हुम्लाको यात्रा सौराईं | Janadesh Daily | ePaper

हुम्लाको यात्रा सौराईं


डा. दीपेन्द्र रोकाया

आज म मेरो गाउँमा छैन । मलाई गाउँको माया धेरै लाग्दछ । यस्तै जिल्ला¸ प्रदेश र देशको माया त्यहाँ नहुँदा लाग्ने रहेछ । यो आफु जन्मेको स्थानको पञ्चतत्वको कमाल हो । त्यहाँको विकास र समृद्धि भएको देख्न चाहनु र त्यसमा केही इट्टा थप्न खोज्नु आफनो कर्तव्य हुन जान्छ ।
यसै हिउँदको मध्यतिर हुम्ला जाने कार्यक्रम तय भयो । भूवो तिहारको रमाइलो चलिरहेको थियो ।

विजय भण्डारी¸ महेन्द्र शाही र म सिमकोट विमानस्थलमा उत्रियौं । पञ्चमुखी हिमाल र रानीखर्कको हिमालले हाँस्दै चिसो बतास पठाइरहेको अनुभव भयो । कफीले सन्तुलन ल्याएजस्तो भयो ।

आफ्नो गन्तव्यतिर तुरुन्तै लाग्नु थियो । सर्केगाड सम्मको यात्रामा छवि थापा लगायतका आधा दर्जन साथीसँगै भयौं । सिमकोट–खार्पुनाथ सडकको स्तरोन्नति गर्ने कार्य सुरु भएको तर स्थानीय अवरोधले ढिलाई भएको देखियो । विकासका काम रोक्नु हुन्नथ्यो भन्ने लाग्दछ मलाई । प्राविधिक अध्ययन अगाडि राखेर स्थानीयबासीसँग छलफल गर्नपर्ने देखियो ।

खार्पुनाथमा सबैतिरका मान्छे जम्मा भइरहेका देखिए । माघीको रमाइलो मौसम छ । रातभरी देउडा खेल्ने रहर भएका युवा युवतीहरु हल बाँधेर आइरहेका छन् । नेपाल प्रहरीका जवान सम्भावित झै–झगडा नहोस् भनी पहरा दिइरहेका छन् । मैले खार्पुनाथ दोभानदेखि माथिल्लो थुम्कासम्म नियालेँ । यो पशुपतिनाथ¸ मुक्तिनाथ¸ केदारनाथ¸ बद्रीनाथजस्तै महत्वपूर्ण स्थान हो ।

हामीले धार्मिक आस्थालाई ध्यान दिएर कर्नालीमा चार नाथको महिमा बढाउन पर्ने देखिन्छ । कर्नालीभित्र खार्पुनाथ¸ भैरवनाथ¸ चन्दनाथ र छायानाथ पर्दछन् । भैरवनाथ र चन्दनाथ नल्ला गाउँमा जन्मेका विद्धान हुन् । रैथाने नाथ सम्प्रदायको महत्व बढाउने योगी नरहरिनाथको पनि सम्मान र सम्झना गर्नु पर्दछ । हल्जी¸ याल्वाङ्ग र रल्लिङ्गको गुम्बा¸ मदाना¸ मेथा¸ मालिका¸ देवी¸ रानीखर्क¸ दुधेदहका साथै भ्यु दुलाले पर्यटकीय महत्व बोकेका छन् । चंखेली¸ मुन्या¸ भुब्र्या¸ मारघोर¸ मया र नाराका लाग्नाहरुले संघर्षका दिनहरु सम्झाइरहेका छन् ।

बोक्च्या गौडा चार हातखुट्टा टेकेर पार गरेपछि उकालिदै जाँदा गोप्का पुगियो । गोप्कामा करिव एक सय जनासँग भेटघाट भयो । बीच गाउँमा बसेर समसामयिक विचार सुनाएँ । थपाल्या ब्यासी समुदायको तर्फबाट नयाँ वर्षको शुभकामना दिएर रादेउतिर लाग्यौ । भुब्र्या लाग्नाको हिउँमा चिप्लदै ढलिपली गर्दै मजा लियौ ।

सिमालीमा बनाउन खोजेको ज्ञानकेन्द्र अर्थात् कोट आवासीय विद्यालय भवनको अवलोकन गरेँ । यो हुम्ली बालबालिकाको भविश्य बोकेको विद्यालय हो । मेरो सपनासँग जोडिएको विषय पनि हो ।

मेरा प्रिय गाउँल्याहरु¸ मेरो स्वागतार्थ घोडा र बाजा ल्याएर केकलाङसम्म आउनु भएको रहेछ । महादेउको मारु मुन्तिरबाट म जन्मेको गाउँ झलमल्लै वत्ति बलेको देखेँ । यो उज्यालो देख्दा मन प्रफुलित भयो । एकाएक बाआमाको याद आयो । मेरा आँखाले बाआमालाई खोजिरहेको थियो । यो असम्भव भएकाले आँखाभित्रको आँसु आँखाभित्रै लुकाएँ ।

इल्लादेखि बाह्देउ थारासम्म सबैले दैचावल लगाएर स्वागत गर्नुभयो । यहाँ रादेउ¸ महादेउ¸ झादेउ¸ हिल्सा¸ भवानी¸ भैराम¸ समेजु¸ गवला र झ्या रानी–झ्या गल्बा मान्नुका साथै बाह्रदेउ स्थापित भएको छ । यो देवभूमि हो ।

रादेउ¸ गाउँको नामले स्थापित छ र जुम्ला छिनासिमसम्म मानिन्छ । महादेउ संसारभर प्रख्यात छन् । झादेउ पश्चिम गढवाल क्षेत्रसम्म प्रख्यात छन् । यी तिन जना यसै गाउँका पूर्खा हुन् भन्ने भनाई छ । हिल्सा भूमि देउता हुन् । भवानी देवी हुन् भने भैराम र समेजु मइठा हुन् । गबला रखवाली गर्ने पैकेलो हो । झ्या रानी–झ्या गल्वा चाँहि मातृसत्ताको स्मृति हो । बाह्रदेउ भनेको बाह्र भाइ मइठाको महासंघ हो । अध्ययन गर्दै जाँदा यो गाउँ बाह्रदेउ शिव मण्डलाको रुपमा देखा पर्दछ । यसै चौतारोमा प्रियजनहरुसँग ढोगभेट भयो ।

थपाल्या व्यासी समुदायले यस वर्ष पुस २९ गते भूवो तिहार मनायो । भूवो तिहार एक वर्ष बितेको रुपमा मनाउँछन् । माघ १ गते नयाँ वर्षको रुपमा मनाइन्छ । यसैले समसामयिक परिस्थिति सहित नयाँ वर्षको शुभकामना दिएँ । गाउँका बा–आमा¸ दाजुभाई तथा दिदीबहिनीले ध्यान दिएर सुन्नुभयो ।

यस समुदायले माघ १५ गते हरेलो पर्व मनाउँछ । यसै पर्वका दिन दिउँसो रादेउ¸ झादेउ¸ गवला र झ्या रानी–झ्या गल्बाको पुजा हुन्छ । आफ्नो गाउँको वार्षिक कार्ययोजना सार्वजिनक हुन्छ । साँझ गाउँका मान्छे एकातिर र ग्वालाहरु अर्कातिर भएर बाबियाको लरो तानातान गर्दछन् । उक्त लरोलाई तीन पटक चुढेपछि त्यसलाई पिङ लगाएर खेल्ने गरिन्छ । यस खेलबाट दुःख चुडेर फालेको र धर्ती छोडेर रमाइलो मनाउने गरिन्छ ।

वास्तवमा गाउँल्याहरुको मायाले गर्दा नै स्वाभिमानले जिउने र संकटका घडीमा सतिसालजस्तो ठिङ्ग उभिएर विपत्तिको मुकाविला गर्न सिकेको हुँ । भतिजाहरु नयाँ घर बनाउँदै रहेछन् । घर परिवार बसेको गोठमा गएर खाना खाएँ । त्यतिबेलासम्म रातको १० बजिसकेको थियो ।

अर्को दिन विहानै रादेउ वडा कार्यालयको उद्घाटन गर्यौ । जुन हलमा कार्यक्रम भयो¸ त्यस हलको नाम वलवीर–सगरमाथा नामाकरण गर्यौ । वलवीर (तुला बुढा) र सगरमाथा (माग्या रोकाया) जनयुद्धका सहिद हुन् । फुचाका सबै आफन्तहरुसँग भेटघाट भयो । हाम्रो कृषि सहकारी संस्था लि. को अनुगमन गर्यौ । रोडिकोटमा भेटघाट भयो ।

हिमज्योति मावि सर्केगाड पुग्दा नेकपाका कमरेडहरुले स्वागत गर्नुभयो । नाराका साथ हामी ढुस्काको हेलिप्याडसम्म पुग्यौं । यस कार्यक्रमको म प्रमुख अतिथि थिएँ । प्रतिगामी कदम सच्याउन सबैले खबरदारी गर्यौ । सबै वक्ताले चोटिला तर्कहरु पेश गर्नुभयो । यसो त देशभर अरु सबै पार्टी र नागरिक समाजबाट प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भईरहेको छ ।

सर्केगाडमा पालिकाका साथीहरुलाई वडास्तरीय कार्ययोजना समेत निर्माण गरियो । पालिकामा देखिएका समस्या समाधानका निमित्त मैत्रीपूर्ण छलफल भयो । त्यहाँबाट घोडा चढेर चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ गयौं । पालिका र पार्टीका गाउँपालिका स्तरीय पदाधिकारीको बीचमा समसामयिक छलफल भयो । उहाँहरुले संघर्षका दिनहरु सम्झाउनु भयो । पार्टीले भूमिका नदिएकोमा गुनासो गर्नुभयो । मैले चंखेलीको पक्षमा राख्दै आएका धारणाहरु सुनाएँ । साथीहरुको अनुहार उज्यालियो । लोती पुल र पिप्लाङ–नेप्का सडकको बारेमा समेत छलफल गरेँ । नेप्का एकै दिनमा सात पटक घाम लाग्ने समाजवादी संस्कार भएको गाउँ हो । संयोगले मेखालका दिदीहरु¸ भान्ज र भान्जीसँग भेटघाट भयो ।

दर्भीको तातो पानीमा नुहायौ । यस्तै केर्मी र उनापानीमा तातोपानीको खोला नै बग्दछ । खार्पु¸ सल्लीसल्ला¸ खच्चा र दोभान धारामा दह धन् । यिनको व्यवसायिक विकास गर्नुपर्ने देखिएको छ । हामी वालुकुना पुग्दासम्म खच्चाको तातोपानी नुहाएर फर्केका महिला दिदीबहिनी दुई पाइला हिँड्दै गीत गाउँदै गरेको देख्यौ । यो साँस्कृतिक प्रचलन निकै रोचक लाग्यो । यस्ता चलनलाई पर्यटन र संस्कृतिसँग जोड्नु पर्दछ ।

सम्पर्कमा भेटिएका साथीहरुले तुम्चको खेतीयोग्य फाँट देखाए । तुम्च हुम्लाको तराइ हो । तर यो मैदानी भाग पानीको अभावमा मरुभूमिकरण हुँदै गएको छ ।अहिलेसम्म बढ्खोलाको पानीले बाहुनबाडाको माथिल्लो र तल्लो जिउलो¸ छत्यालवाडाको जिउलो र तल्तडीको जिउलो जसोतसो कुल्याउने काम भएको छ । माथिल्लो बाँकातरी¸ तल्लो बाँकातरी र चाट्टाबगर पानीको अभावले कमाएको जग्गा बाँझिएको छ ।

तुम्च लिफ्ट सिँचाइको बारेमा स्थानीयबासीसँग निकै गम्भीर छलफल भयो । एक जना माननीयले एअरपोर्टका लागि नाप्न लगाएर केही नगरेकोजस्तो नहोस् भनी मनोवैज्ञानिक चेतावनी दिएको पनि सुन्नु पर्यो । तुम्चको खेती आकाशको भरमा हुने रहेछ । पानीको लागि देउता पुकार्न पर्ने र पानीको अभावले गर्दा खेतीपाती गर्न गाह्रो हुनुका साथै सोचेजति उत्पादन हुँदैन । मेरो विचारमा हुम्लाको दार्म र तुम्चमा सिँचाइको व्यवस्था गर्नैपर्ने ठाउँ हुन् ।

सानैदेखि सुन्दै आएको तुम्चको गाबु गोठको महिमा जान्ने मौका मिल्यो । हिउँदमा जो आएपनि तुम्चको गाबु गोठमा सुताउनुको ऐतिहासिक कारण कपडाको अभाव हुनु रहेछ । यो पुरानो औलको अस्थायी बस्ती हो ।

मकैकुनाको केराबारी रहर लाग्दो छ । यही बाटो भएर छक्कबहादुर बुढाले मोटरसाइकलमा दोमुखसम्म पुर्याए । दोमुखका होटलमा बसेर उभो हेर्दा भाँड कुक्काको भीर देखियो । यसै भीरमा कुनै जमानामा भाँड भनेर चिनिएका अहिलेका वादीहरु कर्नाली नदी तरेर भीरको मध्य भागमा पुगेपछि आफुलाई गन्न भुलेकाले धुरुधुरु रोएको कुरा सम्झन मन लाग्यो । यही स्थिति अहिले कर्नालीबासीको छ । जसरी कस्तुरीले आफ्नै विनाको गन्धका कारण आफै भौतारिएझै ।

धेरैजसो कर्नालीबासी हिउँद लागेपछि भारतमा कुल्ली काम गर्न जान्छन् । उनीहरुलाई लक्षित गरि कोही पनि कुल्ली काम गर्न भारत जान नपरोस्¸ यहाँको विकास आफै गर्न सकियोस् भनी १८ वर्षदेखि ५९ वर्षका सम्पूर्ण बेरोजगारहरुलाई रोजगार दिलाउन प्रति वडा ३४ देखि ५४ लाखसम्म रुपैयाँ मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत पठाइएको छ । प्राकृतिक स्रोत भएर पनि पहिचान गर्ने र परिचालन गर्न नसक्दा कर्नाली पछि परेको बोध हुन्छ ।

ताँजाकोट गाउँपालिकाका सवारी चालक अनरुद्ध रोकायाले औलेटा हुँदै छप्रेला पुर्याए । औलेटाको पूरै अमला प्रदेश आयुर्वेदिक अपतालमा खरिद हुने सुनिश्चित गरेको जानकारी ताँजाकोटलाई दिन पाउँदा खुशी लाग्यो । औषधीय गुण भएकाले यसलाई बह्म वृक्ष मानिन्छ ।

ताँजाकोट गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाबाट यहाँको सम्भावित बस्ती विकास गर्ने स्थान बेलखाडा¸ लुइयाँटा¸ छप्रेला–मेलपानी¸ थर्पु¸ डुंग्री र खुप्राको बारेमा जानकारी लिएँ । मेरो विचारमा एकै ठाउँमा बस्ती बसाल्न सकिएको भए नयाँ शहर निर्माण हुने र आधारभूत सेवा सुविधा पुर्याउन राज्यलाई सहज हुने थियो । उहाँहरुले माटो समेत परिक्षण गराई प्रक्रिया अगाडि बढाई सक्नु भएको रहेछ ।

ताँजाकोट पुग्दा रामाको ऐतिहासिक र पुरातात्विक महत्वको दरवार फेला पर्यो । यस दरवारभित्र सबैलाई पस्न दिइदो रहेनछ । थापा र खड्काले यस दरवारमा राज गर्ने राजा मुगु सोरुकोटबाट चोरेर ल्याइएका रहेछन् । ती चोरेर राजा बनाइएका राजा चन्दराज हुन् । उनका उत्तराधिकारी मकुन्तराज¸ विजयराज¸ मैपतिराज¸ शाहीराज¸ मेरु शाही¸ भैरु शाही¸ भगवती शाही¸ बलिन्त शाही¸ धनमल शाही¸ जयबहादुर शाही¸ कर्ण शाही र प्रवेश शाही हुन् ।

यहाँ भूमिगत तीनतले दरवार छ । यस दरवार बनाउँदा सुर्खेत खुलालुदेखि सालको काठ र सोरुको मास ल्याएर बनाइएको कहानी सुन्न पाइन्छ । तल्लो तला किले मइठा¸ बीचको तला भैरव मइठा र माथिल्लो तलामा कालिका देवीको थान स्थापित भएको दरवारमा अझै पनि वर्षको ३५५ दिन पुजा हुने गरेको छ । यसको पुरातात्विक हिसावले उत्खनन हुनपर्ने देखियो ।

तल्लो हुम्लाको गल्बामा एक दशकअघि ५०० पटक ढोग गरेको देखेको थिएँ । त्यो ढोगभेट गर्न पुरै ३३ मिनेट लागेको थियो । यो पटक त्यहीँ चित्र ताँजाकोट गाउँपालिका परिसरमा गाउँपालिका अध्यक्ष बागदल मल्ल र उनको नातेदार महिलाबीच ढोगभेट चल्दा देखेँ । ती महिलाले ८ पटक मात्र ढोगिन् । यो पनि एक अनौठो चलन हो हुम्लाको । कसैले १०८ पटक पनि ढोग गर्ने रहेछन् । ढोग्नेले सुरुमा इच्छा¸ इच्छा भन्दै अन्तमा जयदेऊ भन्ने र ढोग दिनेले जयहोस् भन्ने रहेछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्