बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति, यस्तो देखियो शपथ समारोह (फोटो फिचर) – Janadesh Daily | ePaper

बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति, यस्तो देखियो शपथ समारोह (फोटो फिचर)


जो बाइडेन औपचारिकरुपमै अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका छन् । अमेरिकी संघीय राजधानी वासिंगट डिसीमा आयोजित विशेष समारोहमा बाइडेनले राष्ट्रपतिको शपथ लिएका हुन् ।

बाइडेनले १ सय २७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर राष्ट्रपतिको शपथ लिएका हुन् । ७८ वर्षका बाइडेन सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने नेता बनेका छन् अमेरिकाको इतिहासमा । स्थानीय समय अनुसार बुधबार मध्याहन्न शपथ लिएका हुन् ।

कडा सुरक्षा व्यवस्थाका बिच शपथ ग्रहण समारोह भएको हो । समारोहमा राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएका डोनाल्ड ट्रम्प सहभागी भएनन् ।

तर उपराष्ट्रपतिको जिम्मेवारी पूरा गरेका माइक पेन्स भने सहभागी भए । ट्रम्प शपथ ग्रहण समारोहको केही घण्टा पहिले भएको बिदाई समारोहमा सहभागी भएर ह्वाइट हाउसबाट बिदा भएका थिए ।

कमला ह्यारिसले उपराष्ट्रपतिका रुपमा शपथ लिएकी छन् । ह्यारिस उपराष्ट्रपति बन्ने पहिलो महिला तथा पहिलो अश्वेत महिला हुन् ।

शपथग्रहणको औपचारिक समारोह पूर्व बाइडेन र ह्यारिस स्थानीय चर्चमा गएर प्रार्थना गरेका थिए । त्यसपछि सेनाको स्मृति पार्कमा पुगेका थिए ।

गएको नोभेम्बर ३ मा भएको चुनावमा ऐतिहासिक मत पाएका बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका हुन् ।

अझै पनि हार पूर्ण रुपमा स्वीकार नगरेका ट्रम्प समारोहमा सहभागी भएनन् ।

दुई हप्ता अघि ट्रम्पको उक्साहटमा उनका समर्थकले नतिजा उल्ट्याउने प्रयास स्वरुप हिंसात्मक आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको थियो । सोही विषयलाई लिएर ट्रम्पमाथि दोस्रोपटक महाअभियोग लागेको छ ।

यसअघि बाराक ओबामा प्रशासनमा बाइडेन उपराष्ट्रपति थिए । उनले ३६ वर्ष डेलवरबाट सिनेटरका रुपमा वासिंगटनमा काम गरेका थिए ।

बाइडेनले आफू सबै अमेरिकीको राष्ट्रपति बन्ने र सबैका लागि काम गर्ने तथा विभाजित देशलाई एकताको शुत्रमा ल्याउने बताउँदै आएका छन् ।

राष्ट्रपति बन्ने तेस्रो प्रयासमा बाइडेन सफल भएका हुन् । पाको उमेरमा विश्वको शक्तिशाली देशको नेताको जिम्मेवारी सम्हालेका बाइडेन सामु कोरोना भाइरसको महामारी नियन्त्रणमा लिएर शिथिल बनेको अर्थतन्त्र उकास्ने, विश्वबाट अलग भएको देशलाई पुनः विश्वमञ्चमा महत्वपूर्ण भूमिका खेल्ने तथा विभाजित अमेरिका र अमेरिकीलाई एकताको सुत्रमा बाँध्ने चुनौतिपूर्ण जिम्मेवारी छ ।

सपथ लिइसकेपछि सम्बोधनका क्रममा राष्ट्रपति जो बाइडेनले भने , “यो प्रजातन्त्रको दिन हो।” उनले भने “प्रजातन्त्र निकै बहुमूल्य हुन्छ भन्ने हामीले जान्न पाएका छौँ । यो नाजुक हुन्छ र यो क्षणमा प्रजातन्त्रले जितेको छ।”

नयाँ राष्ट्रपतिले समारोहमा उपस्थित दुवै पार्टीका आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूलाई धन्यवाद पनि दिएका थिए। उनले राष्ट्रपतिको रूपमा गरेको सम्बोधनमा आफूले सामना गर्ने ठूला चुनौतीहरूका बारेमा बताएका थिए ।

विनाशकारी महामारी, व्यापक रूपमा बढेको बेरोजगारी, जोखिममा परेको वातावरण, जातिय समानता सम्बन्धी न्यायको लागि भैरहेको माग र पुनः चर्किएको राजनीतिक अतिवादका विषयम सम्बोधनका क्रममा समेटेका थिए ।

बाइडेन सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाको राष्ट्रपतीय कार्यकालमा उपराष्ट्रपति रहेका थिए । बाइडेनलाई एक प्रभावशाली वक्ता, कुशल कुटनीतिज्ञ, अनुभवी, कुशल प्रचारकका रूपमा लिइन्छ।

शपथग्रहण कार्यक्रमलाई लक्षित गरी अमेरिकाका ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको थियो । शपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउने प्रचलन अनुसार निरन्तरता दिएको हो । शपथ समारोहमा चर्चित कलाकारहरु लेडी गागा, जेनिफर लोपेज लगायतको प्रस्तुति दिएका थिए ।

गत नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल कलेज मत प्राप्तका साथ ऐतिहासिक जित हासिल गरेका थिए । तथा डोनाल्ड ट्रम्पले भने २३२ इलेक्टोरल कलेज मत प्राप्त गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्