पुरातात्विक महत्वको कमलपोखरीको अस्तित्व संकटमा: संरक्षणको माग गर्दै स्रष्टा सडकमा – Janadesh Daily | ePaper

पुरातात्विक महत्वको कमलपोखरीको अस्तित्व संकटमा: संरक्षणको माग गर्दै स्रष्टा सडकमा


  • पूर्णप्रसाद मिश्र, काठमाडौँ, १२ माघ

ऐतिहासिक एवं पुरातात्विक महत्वको कमलपोखरीको अस्तित्व मास्न खोजिएको भन्दै स्रष्टा एवं साहित्यकारले प्रदर्शन गरेका छन् ।

सांस्कृतिक बाजागाजासहित कमलपोखरीबाट शुरु भएको ¥याली टङ्गालस्थित भाटभटेनी मन्दिर अघिको चौतारीमा पुगी सभामा परिणत भएको थियो । ¥यालीमा वरिष्ठ पत्रकार नारायण वाग्ले, साहित्यकार खगेन्द्र सङ्ग्रौला, अभिनेता दयाहाङ राईलगायत सहभागी हुनुभएको थियो । सभालाई सम्बोधन गर्दै उहाँहरुले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको पोखरीको अस्तित्व नाश हुने गरी विकास निर्माण नगर्न आह्वान गर्नुभयो ।

प्रदर्शनमा सहभागीले ‘प्रकृतिको दोहन बन्द गर’, ‘सिमेन्ट र डण्डीको कमल चाहिँदैन’, ‘रानीपोखरीबाट पाठ नसिकेकामा हामी लज्जित छौँ’, ‘जीवनका आधारभूत वस्तु माटो र पानीसँग हाम्रो आत्मीयता छ, यसलाई बचाऔँ’, ‘प्रकृतिको दोहन बन्द गर, दुर्लभ सिमसारको संरक्षण गर’ लगायत नारा लेखिएका ‘प्ले कार्ड’ बोकेका थिए ।

यसअघि कमलपोखरी बचाउ अभियानले पनि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । पत्रमा कमलपोखरी (पलेस्वाँपुखू) मा संरक्षण र सम्वद्र्धनका नाममा गैरकानूनी एवं संरक्षणको मान्य सिद्धान्त तथा व्यवहार प्रतिकूल हुने गरी काम भएकाले रोक्न माग गरिएको छ ।

प्राचीन स्मारक संरक्षण ऐन २०१३, स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत कानूनको प्रतिकूल हुने गरी कमलपोखरीमा काम भइरहेको छ । पुरातत्व विभागले पनि प्राचीन स्मारक संरक्षण ऐन विपरीत काम नगर्न महानगरपालिकालाई माघ ५ गते पत्राचार गरेको जनाएको छ ।

पोखरी निर्माणका लागि विसं २०७६ असार १९ गते शिलान्यास गरिएको थियो । शिलान्यास असार १९ गते गरिए पनि कार्यादेश भने असार ६ गते नै दिइएको थियो । २०७७ असार १५ गते नै काम सम्पन्न गर्नुपर्ने सम्झौता भएकामा कमलपोखरी निर्माण अझै अलपत्र छ । महानगरपालिकाका प्रमुख इञ्जिनीयर सरोज बस्नेत ढुङ्गाको अभाव भएर काममा ढिलाइ भएको दाबी गर्नुहुन्छ ।

लिच्छविकालीन नौ पोखरीमध्येको एक पोखरी कमलपोखरीमा अध्ययन विना नै सिमेन्ट र कङ्क्रिटको प्रयोग गरिएकामा पनि सम्पदाप्रेमी एवं स्थानीयवासीले विरोध जनाएका छन् । गहनापोखरी, बच्चापोखरी, नागपोखरी, हिटीपोखरी, हाँडीगाउँपोखरी पनि नौ पोखरीमध्येमा पर्ने बुढापाकाको मुखबाट सुन्दै आएको सामाजिक अभियानकर्मी दिवस ढुङ्गेल बताउनुहुन्छ ।

कमलपोखरीका सम्बन्धमा अर्को भनाइ पनि स्थानीयवासी माझ प्रचलनमा छ । यहाँका लालदरबार र सीता दरबार निर्माणका क्रममा कमलपोखरीको माटो निकालिएको थियो । माटो निकालेपछि वर्षाद्मा परेको पानी जम्मा भएर पोखरी बन्यो । पोखरीमा एक वृद्धले टौदहबाट कमलको फूल ल्याएर रोपे । अर्को वर्ष कमलले पोखरी ढाकिएकाले पोखरीको नाम कमलपोखरीमा परिणत भएको भन्ने भनाइ पनि यहाँ सुन्न पाइन्छ । यसलाई नै आधार मान्ने हो भने पोखरीको इतिहास १०० वर्षभन्दा पुरानो हुने भएकाले यसको संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्