प्रचण्डको कारवाहीपछि ओली नेकपाको साधारण सदस्यपनि रहेनन्, यस्को अर्थ के ! – Janadesh Daily | ePaper

प्रचण्डको कारवाहीपछि ओली नेकपाको साधारण सदस्यपनि रहेनन्, यस्को अर्थ के !


जनादेश अपडेट ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाको साधारण सदस्य समेत नरहेने गरी हटाइएको छ । प्रचण्ड–नेपाल नेतृत्व नेकपाले ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाएको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समितिको बैठकले ओलीलाई साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए ।

‘यसअघि पार्टीको केन्द्रीय समितिको बैठकले अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिनुभएका केपी ओलीलाई केन्द्रीय कमिटिको बैठकले दिएको अधिकार प्रयोग गर्दै पार्टीको साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको छ’, प्रवक्ता श्रेष्ठले भने।

अध्यक्ष पदबाट हटाएपछि पनि संविधान, लोकतन्त्र, राष्ट्र, जनता र पार्टीको विचार, नीति, पद्दति र हितकाविरुद्ध लगातार गतिविधि गरेका कारण ओलीलाई साधारण सदस्यता किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको र तोकिएको समयमा जवाफ नदिएपछि हटाएको बताए।

माघ २ गते बसेको नेकपाको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम माघ ५ गते स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, नेता मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकालले प्रधानमन्त्री निवास बालुवाटारमा लगेर स्पष्टीकरण पत्र बुझाएका थिए।

प्रतिनिधि सभा विघटन लगत्तै बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाएको र उक्त ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो।

यस्को अर्थ र प्रभाव के ?

निर्वाचन आयोगको पछिल्लो फैसलाले पार्टी कानुनतः नेकपा विभाजन नभएको बताएको छ । तर पनि यी दुवै समूहले अर्को पक्षलाई आरोप लगाएर कारबाही गर्ने शृंखला रोकिएका छैनन् । यसको आधिकारिकता चाँहि के त ?

आयोगले मान्यता नदिएका कारण यी दुवै पक्षले गरेका कारवाहीले कानूनी बैधता पाउने देखिएको छैन ।

अहिले नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षमा विभाजित भएर समानान्तर गतिविधि गरिरहेको भएपनि कुनै पनि पक्षले आधिकारिकता पाएको छैन । बरु आयोगले नेकपाका अध्यक्ष केपी ओली पुष्पकमल दाहाल प्रचण्ड नै भएको बताएको छ ।

तर एक पक्षले अर्को पक्षलाई खुइल्याउन व्यक्तिगत लान्छना र गालीगलौज गर्ने अभ्यास सामान्य बनेको छ। तर, कानूनी रुपमा भने अहिलेसम्म नेकपा एउटै पार्टी छ र ओली साधारण सदस्यमात्र होइन पार्टीको अध्यक्ष पनि छन् ।

यो पनि हेर्नुस्- प्रचण्डको कारवाहीपछि ओली नेकपाको साधारण सदस्यपनि रहेनन्, यस्को अर्थ के !

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्