कुरिनटारमा प्रहरी चौकी स्थापना – Janadesh Daily | ePaper

कुरिनटारमा प्रहरी चौकी स्थापना


जनादेश, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको हो ।गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले आज प्रहरी चौकी उद्घाटन गर्नुभयो ।

प्रहरी चौकीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले सबै नागरिकलाई शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारलाई आत्मसाथ गर्दै हरेक वडामा प्रहरी चौकी स्थापना गर्ने उद्देश्यअनुसार वडा नं ४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको बताउनुभयो ।

गाउँपालिकाको केन्द्रसमेत रहेको कुरिनटारमा उद्योग होटल भएको र राजधानी भित्रिने मुख्यराजमार्ग पर्ने भएकाले यहाँ तत्काल आवस्यक रहेको अवस्थामा सफल भएको बताउनुभयो । प्रहरी उपरीक्षक नान्तिराज गुरुङले समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी एक्लैले नसक्ने बताउनुभयो । अपराध नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले प्रहरीलाई नागरिकले सूचना दिएर सहयोग गरेका कारण नै अपराध नियन्त्रण गर्न सकिने बताउनुभयो ।

समाचारमा प्रहरीको सफलता भनेर समाचार आउने गरेपनि वास्तविक हिरो भनेको समुदायभित्रै नागरिक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्ति सुरक्षा कायम गर्न समुदायमा हुने अपराधका घटनालाई नियन्त्रण गर्न तपाइको आवस्यकता पर्छ, तपाईहरूले नै सूचना दिएर प्रहरी सफल हुने हो, समाचारमा प्रहरीको कार्य (एक्सन) सफलता भनेर आउँछ तर वास्तविक हिरो तपाईहरूनै हो ।  रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्