अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति – Janadesh Daily | ePaper

अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति


सिड्नी ।

अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ ।

प्रधानमन्त्री स्कट मरिसनले सोमबार फाइजरको खोप स्वीकृत भएको घोषणा गर्दै आगामी फेब्रुअरीको अन्त्यदेखि खोप लगाउन थालिने सम्भावना रहेको बताउनुभयो ।

अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोपका लागि थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन ९टिजिए० बाट अनुमति प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो ।

प्रधानमन्त्री मरिसनले पत्रकारहरुले सोधको प्रश्नको जवाफ दिँदै अस्ट्रेलियाको नियामक निकायले विस्तृत अध्ययन पश्चात फाइजरको खोपलाई स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो । उहाँले यो खोप अस्थायी र आकस्मिक नभई पूर्ण खोपका रुपमा अस्ट्रेलियाले स्वीकार गरेको पनि बताउनुभयो ।

अस्ट्रेलियाले यसअघि नै फाइजरसँग एक करोड डोज खोपका लागि फाइजरसँग अनुबन्ध गरिसकेको छ । यसबाट करिब ५० लाख मानिसलाई खोप दिन पर्याप्त हुनेछ । कार्यक्रम अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई खोप दिइने छ ।

प्रधानमन्त्री मरिसनले आगामी अक्टोबरसम्ममा खोप अभियान पूरा हुने पनि जानकारी दिनुभयो ।

भाइरसको प्रकोप देखिनासाथ कडा लकडाउन र सीमाहरु बन्द गरेको अस्ट्रेलियामा तुलनात्मक रुपमा कम संख्यामा मानिस संक्रमित भएका थिए । तैपनि करिब २ करोड ५० लाख जनसंख्या रहेको अस्ट्रेलियामा २९ हजार व्यक्ति संक्रमित भएका र ९०९ जनाको ज्यान गएको थियो ।

अस्ट्रेलियाले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको ५ करोड भन्दा बढी डोज खोपका लागि आदेश दिइसकेको छ । यो खोपको अधिकांश हिस्सा अस्ट्रेलियामै उत्पादन गरिने भए पनि अस्ट्रेलियाको नियामक निकाय टिजिएले त्यसलाई मान्यता दिइसकेको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्