बजारमा खानेपानी आपूर्ति गर्दै नयाँ नेतृत्व – Janadesh Daily | ePaper

बजारमा खानेपानी आपूर्ति गर्दै नयाँ नेतृत्व


खानेपानी आपूर्ति गर्दै को छविको परिणाम

जनादेश, बेनी । म्याग्दी सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्ति गर्दै आएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा माधवप्रसाद रेग्मी चयन हुनुभएको छ ।

शुक्रबार सम्पन्न २१ आँै वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनले रेग्मीको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा रमेश गिरी, सचिवमा राजेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा टङ्क हमाल चयन हुनुभएको छ । सदस्यमा यजनलाल शाक्य, डिलकुमारी पुर्जा, सिर्जना श्रेष्ठ, पुष्पा थापा र सुदर्शनकुमार श्रेष्ठ चयन हुनुभएको छ । अधिवेशनको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

उहाँले संस्थाले बजारवासीलाई खानेपानीको सहज उपलब्धता गराउन खेलेको भूमिका रचनात्मक रहेको बताउँदे आगामी दिनमा थप व्यवस्थित खानेपानीको उपलब्धता हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा यस संस्थाले बेनी नगरपालिका, ७ र ८ बेनी बजार र वडा नम्बर २ हाँडेभिर क्षेत्रमा गरी एक हजार ६७ घरधुरीका करिब २० हजार जनसङ्ख्यालाई खानेपानी आपूर्ति गर्दै आएको जानकारी गराईएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले संस्थाको सम्पूर्ण पक्षको बारेमा सचिव गिरीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच साधारणसभाले खानेपानीको महशुल शुल्कको समेत नयाँ दररेट निर्धारण गरेको छ । प्रतिमहिना १० युनिटसम्म न्यूनतम रु २२० शुल्क निर्धारण भएको छ ।

एघारदेखि २० युनिटसम्म प्रतियुनिट २४, २१ देखि ३० युनिटसम्म प्रतियुनिट रु २६, ३१ देखि ४० युनिटसम्म प्रतियुनिट रु २८, ४१ देखि ५० युनिटसम्म प्रतियुनिट रु ३० र ५१ युनिटदेखि माथि प्रतियुनिट रु ३२ का दरले शुल्क निर्धारण भएको कार्यालयका प्रबन्धक यामबहादुर विश्वकर्माले जानकारी दिनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्