको भन्दै तीव्र आलोचना भइरहेको छ ।

हाउसमा डेमोक्र्याट्सको कब्जा
जर्जिया राज्यबाट सिनेटका दुबै सिटमा डेमोक्र्याट्सका उम्मेदवारले जितेका छन् । ३३ वर्षका डेमोक्र्याट उम्मेदवार जोन आसेफले रिपब्लिकन उम्मेदवार डेभिड पर्ड्युलाई पराजित गरे । अब संसदका दुबै सदनमा डेमोक्र्याटको नियन्त्रण हुने भएको छ ।

यसअगाडि जर्जियाबाट डेमोक्र्याटिक उम्मेदवार राफल वार्नकको जित भैसकेको छ । उनले रिपब्लिकन उम्मेदवार केली लोफ्लरलाई पराजित गरेका थिए । अब सिनेटका सय सिटमा ५० सिट डेमोक्र्याटले र ५० सिट रिपब्लिकनले जितेका छन् । उपराष्ट्रपतिले गर्ने ट्राइबेक मतका आधारमा डेमोक्र्याट्सको नियन्त्रण हुनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्