हजारौँ सहिदहरुको बलिदानीबाट प्राप्त उपलव्धि खोस्नेविरुद्ध जनताले धावा बोल्नेछन् : प्रचण्ड – Janadesh Daily | ePaper

हजारौँ सहिदहरुको बलिदानीबाट प्राप्त उपलव्धि खोस्नेविरुद्ध जनताले धावा बोल्नेछन् : प्रचण्ड


जनादेश, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी विकास तर्फ लैजाने ऐतिहासिक पहलकदमी माथि प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको टिप्पणी गरेका छन् ।

जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहिदहरुको रगतबाट प्राप्त उपलब्धिलाई दक्षिणपन्थी र प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताए ।

संविधान र संघीय लोकतन्त्रलाई धरापमा पार्ने प्रयास गरिए चिहानबाट सहिदका कंकाल उठेर सरकार विरुद्ध लाग्ने चेतावनी प्रचण्डले केपी ओलीलाई दिएका छन् । सहिदको बलिदानीलाई कुल्चने दुश्साहस नगर्न प्रधानमन्त्री केपी ओलीलाई प्रचण्डले चेतावनी नै दिए ।
सकारात्मक सामाजिक रुपान्तरणका निम्ति बलिदानी गरेका सहिदहरुलाई केही समय राज्यले दबाउने र सम्मान पनि नदिन सक्ने माक्र्सले भन्ने गरेको स्मरण गर्दै उनले अन्तत नयाँ पीडीहरु सहीदको सम्मानका लागि सरकारलाई खबरदारी गरी सम्मान दिलाई छाड्ने दृढता पनि व्यक्त गरेका छन् ।
‘केपी ओलीहरुले हजारौँ सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई म किच्न सक्छु भन्ने सोचेका छन् भने उनी सारै ठुलो भ्रममा छन् । उनी छिट्टै भ्रममुक्त हुँदा राम्रो हुन्छ भन्ने सुझाव राख्न चाहान्छु’, प्रचण्डले भने, ‘नत्र भने हजारौ कंकालहरु चिहानबाट बाहिर निस्कन्छन् र परिवर्तनलाई रोक्न खोस्नेकाविरुद्ध धावा बोल्नेछन् ।’
सबै जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णयलाई कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहने प्रतिवद्धता पनि प्रचण्डले जनाएका छन् । पहिलो चोटी संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाचित प्रधानमन्त्री भएको बेला पहिलो मन्त्रीपरिषद् बैठकबाट जनयुद्ध र जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेपनि केही प्राविधिक कमजोरी भएकाले अहिलेसम्म सो निर्णयले औपचारिकता पाउन नसकेको उनले स्वीकार गरे । कार्यक्रममा सबै सहिद र सहिदका परिवारको सम्मानको प्रतिकका रुपमा सहिद की आमालाई सम्मान गरिएको थियो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्