टेउवामा खुला आधुनिक मूर्तिकला सङ्ग्रहालय बन्दै – Janadesh Daily | ePaper

टेउवामा खुला आधुनिक मूर्तिकला सङ्ग्रहालय बन्दै


बागलुङ ।

पर्यटन पूर्वाधार निर्माण तथा पर्यटनउपज विकास साझेदारी कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुला आधुनिक मूर्तिकला सङ्ग्रहालय बन्ने भएको छ । यसका लागि रु सात करोड बजेट विनियोजन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गलकोट नगरपालिकाको लागत साझेदारीमा सङ्ग्रहालय निर्माण तथा पर्यटकीय लेक घुम्टेसम्म सडक पहुँच विस्तारका लागि लागि सो बजेट छुट्टिएको हो । मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार उक्त आयोजना छनोटमा परेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयको रु चार करोड ५५ लाख र नगरपालिकाको रु दुई करोड ४५ लाखको लागत साझेदारीमा पूर्वाधार निर्माणको काम अगाडि बढ्नेछ ।

“मूर्तिकला सङ्ग्रहालयमा पर्यटकीय पूर्वाधार निर्माणसँगै घुम्टे जोड्ने सडकको स्तरान्नति गरिनेछ, यही वर्षदेखि काम शुरु हुन्छ”, नगरप्रमुख गैरेले भन्नुभयो । आयोजना पार्न गलकोट नगरपालिका, गलकोट घुम्टे कला प्रतिष्ठानलगायतले पहल गरेका थिए । प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले मूर्तिकला सङ्ग्रहालयका लागि सरकारी तवरबाट महत्वपूर्ण सम्बोधन भएको बताउनुभयो । “विस्तृत आयोजना प्रतिवेदनअनुसार सङ्ग्रहालय निर्माणको काम अगाडि बढ्छ”, उहाँले भन्नुभयो । प्रतिष्ठानको आयोजनामा गत वर्ष फागुनमा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा कुँदिएका १५ मूर्ति सङ्ग्रहालयमा प्रतिस्थापन गरिसकिएको छ ।

कार्यशालामा नेपालसहित १० देशका १५ प्रसिद्ध कलाकारले ढुङ्गाका मूर्ति कुँदेका थिए । मूर्तिकारले ढुङ्गामा प्रकृति, जीवनचक्र, संस्कृति, सभ्यताबारे मूर्त, अर्धमूर्त र अमूर्त कला भरेका थिए । सङ्ग्रहालयमा बगैँचा, फुटपाथ, प्रवेशद्वार निर्माणलगायतका काम अगाडि बढाइएको छ । मूर्तिको शीर्षक दिने, विवरण राख्ने, साजसज्जादेखि थुप्रै संरचना निर्माण गर्न बाँकी नै रहेको प्रतिष्ठानले जनाएको छ । कार्यशालामा सहभागी मूर्तिकारको कला र व्यक्तित्व समेटेर पुस्तिका निकाल्ने, दाताको शिलालेख राख्नेलगायतका योजना पनि प्रतिष्ठानले अघि सारेको छ । कार्यशालास्थलमा घेराबार, शौचालय, सडक, बिजुली, खानेपानी पु¥याउने काम यसअघि नै भइसकेको छ । मूर्तिकला सङ्ग्रहालयलाई पर्यटकीय र सांस्कृतिक महत्वको सम्पदास्थल बनाउने लक्ष्य लिइएको छ ।

मूर्तिकला सङ्ग्रहालयका लागि झण्डै रु १२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । कार्याशालास्थलका लागि स्थानीयवासीले झण्डै ३० लाख मूल्यको २५ रोपनी जग्गा निःशुल्क दिएका थिए । कार्यशाला सम्पन्न गर्ने बेलासम्म रु दुई करोड ३० लाखभन्दा बढी खर्च भइसकेको प्रतिष्ठानले जनाएको छ । सङ्ग्रहालय निर्माणमा सङ्घ, प्रदेश, स्थानीय सरकारको बजेटसहित जनसहभागिता पनि जुटाइएको छ । सङ्ग्रहालयलाई पर्यटकीय लेक घुम्टेसँग जोड्ने सडक निर्माणले पनि गति लिएको छ । टेउवादेखि तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पु¥याउन तीन वर्षअघि काम थालिएको थियो ।

साझेदारी कार्यक्रममार्फत छुट्टिएको बजेटबाट उक्त सडक निर्माण र स्तरोन्नतिको काम हुने नगरपालिकाले जनाएको छ । तीन किमि सडक बनेको र दुई किमिमा मार्ग खोल्न बाँकी रहेको निर्माण समितिले जनाएको छ । पहिलो वर्ष गलकोट नगरपालिकाको रु आठ लाख बजेटबाट एक हजार ७०० मिटर सडक खनिएको थियो ।

गत वर्ष सङ्घको पर्यटन मन्त्रालयबाट आएको रु १३ लाख बजेटबाट थप एक किमीमा काम भएको समितिका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । चालु आवमा पनि सोही मन्त्रालयकै रु सात लाख बजेटबाट काम भइरहेको उहाँको भनाइ छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्