प्रचण्ड-बाबुराम फेरि एक ठाउँ हुने सम्भावना बढेको हो ? शनिबारले देखाएका संकेत – Janadesh Daily | ePaper

प्रचण्ड-बाबुराम फेरि एक ठाउँ हुने सम्भावना बढेको हो ? शनिबारले देखाएका संकेत


जनादेश वाच ।
जनयुद्धकालमा नेपालसहित विश्वको आँखा नेपालमा थियो । र त्यही समयका दुई प्रमुख चासोका पात्र थिए पुष्पकमल दाहाल प्रचण्ड र डाक्टर बाबुराम भट्टराई ।

प्रचण्ड र भट्टराईबीचको सम्बन्धमा अनेक आयमहरु छन्। २०५२ फागुन १ अर्थात हिजोकै दिनदेखि औपचारिक रुपमा सुरु भएको उनीहरुको सहयात्रामा अनेक उत्तारचढाव आए। कुनै दिन त मारामारको स्थितिसम्म पुग्यो उनीहरुको सम्बन्ध।

लामो जनयुद्ध हाँकेर युद्धकालदेखि शान्तिकालसम्म सहकार्य गरेका यी दुई नायकबीच संविधान जारी भएलगत्तै सम्बन्ध विच्छेद भयो । तर उनीहरुको सम्बन्ध विच्छेद गराएको संविधान जारी भएको ५ वर्षमै यी दुई नेताबीच पुनर्मिलनका संकेतहरु देखा परेका छन् ।

तर पनि एउटै राजनीतिक यात्रा टुटेको थिएन। तर संविधानप्रति असन्तुष्टि लगायत कारण देखाउँदै २०७३ जेठ ३० भट्टराईले प्रचण्डसँग सम्बन्धविच्छेद् गरेको घोषणा गरे। भट्टराईले नयाँ शक्ति पार्टी खोले।

त्यसको तीन वर्षपछि भट्टराईले संघीय समाजवादी पार्टीसँग एकता गरेर समाजवादी पार्टी नेपाल जन्माए। समाजवादी पार्टी नेपालले राष्ट्रिय जनतापार्टी नेपालसँग आपतकालिन एकता गर्‍यो गत वैशाखमा १० गते।

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि यी दुई पार्टी रातारात एक भएको घोषणा गरेका थिए। हाल जनता समाजजादी पार्टीका नेता भट्टराई पार्टीका अर्का नेता उपेन्द्र यादवसँग असन्तुष्ट रहेको बुझिन्छ।

प्रधामन्त्री केपी शर्मा ओलीले प्रचण्डसँगको विवाद उत्कर्षमा पुगेपछि विघटन गरेको संसद ब्यूँताउनुपर्ने भन्दै प्रचण्डले सडक आन्दोलनको साहारा लिएका छन्। संसदको पुनःस्थापनाको पक्षमा भट्टराई देखिन्छन्।

फेरि एउटै मञ्चमा बाबुराम-प्रचण्ड

तत्कालीन एकीकृत नेकपा माओवादीबाट अलग्गिएका डा. भट्टराईले पहिलोपटक शनिबार जनयुद्धकालीन सहयोद्धा प्रचण्डलाई प्रमुख अथिति बनाएर कार्यक्रम आयोजना गरे ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले जनयुद्धका दिवसकै दिन पारेर आफ्नो पुस्तक ‘गुमनाम आमाहरूको कथा’ लोकार्पण कार्यक्रम आयोजना गरी नेकपा (प्रचण्ड–नेपाल समूह) का अध्यक्ष प्रचण्डलाई वक्ताका रूपमा सहभागी गराएका हुन्।

राजनीति फरक ढंगले अघि बढाउने भन्दै २०७२ असोजमा माओवादी छाडेका भट्टराईसँग प्रचण्ड पहिलो पटक एकै ठाउँमा उभिएका हुन्। दुवैले संविधान बचाउन एकै स्थानमा आएको बताए।

प्रचण्डले आउन्न भन्दा पनि बाबुरामले मानेनन्

प्रचण्ड शनिबार बिहानैदखि चटारोमा देखिन्थे, सम्बन्धित पुस्तक विमोचन, कार्यक्रम उद्घाटन र सम्बोधनका लागि । तीमध्ये डा. बाबुराम भट्टराईको ‘गुमनाम आमाहरुको कथा’ पुस्तक विमोचन कार्यक्रमको निम्तो प्रचण्डका लागि महत्वपूर्ण थियो। तर प्रचण्डलाई काठमाडौँका अन्य दुई वटा कार्यक्रम भ्याएर एक सार्वजनिक कार्यक्रमका लागि सिन्धुली पनि नगई भएको थिएन।

प्रचण्डले भट्टराईलाई फोन गरे–मलाई सिन्धुली जानैपर्ने भयो। ढिलो होला जस्तो छ। कि म नआए हुन्न? भट्टराईको जबाफ थियो–तपाईँ जसरी पनि आउनुहोस्। ढिलो भएपनि आउनुहोस्। म प्रतिक्षा गर्नेछु।

त्यसपछि प्रचण्ड हेलिकप्टरमा सिन्धुली उडे। बालुवाटारको एक प्यालेसमा दिउँसो पौने एक बजे सुरु गर्ने भनिएको कार्यक्रम एक घण्टा ढिलोगरी सुरु भयो। भट्टराईले प्रचण्डका लागि कार्यक्रम लम्ब्याउन लगाए। कार्यक्रमको अन्तिममा प्रचण्ड हस्याङ्फस्याङ् गर्दै पुगे। उनी कार्यक्रमको हलमा छिर्नासाथ गड्गडाहड ताली बज्यो।

भट्टराईको पुस्तक विमोचन गर्नेमध्येमा प्रचण्ड पनि एक थिए। तत्कालै कार्यक्रमलाई सम्बोधन गरेका प्रचण्डले भने, ‘मलाई थोरै डर लागको थियो यो कार्यक्रममा सहभागी हुन सक्दिन कि भनेर। तर ढिलोचाँडो आइपुगे। खुसी लाग्यो।’

योसँगै भट्टराईको कार्यक्रममा सामेल हुँदा आफू उत्साहित भएको सन्देश प्रचण्डले दिन भ्याए, सुरुवातमै। त्यसपछि प्रचण्डले भट्टराईलाई गरेको सम्बोधनलाई लिएर कार्यक्रमका सहभागीहरुबीच खासखुस भयो।

प्रचण्डले भट्टराईलाई ‘मेरो लामो राजनीतिक जीवन यात्राका सहयोद्धा’ भन्दै सम्बोधन गरेका थिए। अर्को प्रसंगमा उनले भट्टराईलाई घनिष्ट मित्रको संज्ञा पनि दिए। ताली उस्तै बज्यो।

भट्टराईले आफ्नो पुस्तकको २ सय २९ पुष्ठमा ‘कमरेड प्रचण्डसँग स्वीट्जरल्याण्ड’ शीर्षकको लेख पनि समावेश गरेका छन्। जहाँ प्रचण्डसँगै स्वीट्जरल्याण्ड भ्रमण गरेको र त्यो उपलब्धीपूर्ण भएको भट्टराईले उल्लेख गरेका छन्।

त्यसै प्रसंगमा प्रचण्डले भने, ‘किताब हेर्दै जाँदा म र उहाँ स्वीट्जरल्याण्ड भ्रमणमा गएको प्रसंग चाहीँ कोट्याउनु भएको रहेछ। हुन त बाबुरामजी र मेरो धेरै प्रसंग छन्।’

प्रचण्डले भट्टराईलाई लक्षित गर्दै भने, ‘बाबुरामजी र मेरो २५ वर्षको सहयात्रामा, १० वर्षको युद्धमा, १० वर्ष शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा हाम्रा सम्बन्धका धेरै आयामहरु छन्। ती पनि समयक्रममा उद्घाटित हुँदै पनि जाला। तीनको व्याख्या विश्लेषण हुँदै जाला भन्ने लाग्छ।’

भट्टरासँगको एकताको प्रयासमा प्रचण्डले यसअघि उपराष्ट्रपति नन्दबहादुर पुनलाई माध्यम बनाएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी खुलेर ओलीको पक्षमा उभिएपछि पुनले पनि राजनीतिक सक्रियता देखाएका थिए। उपराष्ट्रपति पुनकै निवासमा उनलाई साक्षी राखेर भट्टराई र प्रचण्डले एकतालाई लिएर छलफल गरेका थिए।

त्यसपछि पहिलो पटक सार्वजनिक रुपमा भट्टराई र प्रचण्ड एकै ठाउँमा उभिएका हुन्। प्रचण्डको व्याख्या थियो, ‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौँ। तर मुद्दाको हिसाबले हामी एउटै मोर्चामा छौँ।र, इतिहासको आफ्नो कर्मको कारणले हामी अलग हुन खोज्दा पनि हामीलाई फेरि चुम्बकले तानेजस्तो एकै ठाउँमा झुन्डाएको छ। हामीलाई अलग हुन दिँदैन।’

प्रचण्ड भट्टराईसँगको सम्बन्धबारे आफू भावुक भएको सन्देश पनि दिने कोशिसमा देखिन्थे। उनले भने, ‘हजारौँ शहीद, हजारौँ घाइते, हजारौँ बेपत्ता योद्धाहरुले हामीलाई अलग हुन दिन्नन्। त्यतिबेला मानवीय संवेदनाका हिसाबमा उच्च रहेको हाम्रो सम्बन्धका कारण हामीलाई फेरि पनि एकै ठाउँमा आउन प्रेरित गरिरहेको छ।’

प्रचण्डले आफूलाई कर गरेर आफ्नो कार्यक्रमा आउन भनेकोमा पनि पटक–पटक भट्टराईलाई धन्यवाद दिइरहे। साथै यो बेला भट्टराईको ‘गुमनाम आमाहरुको कथा’ आउनुलाई आफूले सामान्य प्राविधिक घटनाको रुपमा मात्रै नलिएको भन्दै घुमाउरो रुपमा आफूहरुको एकताको आवश्यकता औंल्याउने कसरतमा देखिन्थे प्रचण्ड।

उनले भने, ‘गुमनाम आमाहरुको कथाभित्रका संस्मरणहरु र त्यसका पात्रहरुमाथि बाबुरामजीले गरेका विश्लेषणले हामीलाई फेरि एकचोटी गम्भीर आत्मासमिक्षा र विश्लेषण गर्नुपर्ने दिशातिर पुर्‍याएको छ।’

उनले ओली कदमले मुलुकमा उत्पन्न भएको संकट निरुपणका लागि यो पुस्तकले भूमिका खेल्ने बताए। उनले भने, ‘यो एउटा पुस्तक विमोचनको कार्यक्रम मात्रै ठानेको छैन मैले। फेरि इतिहासलाई समिक्षा गरेर अग्रगमनका लागि या सकारात्मक परिवर्तनका लागि एकचोटी फेरि मोर्चा कसेर अघि बढ्ने संकल्प जस्तो ठानेको छु यो कार्यक्रमलाई।’

कुनै बेला भट्टराईलाई तिखो प्रहार गरेर नथाक्ने प्रचण्ड आज उनको प्रशंसा मात्रै गर्ने मुडमा देखिन्थे। प्रचण्डले भट्टराईलाई लक्षित गर्दै भने, ‘उहाँको लेखन शैली राम्रो छ। उहाँको विश्लेषणात्मक क्षमता जहिले पनि माथि छ। उहाँको बौद्धिकता र भावनात्मक प्रस्तुतीको बारेमा म पहिलेदेखि नै जानकार छु।’

‘जनयुद्ध’का क्रममा भट्टराईसँग मिलेर शहीदको चिहान उत्खनन् गर्ने काम गरेको प्रसंगसमेत निकाले प्रचण्डले। उनको भट्टराईलाई आग्रह थियो–’अब एउटै मोर्चामा संलग्न भएर ओलीविरुद्ध लड्नुपर्छ। उपलब्धीमाथि हमला भएको छ। हामी सबै एक भएर त्यसको प्रतिवाद गर्ने ठाउँमा छौँ। मोर्चा खोलिनै सकिएका छौँ।’

त्यसको सुरुवात यस्ता पुस्तक प्रकाशन, विमोचन र अन्तरक्रियाबाट भएको प्रचण्डको दाबी थियो। प्रचण्डले आफू दोस्रो पटक प्रधामन्त्री भएका बेला संविधानका दुई वटा संशोधन प्रस्ताव नै संसदमा दर्ता गराएको भएपनि त्यो सफल हुन नसकेको प्रसंग सुनाए।

अन्तिममा पनि भट्टराईलाई आफूसँगै उभिन आग्रह गरेर प्रचण्डले आफ्नो सम्बोधन टुंग्याए। उनले भने,‘यही संविधानको मूल मर्ममाथि प्रहार भएको छ। त्यसको रक्षा गर्ने र परिमार्जन गर्ने दायित्व हामी सबैको हो। ठिक यसै परिस्थितिमा यो किताव आयो। संकल्पको दिन हो। यो कार्यक्रमले नयाँ आधार, विचार, भावनाको बन्ने। यसको विशिष्ट महत्व छ।’

प्रचण्डले बाबुराम-प्रचण्ड चाहेर पनि अलग हुन नसक्ने धारणा राखे र अहिलेको परिस्थितिले एकै ठाउँमा आउन प्रेरित गरेको प्रचण्डको बुझाइ र आग्रह थियो । बाबुरामले त्यस आग्रहलाई सकारात्मक त भनेका छन् तर स्पष्ट जवाफ दिएनन् । यद्यपि प्रचण्ड-बाबुरामबीच तिक्तता कम हुँदै गएको र पुनः एउटै मोर्चामा हुने सम्भावना बढेको आँकलन गर्न भने कठिन छैन ।

यो पनि हेर्नुस्- के पाएर ओलीलाई ‘राजा’ भनिरहेका छन् केही वकिल ! यसरी बगाइएको रहेछ पैसाको खोलो

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्