पूर्वलडाकु तिल्मिल्याउने ओलीको प्रयासमा धक्का, बालुवाटारमा बन्यो अर्को योजना – Janadesh Daily | ePaper

पूर्वलडाकु तिल्मिल्याउने ओलीको प्रयासमा धक्का, बालुवाटारमा बन्यो अर्को योजना


जनादेश वाच ।

संसद विघटनपछि एक्लिएका प्रधानमन्त्री केपी ओलीका प्रयासमा एक पछि अर्को झट्का लागिरहेको छ । निक्कै सानो कोटरीबाहेक आफ्नै पार्टी एमालेकाको साथ समेत नपाएका ओलीले सत्ता र शक्तिको भरमा केही पूर्वमाओवादीहरु अड्याएका छन् । तर त्यो समूह कति समय उनीसँग रहन्छ यसै भन्न नसकिने अवस्था छ ।

पुष्पकमल दाहाल प्रचण्डसँग केही असन्तुष्टि भएकाहरुलाई उनले आफ्नो कोटरीमा ल्याउन खोजिरहेका छन् । गृहमन्त्री रामबहादुर बादलको पहलमा ठूलो संख्यामा पूर्वलडाकु भित्र्याउने योजना असफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ससाना समूहहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउन थालेका छन् ।

शनिबार बालुवाटारमा ओली समूहमा प्रवेश गर्नेहरुमा जनयुद्ध सकिएपछि माओवादीमा लागेका लीलाबहादुर थापादेखि लेनिन विष्टसम्म छन् । यसअघि पूर्व डिभिजन कमान्डर कालीबहादुर खामको नेतृत्वमा ठूलो संख्यामा लडाकु भित्र्याउने ओलीको तयारी थियो। तर, त्यो असफल भएको एक पूर्व बटालियन कमान्डरले बताए ।

प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाले पूर्वलडाकुलाई एकत्रित पार्ने काममा खाम र बालकृष्ण ढुंगेललाई अघि सारेका थिए । सोहीअनुसार उनीहरु देशभरका पूर्वजनमुक्ति सेना भेट्दै र भेला गर्दै हिँडेका छन् । तर, ओली आफैँले केही लडाकुहरुलाई भेटेर भित्र्याउन थालेपछि ढुंगेल अन्यौलमा परेका छन् ।

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोप लागेपछि खाम १२ वर्षदेखि प्रहरीको फरार सूचीमा छन्।

उनले पछिल्लो समय प्रधानमन्त्री ओलीसँग २ पटक बालुवाटारमा भेट गरेका थिए। त्यसपछि उनले तत्कालीन माओवादीको पहिलो, दोस्रो र तेस्रो डिभिजनका बटालियन कमान्डरहरुसँग सम्पर्क गरेका थिए।

पश्चिमतिरका लडाकु भेला गर्दै नेपालगञ्ज पुगेको बेला खामलाई प्रचण्डनिकट केही नेताहरुले सम्पर्क गरेर प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा बस्न सुझाव दिएका थिए। तर, खामले आफूमाथिको ज्यान मुद्दा ओलीले फिर्ता लिने प्रतिबद्धता जनाएकोले सो निर्णय कुरिरहेको जवाफ दिएका थिए।

बालुवाटारको अर्को योजना
लडाकुलाई आफ्नो समूहमा तान्ने प्रयास गरिरहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट उनीहरूलाई लोकतन्त्र योद्धाका रूपमा सम्मान गर्ने निर्णय गराएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध र जनआन्दोलनमा सहभागिता जनाउने क्रममा प्रभावित भएका सबैलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ ।

मुलुकमा अग्रगामी परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी भएकाहरूलाई सम्मान गर्न भन्दै मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय प्रतिवेदन लेखन समिति बनाएको छ।

प्रधानमन्त्री ओलीले जनमुक्ति सेनाका कमाण्डरहरुलाई फकाउँदै पूर्वजनमुक्ति सेनालाई नेतृत्वले पटकपटक धोका दिएको भन्दै उनीहरुको समस्या समाधान गर्ने आश्वासन पनि दिएका छन् । तर पूर्वमाओवादी नेता र पूर्वलडाकुहरुलाई लोभ देखाइरहेको बेला जनयुद्धको नेतृत्व गरेका नेताहरुले भने ओलीको व्यवहारलाई गोहीको आँशु भनेका छन् ।

सरकारको पछिल्लो निर्णयप्रति व्यङ्ग्य गर्दै जनयुद्धको नेतृत्वकर्ता एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कटाक्ष गरेका छन्।

डा. भट्टराईले ‘पोहोर मरिन् सासू, ऐले आयो आँशु’ को संज्ञा दिएका हुन्।

त्यस्तै गत शुक्रबार आफ्नो समूहको केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा विघटनको विरुद्द काठमाडौँमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमलल प्रचण्डले भनेका थिए, ‘कालिबहादुर खाम खोई अरे ? त्यो कालिबहादुर खाम बिचरा आफैले केही गरेको त होईन । उसको मुद्दा ठिक ढंगले हल होस् भन्नका लागि दश, एघार वर्षदेखि लगातार लागेको छु । उसलाई परेको साह्रो गाह्रो हेर्न मैले लगातार बल गरेको छु । अहिले त कालिबहादुर खाम तपाईलाई प्रचण्डले हेर्दैन, जनमुक्ति सेनाको कमाण्डरलाई जसलाई मैले १० वर्ष स्कुलिङ गरेर, हुर्काएर, माया गरेर, विकास गरेर एउटा ठाउँमा पु-याएको । ति मान्छेको चाहिँ अब केपी ओलीले संरक्षण गर्ने रे । आमाको दुध चुसेर भएन बाको घुँडो । जनमुक्ति सेनाका सबै कमाण्डर, योद्धा, घाइते साथीहरु भ्रमित नहुनुहोला ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्