भागवत खनाल । घरमा बच्चा लिएर बिरालो आयो भने राम्रो साइत पर्छ । कतै कतै यस्तो साइत परेको प्रमाण छ ।
बिरालाको काम म्याउ गर्नु हो । बिरालो म्याउ गर्यो भनेर रिसाउनु मान्छेले हेलो नमस्कार भन्दा रिसाए जस्तै हो ।
ढाडेले सोचेको हुन्छ , भाँडा बजाउने काम मेरो मात्र हो । तर अरु बिरालालाई पनि यसो बजाउन मन लाग्छ । साह्रै हेला भएपछि भाँडा बजाउन नदिने ठूल्ढाडेका भाँडा बन्ढाडेले बोकेर अन्तै गएर बजाउन थाल्छ । घरमा भाँडा बजाउन पाएको भए सल्लाह गरेर सुस्तरी बजाउने थियो ।
घरमा बिरालो ब्याउनु शुभ हो । ब्याउने बिरालो घर छाडेर जानु अशुभ ।
जसरी मान्छेसँग मान्छे , गाईसँग गाई , कुकुरसँग कुकुर र हात्तीसँग हात्ती मिसिन जान्छ त्यसैगरी बिरालो बिरालैसँग मिसिन जान्छ । बिरालो बिरालोसँग छुट्टिएर अन्तै गए पनि बिरालो समूहमै बस्छ । अरु जातसँग कुरो मिल्दैन ।
बिरालो फेरि फर्केर ठूलो समूह बनाउन आउने सम्भावना सधै जीवित हुन्छ ।
रिसाएको बिरालोले अचानक घर छाड्नु अपसकुनको लक्षण हो ।
ङ्यारङ्यार ङुरङुर गर्नु बिरालाको धर्म हो ।
एक्ले बिरालोभन्दा सानबान भएको बिरालो खतर्नाक हुन्छ । एक्लो बिरालो ढाडेलाई छाडेर कतै जान्न , किनकि उसको जाने ठाउँ हुन्न ।
बिरालो म्याउ गर्नु इमानको लक्षण हो । जुन दिन बिरालो भ्याओओ गर्छ , सन्कियो भन्ने बुझे हुन्छ ।
बिरालो चिसो भुइँमा बस्ने जात हैन । साह्रै लखेटाइ परेको , दपेटिएको र भित्तिएको बिरालो कहिले ङ्यार्राउँछ , कहिले खरानी उडाउँछ र कहिले चिसोमा बस्छ ।
बिरालो सधै चिसोमा बस्दैन । बिरालाको गन्तव्य न्यानो खरानी नै हो । खरानी बाँडेर लिने कुरा हो भन्ने नबुझ्नु नै मार्जारसङ्ग्रामको मूल कारण हो।
छाउराहरु आआफ्ना ढाडेको कुरा सुनेर खुसीले लडीबुडी खेल्छन् ।नोट – पहिले पहिले बिरालाले मुसा मात्र खान्थे । बिरालाको घाँटीमा घण्टी झुन्ड्यापछि गाउँ पसेर दूध खान थालेको इतिहास प्रसिद्ध छ ।