अनलाइनबाट पुनः श्रम स्वीकृति लिनेको संख्या बढदो, डेढ महिनामा २५ सयले लिए – Janadesh Daily | ePaper

अनलाइनबाट पुनः श्रम स्वीकृति लिनेको संख्या बढदो, डेढ महिनामा २५ सयले लिए


2021-02-16-32113

जनादेश काठमाण्डौ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको पाइएको छ । वैदेशिक रोजगार विभागकाअनुसार हाल दैनिक एक सय भन्दा बढीले अनलाइनबाट पुन श्रम स्वीकृति लिइएको पाइएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले अनलाइन कार्यान्वनको सुरुको दिनमा अनलाइनबाट दैनिक दश पन्ध्र जनाले पुन श्रम स्वीकृति लिने गरेको भए तापनि अहिले अनलाइनबाट स्वीकृति लिने संख्या बढिरहेको जानकारी दिनुभयो ।

यही २०२१ जनवरी १ देखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति अनलाइनबाट लिन सकिने सरकारले व्यावस्था गरेको थियो । कार्यान्वयन भएको हाल डेढ महिनाको अवधिमा २५ सयको हाराहारीमा अनलाइनबाट नेपाल सहित देशमा विभिन्न ठाउँमा कार्यरत नेपाली कामदारले श्रम स्वीकृति लिएको विभागका महानिर्देशक दहाल बताउनुहुन्छ ।

यो व्यवस्थासँगै वैदेशिक रोजगारीमा जाने व्यक्तिले पुनः श्रम स्वीकृति (रिइन्ट्री) लागि श्रम कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । कार्यालयमा आएर पनि श्रम स्वीकृति लिन आउनेक्रम पनि जारी रहेको विभागको भनाई छ।

वैदेशिक रोजगारीमा कार्यरत नेपालीले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै श्रम स्वीकृति प्राप्त गर्न सक्छन् । यो व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका श्रमिक बढीमा दुई पटकसम्म लाभ लिन सक्ने विभागको भनाई छ । एकपटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक आइरिक्स (आँखाको स्क्यान वा औँठाछाप स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेकाले अनलाइन पुनः श्रम स्वीकृति सेवा लिन सक्ने छन् ।

त्यस्तै अनलाइनमार्फत पुनः श्रम स्वीकृतिका लागि सेवा प्राप्त गर्न वैदेशिक रोजगार विभागको वेबसाइटबाट अनलाइन श्रम स्वीकृतिमार्फत फारम भर्न पर्छ । श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन अस्विकृत भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोबाइल नं र आवेदन गर्दाको युजर एकाउन्टमा सूचना जाने भएकाले आफ्नो मोबाइल नं र इमेल ठेगाना सही भर्नुपर्ने छ ।

त्यस्तै श्रम स्वीकृतिका लागि आवेदन गर्दाको युजर नेम र पासवर्ड सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ । श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफईआईएमएसको युजर एकाउन्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुने भएकाले आवेदक आफैँले आवश्यकता अनुसार प्रिन्ट गर्न सकिन्छ ।

त्यस्तै, म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत गर्न सकिने र यसरी अनलाइन भुक्तानी गर्दा कुनै प्रकारको थप शुल्क लाग्दैन । यसरी अनलाइनबाट पुनः श्रम स्वीकृति गर्दा कार्यालय उपस्थित भइरहनुपर्ने समस्याबाट सहज हुने भएकाले उक्त सेवाको प्रयोग गर्न विभागले आग्रह गरेको छ ।

विभागकाअनुसार आईएमई–पे, ई–सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ । विभागका महानिर्देशक दहाल विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने बाध्यताको पनि अन्त्य हुने बताउनुहुन्छ । यस्तो सुविधा श्रमिकले दुई पटकसम्म विदेशबाटै श्रम रि–इन्ट्रीको सुविधा पाउनेगरी व्यवस्था गरिएको छ ।

यो व्यवस्थापछि श्रम स्वीकृति लिएर गए पनि अवधि सकिएपछि विदेशमै बसिरहनुपरेका श्रमिकलाई पनि श्रम स्वीकृति लिन सहज भएको छ । यो व्यवस्थापछि श्रम रि–इन्ट्री नगरेका कारण समस्या पर्दा कोषबाट सुविधा नपाउने अवस्थाको पनि अन्त्य हुने विभागको भनाई छ । गोरखापत्रअनलाइनबाट साभार

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्