आरोप प्रत्यारोपको राजनीति – Janadesh Daily | ePaper

आरोप प्रत्यारोपको राजनीति


विघटित संसदले उत्पन्न गरेको राजनीतिक किचलो अहिले सडकमा प्रवेश गरेको छ । देशको संविधान राष्ट्रको सर्वोच्च शक्ति हुन्छ । नेपालको संविधानमा व्यक्तिवाद हावी छैन् भनेर भनिरहदा सो आरोपले मुक्ति पाएन् । जनतालाई सशक्त ऊर्जा दिने कार्य संविधानको हुन्छ ।

संसद विघटनको विषयले संविधान माथिको विश्वसनीयता घटेको छ । देशको सम्प्रभुता र अखण्डतालाई अक्षुण्य राख्ने कार्य संविधानतह सांसदको हो जुन अहिले संसद विघटनको पक्ष र विपक्षमा खुट्टा उचालेर सडकछाप भएका छन् । प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गरे पश्चात् पुनस् राजनीतिक अस्थिरताको घण्टी बजेको छ । संविधानतह सत्ता हस्तान्तरण सजिलै हुँदैन भन्ने पछिल्लो उदाहरण प्रधानमन्त्रीको कदमले प्रष्ट पारेको छ ।

लोकतान्त्रिक पद्धतिमा चुनाव लोकतन्त्रको मुटु भनिए पनि असमयमा हुने चुनावले देशलाई गरीबी उन्मुख बनाउने र स्वयं नेताहरूका लागि आर्थिक कष्टकर हुन्छ । कयौं नेताहरूले पराजयको सामना गर्नुपर्छ भने देशको ढुकुटी पनि रित्तिन्छ । संघीय नेपालको संविधान संसारका संविधान मध्ये उत्कृष्ट छ भनेर निर्माणकर्ताले उफ्रिदै गर्दा संसद विघटनको मुद्दाले संविधानलाई सशक्त र जनहितकारी छ भनेर गौरव गर्ने विषय रहेन् । स्वराजले स्वजनको हित गर्ने भनिए पनि नेपालको संविधानले पनि स्वामीहरूकै पृष्ठपोषण गर्ने प्रमाणित भएको छ ।

सत्ताको उन्माद कस्तो हुन्छ भनेर पछिलो उदाहरण अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि एउटा उदाहरण हुन् । उनले चुनावमा पराजित हुँदा हारलाई सहज रूपमा स्वीकार गर्न अस्वीकार गरे । उत्पन्न परिस्थितिले हिंसा समेत निम्त्यायो । अमेरिकी निर्वाचन आयोगले घोषणा पश्चात बाइडेनलाई सजिलै सत्ताहस्तान्तरण केही असहज परिस्थितिको सामान गर्नु परेको तथ्य ताजा छ । नेपाल र अमेरिकी प्रसङ्ग फरक भए पनि राजनीतिक दुर्घटना (संसद विघटन)ले अनेकन अडकल काट्न बाध्य बनाएको छ ।

संघीय लोकतन्त्रको जग बलियो नभएको अवस्थामा आत्मकेन्द्रित राजनीतिक घटना घट्नु स्वाभाविक देखिदैन् । संविधान सभाले निर्माण गरेको नेपालको संविधान सम्झौताको दस्तावेज हो भनेर स्वयं संविधान निर्माणकर्ताले स्वीकार गर्छन् । विभिन्न वैचारिक र वर्गीय दृष्टिकोण राख्ने राजनीतिक दलहरूको सहभागितामा निर्माण गरिएको संविधानको क्रियान्वयन पक्ष सर्वस्वीकार्य हुने विषय पनि होइन् । सत्तामा पुग्ने जो कोहीले आफु अनुकुल व्याख्याविश्लेषण गर्ने अवसर पाएका छन् । असहमत भएका धारालाई परिवर्तन गर्ने वा आफुखुशी व्याख्या गर्ने क्रमले निरन्तरता पाएको छ । राजनीतिक स्वार्थ आफुअनुकुल प्रयोग गर्नुले संविधानलाई बेकम्मा बनाउने प्रयास भइरहेको छ ।

संवैधानिक अपव्याख्या र राजनीतिक ूकुू गर्न राजनीतिक दललाई सत्ताले प्रोत्साहन दिएको छ । सत्तासिन भएपछि व्यक्तिहठले लोकतान्त्रिक संस्कारलाई चुनौती दिने कार्य नेपालको संविधान अन्तर्गत चालिएको छ । नेपालको संविधानमा राज्यको स्वरूप, नागरिकलाई लोकतान्त्रिक अधिकार, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका आदि शक्तिलाई भिन्नभिन्न सिद्धान्त अन्तर्गत निर्धारित गरी शक्ति सन्तुलन गरिएको छ कि छैन भन्ने कुरालाई संसद विघटनको पक्ष र विपक्षमा रहेका नेताहरूको अभिमतले झन शंका उत्पन्न गरेको छ । निष्पक्ष भनिएको न्यायपालिका माथि दुबै थरिले आआफ्ना पक्षमा निर्णयगर्न थ्रेटगर्दै भाषण गरिरहेका छन् । आफु बिराउने र न्यायपालिकालाई डराउने निरङ्कुश चरित्र प्रदर्शित भइरहेको छ ।

संविधानतह न्यायिक पुनरावलोकनको अधिकार सर्वोच्च अदालतलाई दिनु अनर्थ भएको हो कि भन्ने सन्देश नेताहरूले दिइरहेका छन् । संविधानको मूलभावनामा खेलवाड भइरहेको छ । संविधानमा संसदीय अभ्यासद्वारा निश्चित बहुमतका आधारमा संशोधनको अधिकार हुँदाहुँदै संसद विघटन गर्नु प्रधानमन्त्रीको कदम असंवैधानिक र दुस्साहपूर्ण छदैछ । परिवर्तित परिदृश्यमा जनतालाई अधिकतम अधिकार सम्पन्न बनाउने नाममा चुनावका लागि चुनाव गरिने प्रयास हुनु दुस्खद छ । यस कदमले अराजकता एवं अस्थिरताको श्रीगणेश गरेको छ । अब संसद पुनरस्थापना होस वा चुनाव होस त्यसको कुनै अर्थ रहन्न । गुटगत सरसल्लाहमा भएको संसद विघटनको कार्यले संसदको पवित्रता माथि प्रश्न उठेको छ । संसदमा चल्नु पर्ने बहस अहिले सडक र न्यायापालिकामा चलिरहेको छ ।

परिपक्क भनिएका शिर्ष नेताहरू सहकर्मीका बिरूद्ध उदण्डता र अश्लीलता प्रदर्शन गर्दैछन् । एकअर्काको मानमर्दन गर्दै सडक तताएका छन् । नेताहरूको शंकालु व्यवहारले समानता, अखण्डता र संप्रभुताको रक्षा गर्न मौजुदा नेतृत्व सफल छैन भन्ने कुरालाई पुष्टि गर्दै छ ।

संसद जीवन्त छउन्जेल संसदमा विपक्षले निभाउने भूमिका संतुलित देखिएन् । विपक्ष नै छैन भन्ने जस्तो गरी नेपाली काँग्रेस चिरनिन्द्रामा सुतेको हविगतको परिणाम संसदको विघटन हुन पुगेको छ । आफ्ना मान्छेको पजनीमा व्यस्त रहेको आरोप लागेका विपक्षी दलका नेताको अकर्मण्यताको फल सडक नै हो । सडकमा उत्तेजना र बदलाको भाव प्रकट गरी असंवैधानिक कदमलाई सच्चिनु पर्छ भन्दै औचित्य प्रमाणित गर्ने प्रयास भएको छ ।

राजनीतिक नेताहरूले व्यक्त गरेको भाषणले संविधानको अपूर्णता दिशाबोध भएको छ । सार्वभौमसत्तासम्पन्न जनता भनिए पनि संविधानले प्रत्यक्ष रूपमा जनतालाई शक्ति दिने होइन् । संवैधानिक शक्तिको प्रयोगकर्ता भनेका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आदि अङ्गका प्रतिनिधि हुन् ।

राजनेताहरूले जनताको सार्वभौम अधिकार गुमेको वा संरक्षण गरेको बहानामा लड्दै भिड्दै अपार जनसमुदायलाई थुपारेर भावी चिन्तन मनन गर्नुको सट्टा आफ्नो चरित्र उदाङ्गो गरिरहेका छन् । ठूलठूला नेताहरूले अमर्यादित भाषा प्रयोग गर्नुलाई लोकतान्त्रिक चरित्र मान्न सकिन्न । देशी विदेशीको चेपुवामा परेर संवैधानिक ‘कु’ भएको अनुमान सडकमा सुनिए पनि यसलाई पुष्टिगर्ने आधारहरू दिन सकेका छैनन् । देशका जल्दाबल्दा समस्या महङ्गी, बेरोजगारी, विकास, गरीबी, सहिद परिवारको बिचल्ली, अपाङ्ग, घाइते, बेपत्ता, कोरोनाको उपचार नपाएका, कोरोनाको कहरले रोजगार गुमेका, वैदेशिक रोजगारका समस्या आदि मुद्दामा कानमा तेल हालेर सुतेका राजनीततिक दलहरू अहिले सडक संघर्षको नामले देखा परेका छन् । हिले जात्राको प्रहसन सडकमा गर्न गराउनु राजनीतिक नेताको कायरता हो ।

सडक संघर्षको नामले नेताहरू जनताको मन मस्तिष्कमा अनेकन नकरात्मक भाव उत्पन्न गर्दै छन् । नेताहरूको भाषणमा सुन्दा दिनानुदिन नैतिकस्तर अवमूल्यन हुँदै गएकोछ । नीच, छुद्र, चुत्थो र तल्लो श्रेणीको राजनीतिले कर्तव्यहिन र असभ्य राजनेताको परिचय दिएको छ । राजनीति फोहरी खेल हो भन्ने प्रमाणित गर्दैछन् । राजनीतिक नेतृत्व पतनोन्मुख र इमानबाट झरेको प्रमाणित भएको छ । आफुलाई मात्र राजनीतिको ठेकेदार ठान्नुको परिणाम देश र जनताले दुर्गति भोग्दै आएका छन् । समकक्षी व्यक्तिका बारेमा कोठे बैठकमा टीका टिप्पणी गर्नु स्वाभाविक होला तर सार्वजनिक मञ्चमा जनसम्बोधनको नाममा अपमानजनक शव्द प्रहार गर्नु पागलपनको द्योतक छ । जनताले आफ्ना जनप्रतिनिधिको हैसियत र औकात जानकारी पाइरहेका छन् ।

युगान्तकारी परिवर्तनलाई व्यक्तिको सनकको भरमा भताभुङ्ग हुनुले नेताहरूको विवेक कस्तो रहेछ भन्ने प्रमाणित भएको छ १ संविधान सभाका दुईटा कार्यकाल खर्चेर निरङ्कुश व्यक्ति जन्माउने संविधानका बारेमा धेरै व्याख्या गर्नुको के अर्थ छ ? राजनीतिलाई सेवामुखि नभएर मेवामुखि विकासित गरिएको छ । प्रतिनिधित्व प्रणालिलाई निमुखा जनताको सेवाबाट विमुख गराइएको छ । मतदाताले लोकतान्त्रिक चरित्रको दुहाई दिने राजनेताको पहिचान समयमा गर्नु बुद्धिमानी हुनेछ । राजनीतिमा भ्रष्टाचारी, डन, विभिन्न आपराधिक गतिविधिमा संलग्न, पैशाको आडमा औद्योगिक घरानाका व्यक्तिलाई भित्र्याउने कार्यलाई सर्वहारा चरित्र स्वीकार गर्न सकिदैन् ।

आफुलाई विकास र जनजीविकाका मुद्दाहरूमा केन्द्रित गराउन नसकेर व्यक्तिगत चरित्र हत्यामा केन्द्रित गरेका छन् । आन्तरिक पार्टी जीवनमा अनुशासन कायम गर्न नसकेर सडकमा घोक्रो सुकाएर अनुशासनहिनताको परिचय दिइरहेका छन् । व्यक्तिगत गाली प्रहारले कुनै पनि नेतालाई महान बनाउन सकिदैन् । आफ्नो थुतुनो ९वाणी० र भाषालाई दूषित बनाउने कार्य अविलम्ब बन्द गर्नुपर्छ । शिष्टाचारयुक्त आन्दोलन मार्फत् सैद्धान्तिक पथमा च्युत भएका अमुक नेताको व्यक्तिगत टिप्पणीलाई अग्रास्थान दिनुले राजनीतिमा नकरात्मक शक्तिको विकास भएको छ । चरित्र हत्याको बहसको सट्टा राजनीतिक दलहरूले सिद्धान्तमा केन्द्रित गरौं । जनमानसका दैनिक जीवनमा आइपरेका समस्याको समाधान गर्ने बहस चलाऔं । प्रत्येक जनप्रतिनिधिलाई जनताप्रति जिम्मेवार र ईमानदार बनाउने अभ्यास गरौं ।

वर्तमान शिक्षालाई परिवर्तन गरी व्यावहारिक, समसामयिक र रोजगारमूलक बनाउने स्पष्ट दृष्टिकोण कुनै राजनीतिक दलमा देखिदैन् । राष्ट्रिय एकता र लोकतान्त्रिक संस्कारको भावना, नैतिकता, अनुशासन र स्वावलम्वन एवं सामाजिक र चारित्रिक गुण सम्बन्धी सामान्य ज्ञानको अभाव राजनेतामा देखिएन ।

नेपालको संविधानले दुईतिहाईको बलियो सरकारको नेतृत्व गर्ने पङ्तिले पुनस् जनतालाई राजनीतिक उपलब्धिको रक्षाका लागि सडक आओ भनेर गुहार माग्नुले प्राप्त लोकतन्त्र जनहितमा छैन भन्ने प्रमाणित गरेको छ । लोकतन्त्रको महत्वपूर्ण सौन्दर्य राजनीतिक नेतृत्व हो । स्वयं नेतृत्वले त्रास देखाउने, धम्की दिने, राजनीतिक वातावरणलाई आतङ्कित बनाउछन भने कसरी लोकतन्त्रवादी भन्न सकिन्छ रु अहिले नेताहरूको कर्कस स्वरबाट राजनीतिक विचार, सिद्धान्त, समसामयिक देशका समस्या, निर्वाचनमा गरेका प्रतिबद्धताको अवस्था आदिलाई छोडेर असहमत हुने गुटलाई एकहोरो गाली गर्ने क्रममा विकास भएको पाइन्छ ।

लोकतन्त्रमा सबै पक्षलाई सहभागि गराएर देशलाई विकसित बनाउन सकिन्छ । जनताले राजनीतिक प्रक्रियामा मतदान गरेर आफ्नो अधिकारको प्रयोगगर्ने मात्र हो । जनतालाई जतिसुकै अधिकार सम्पन्न बनाइएको भनिए पनि जनताको आवाजलाई सत्तासम्म पुर्‍याउन कुनै न कुनै राजनीतिक दल वा दबाव समूहको सहारा लिनु पर्ने हुन्छ ।

राजनेताहरूलाई विकासे चिन्तामा जागरूक हुने दायित्व र अधिकार प्रति जनताले सजक गराउनु जरूरी छ । जनताको कमीकमजोरीको फाइदा नेताहरूले लुट्दै आएका छन् । संसदीय लोकतन्त्रको नाममा नेताहरूले व्यक्तिगत प्रभुत्व देखिने गरी राजनीति गर्दै आएका छन् ।

लोकतन्त्रको नाममा लुटतन्त्र मचाएर अकुत धन कमाउने र राज्यलाई दोहन गर्ने परम्पराले निरन्तरता पाउदा लोकतन्त्र बदनाम भएको छ । सार्वजानिक जीवनमा भ्रष्टाचारीको चुरीफुरी हुने संस्कारले झन बढावा पाएको छ । देशको अर्थव्यवस्था र प्रशासनिक ढाँचालाई जनमुखी बनाउन सकिएको छैन् । अधिनायकवादको नामले शिकार हुने संवैधानिक प्रावधान आमूल रूपमा नष्ट गर्‍यौं भनेका नेताहरू अहिले त्यही मुद्दा बोकेर सडकमा आएका छन् । सत्ताले भ्रष्टाचारिको संरक्षण र संरक्षक बन्ने परम्पराको फल प्राप्त भएको छ ।

सैद्धान्तिक रूपले लोकतान्त्रिक शासन प्रणालीमा विभिन्न राजनीतिक दलले आ-आफ्नो नीतिको आधारमा सक्रिय हुने परम्परा छ । व्यावहारिक रूपले अधिकांश नेताहरू स्थानीयदेखि राष्ट्रीय स्तरसम्म व्यक्तिविशेष अनुरूप राजनीतिक भूमिका सुनिश्चित गर्छन् । सक्रिय राजनीतिमा व्यक्ति विशेषको निष्ठाले राजनीतिक भविष्य सुनिश्चित गर्छ ।

राजनीतिक तानाबाना बुनेर अर्काप्रति लक्षित गरी षडयन्त्र गर्ने संस्कार हावी हुँदा लोकतन्त्र विपरीत गतिविधि हुन्छन् । मनमा राजनीतिक महत्वाकांक्षा पालेर सेवामुखि भजन गाउनेलाई जनताले पहिचान गर्न सक्नु पर्छ । सार्वजनिक जीवनमा प्रत्येक स्तरका नेताहरूका बीचमा विभिन्न विषयमा हुने गहन वैचारिक मन्थनले मात्र राजनीतिक अभिमतलाई जनस्तरसम्म पुर्‍याउन सकिन्छ । अप्ठेरो पर्दा (कुर्सी गुम्दा) मात्र जनतामा जाने प्रचलनले राजनीतिक सञ्चारको अभाव खडकिदै गएको छ । राजनीतिक आग्रह र पूर्वाग्रहले नेपालको राजनीतिक प्रणाली सदैव अस्थिर हुँदै आएको छ । नेताहरूको चरित्र सफा, स्वच्छ, निष्पक्ष र आर्थिक मामिलामा विवादरहित भए मात्र राजनीतिले अपेक्षित परिणाम दिन्छ । जहाँसम्म आमजनताको प्रश्न छ, जनताले नेतृत्व प्रति विश्वास सहज स्वाभाविक रूपमा गर्छन् ।

आमनागरिकको ज्ञान र तर्कशक्तिमा वृद्धि हुँदै जाँदा देशको सत्ता परिवर्तनमा सहज भूमिका हुन्छ । राजनीतिक वृतमा राजनेताले परीक्षित हुनका लागि नीति र सिद्धान्तको आधार लिएर भविष्यलाई डोर्‍याउन सकिने राजनीति आजको आवश्यकता हो । व्यक्ति विशेषमा निर्भर र स्थापित राजनीतिक सक्रियतालाई निरूत्साही गर्नु जरूरी छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्