मोदी समर्थक टिभीलाई ओलीको अन्तर्वार्ताः विश्लेषक भन्छन्- भन्नेलाई भन्दा सुन्नेलाई लाज – Janadesh Daily | ePaper

मोदी समर्थक टिभीलाई ओलीको अन्तर्वार्ताः विश्लेषक भन्छन्- भन्नेलाई भन्दा सुन्नेलाई लाज


जनादेश मिडिया वाच ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला समर्थन गर्दै आएको जि न्यूज नेटवर्कले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारण गरेको छ ।

जी न्युजका सम्पादक सुधीर चौधरीसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले विभिन्न विषयमा प्रवच नै दिए । चौधरीले केही महिनाअघि टिभी कार्यक्रममा नेपाल चीनको ईशारामा भारतविरुद्ध लागेको आरोप लगाएका थिए ।

चौधरीसँग ओलीले नेपालले चीन र भारतबीचको विवादमा मध्यस्थता गर्न सक्नेदेखि नेपालले भारतलाई ठूल्दाइ नमान्ने सम्मका कुरा बताए ।

ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताउँदै सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नभएको दोहोर्‍याए ।

दुई देशका प्रधानमन्त्रीबीच पनि उमेरमा घटी बढी भए पनि दुबैको बराबर हैसियत भएको भन्दै ओलीले मोदीसँग समकक्षता कायम गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग उनले पछिल्लो पटक भारत र चीनबीच प्रतिस्पर्धामा नेपालको भूमिका लगायत भारतसँग सम्बन्ध लगायत विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले भने भारत र चीनबीच संवादका लागि नेपालले समन्वयकारी भूमिका खेल्नसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले चीनका राष्ट्रपति सी चिनिफङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच मध्यस्थता वार्ता गर्न सक्ने दाबी गरेका हुन्।

लद्दाख, गलवान लगायत सीमा क्षेत्रमा भारतको चीनसँग विवाद भइरहँदा नेपालले नक्सा जारी गर्नुमा आशंका रहेको भन्दै पत्रकार चौधरीले प्रश्न सोधेका थिए । तर ओलीले नेपाललाई लद्दाखसँग लिनुदिनु नभएको जवाफ दिए । साथै उनले भारतसँग वार्ताको आह्वान गर्दा भारतबाट प्रतिक्रिया नआएपछि र सडक उद्घाटन गरेपछि आफूहरुले नक्सा जारी गरेको प्रतिक्रिया दिए ।

‘तपाईँको कुरा भड्काउने किसिमको छ । गलवानको अर्को मुद्दा हो । तर भारतलाई वार्ताको प्रस्ताव गर्दा कुनै प्रतिक्रिया आएन । गलवानसँग नेपालको कुनै लिनुदिनु छैन । अर्को देशबीच विवाद हुँदा कुनै एकको साथ लिने नेपालको राजनीति हैन । नेपालको राजनीति त सन्तुलनको राजनीति हो,’ प्रधानमन्त्री ओलीले बताए ।

ओलीले भारत र चीन दुई छिमेकी देशसँग नेपालले सन्तुलित सम्बन्ध राख्न चाहेको बताए र एकको कार्ड अर्कोसँग कार्ड कहिल्यै नखेल्ने पनि बताए । यसरी फरक कार्ड खेल्ने नेपालको राजनीति नभएको पनि उनको भनाइ थियो ।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणको तयारी गरिरहँदा यस्तो अन्तर्वार्ता सार्वजनिक भएको हो । जी न्युज भारतमा भारतीय जनता पार्टी नेतृत्वको सरकारलाई समर्थन गर्ने न्युज च्यानलको रुपमा पनि चिनिन्छ ।

कतिपयले प्रधानमन्त्रीको अन्तर्वार्तालाई हल्का अन्तर्वार्ताको सज्ञा दिएका छन् । विश्लेषक भीम भुर्तेलले फेसबुकमा लेखेका छन्, ओलीले नेपालको कूटनीति र प्रधानमन्त्री कति सतही र हल्का छन् भन्ने पुष्टि गरिदिएका छन् । बोल्नेलाई भन्ने सुन्नेलाई लाज भनेको यही हो ।

वोल्नेलाईभन्दा सुन्नेलाई लाज भनेको यहि हो ।

सोध्ने र जवाफ दिने मिलेका थिए। धेरैलाई ओलीले क्या दिए लाग्ला । यो…

Posted by Bhim Bhurtel on Monday, 11 January 2021

 

दिल्लीबाट आएको जीन्युजको टिमसँगको करिब एक घन्टा लामो अन्तर्वार्तामा पनि ओलीले सन्दर्भ बाहिरका भनाइ नै धेरै राखेका थिए ।

ओलीले चुनावपछि पनि आफ्नै समूहले सरकार बनाउने र सरकारको नेतृत्वमा आफैं रहने दाबी गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्