बैलगाडावाला – Janadesh Daily | ePaper

बैलगाडावाला


गोरूगाडा (बुलकार्ट) विस्थापित हुँदै गएका छन् । आधुनिक प्रविधिले यातायातका साधनमा क्षमता र शक्तिवान भएका कारणले बैलगाडा विस्थापित भएका हुन् । पहिला पहिला सरसामग्री र यात्रुलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान बैलगाडा प्रयोग हुन्थ्यो । छोटो दूरी भएका शहरबाट गाउँ र गाउँबाट शहरमा ढुवानी गरिन्थ्यो । प्राय: बैलगाडीको पाङ्ग्रा काठबाट निर्मित हुन्छन् । काठसँगै फलाम र बाँसको पनि थोर-थोरै प्रयोग हुन्छ । गाडालाई तान्ने कार्य गोरू वा राङ्गाले गर्छन् । चालकको काम मानिसले गर्दछ । बैलगाडीमा ईन्धन चाहिदैन् । धुलाम्य र हिले सडकमा सजिलै चलाउन सकिन्छ । मैदानी भागमा गह्राखेतमा बीउबिजन र मल ढुवानी गरिन्छ । गोरूको घाँटी वरिपरि घण्टी लगाइने हुँदा घण्टीको आवाजले बैलगाडा संस्कृतिलाई झङ्कारमय बनाएको हुन्छ ।

जेट विमान (एयरक्राफ्ट) इञ्जिनबाट चल्छ । लामो दूरी र भारवाहन (कार्गो) क्षमता भएकोले आधुनिक युगमा जेट विमानको व्यापक प्रयोग गरिन्छ । सैन्य विमानहरू जेटबाट संचालित हुन्छन् किनकि तिनीहरूसँग उच्च गति र उच्च कोणमा शत्रुलाई आक्रमण गर्ने क्षमता हुन्छ । जेट विमानमा दुईवटा पाइलट हुन्छन् ।

नेपालको राजनीतिक वृतमा बैलगाडा र जेट विमानको चर्चा व्यापक छ । नेपाली समाजवादलाई बैलगाडाको उपमा दिइनु रोचक र घोचक छ । जेट विमानमा बैलगाडाका नियम लागु हुँदैनन् । बैलगाडा चलाउनेले जेट विमान हाँकेको इतिहास पनि सुनिएको छैन् । बैलगाडा चालकले जेट विमान उडाउने इतिहास सम्भवतह सुनिएको छैन् । दुईटैको प्रविधिमा फरक-फरक सिद्दान्त हुन्छन् । बैलगाडा गुडाउने र जेट विमान उडाउने सिद्धान्तमा आधारित छ । बैलगाडा चालकले जेट विमान उडाउनु भनेको जेट विमानलाई प्रयोगशाला बनाउनु जतिकै हो ।

यसबाट स्वयंसिद्ध हुन्छ कि जेट विमानको दूर्घटना असम्भावित छ । गाडामा पनि विज्ञान र सामाजिक नियमहरू लागु हुन्छन् । बैलगाडा चलाइमा मानिसको भन्दा बढता बुद्धिविवेक र शक्ति गोरूको हुन्छ । गाडालाई बालवालिकाले पनि चलाउन सक्छन् । सामान्य इसाराले पनि गोरूले गाडालाई गन्तव्यमा पुर्‍याउछन् । गाडामा अभ्यस्त आनीबानी भएकालाई जेट विमान चलाउनु ‘बाँदरको हातमा नरिवल’ दिनु हो । विनाशकारी परिणाम नगदानगदी ल्याउनु हो । बैलगाडा कच्ची र खाल्डाकुल्डीमा घ्याच्चघुच्च चलाउन सकिन्छ । सात दशक लगाएर प्राप्त भएको जेट विमानलाई कथित पाइलटहरूले जथाभावी चलाउनुको परिणाम सन्तोषजनक देखिएन् ।

बैलगाडाको विज्ञताले वैज्ञानिक समाजवादीरूपी जेटलाई हाँक्न सकेनन् । पहिलो नम्बरको पाइलटले ककपिट कब्जा गर्ने बित्तिकै दोश्रो नम्बरको पाइलटले हातखडा गर्नु पर्दथ्यो । यात्रुलाई विमानको हविगत बारे जानकारी गराउनु पर्दथ्यो । समय घर्के पश्चात् हात उठाइले समस्त विमान यात्रु जोखिममा परेका छन् । विमान अहिले दिशाविहिन भएको छ । ककपिटमा एक्लै जुङ्गा मुसार्दै गरेको पहिलो चालकले जेटलाई नियन्त्रण बाहिर गएको संकेत गरेको छ । दोश्रो चालक गुहार गुहार भन्दै अत्तालिएको देखिन्छ ।

विमानको गडबडाइनुमा स्वदेशी सर्वहारा भन्दा बढता विदेशी दलालको पहुँच पुग्यो किन भन्ने शंका उपशंका गरिएको छ । ककपिटमा बसेका कमिसनखोर, दलाल, नोकरशाह, भ्रष्टाचारीले प्रथम पाइलटलाई वशमा पारेर अहिलेको समस्या आइलागेको बुझिएको छ । नयाँ प्रविधि नामकरण गरिएको संघीय गणतन्त्र आफैमा प्रगतिशील जे विमान भए पनि कथित समाजवादी मुकुण्डो लगाएर बैलगाडा प्रविधिले रफ्तार लिन नसकेकोमा दुई मत छैन् । समाजवाद उन्मुख अध्याँरो सुङमा छिराइएको विमान बारे अहिले व्यापक टिकाटिप्पणी आइरहेको छ ।

कथित विमान बैलगाडा हो वा जेट विमान नै हो भन्ने यकिन गर्न गाह्रो परेको छ । साम्राज्यवादी र विस्तारवादीले निर्माण गरेको जेट विमान आकाशमा भौतारिएको छ । जनआकांक्षी सपनाले भरिएको कार्गोले सही दिशा लिन सकिरहेको छैन् । जेट विमानमा सर्वहाराको रङ्गरोगनको लेप लगाइएको भए पनि वास्तविक रङ्गरोगन सामन्तिवाद झैँ देखिएको छ । कार्गोमा खर्चिएको भनिएको श्रमिकको श्रम र पसिनामा दाइँ रजाइँ हुने निश्चित छ । जेट चालकहरू वैदेशिक दलाल हुँदै परिवारवाद र फरियावादका पृष्ठपोषक भएकोले विमानको अवस्था अनिश्चित भएको बुझिएको छ ।

उन्नत समाजमा सत्यलाई उजागर गर्नु प्रत्येक कर्तव्य हो । यात्रु (जनता) भन्दा असल चालक (शासक) हुन सक्दैनन् । यात्रुले जिम्मेवारी बहन गर्न नसकेका कारणले गाडावाल संस्कृति मौलाउदै गएको छ । गाडावालाको चयनमा गरिने अनेकन घोटालाका कारणले विमाने यात्रा विघटनमा परेको छ । विविधखाले लोभलालच, मोलाहिजा, आफ्नो(परायामा रमाएर मतदान गरेको फल चाख्ने अवसर यात्रुले पाएका छन् । यात्रुले कम्मर कसेर आ(आफ्ना पाइलटलाई महान भन्दै अर्घेल्याइँ गर्दै सडकमा जिन्दावाद र मुर्दावादको नाटक मञ्चन गर्दै छन् । समर्थक माने देवत्व ग्रहण गर्ने संस्कृतिले सुधारको गुन्जाइस देखिदैन् ।

जेट विमानमा सक्कली चालकको विवादले दुईतिहाईले भरिएको यात्रुमय विमान सडकमा बकबास गर्ने विषय बनेको छ । जनसभाका नामले भीडभाड प्रदर्शन गरिदै छ । पाइलटको पक्ष लिदै आफ्नै सहकर्मीको छाला काढ्दै छन् । ठूलो भीड जमा गरेर चरित्र हत्यामा उद्यत छन् । विघटित जेट विमानको पक्ष विपक्षमा उफ्रदै छन् । अब एक्लै दुईतिहाई यात्रु भरेर उडान गर्ने दावा गर्दै छन् । दुईतिहाईले विमान भरिने परिकल्पनामा र्‍याल काढ्दै छन् । हुँदाखादाको दुईतिहाईयुक्त यात्रुलाई अलपत्र पार्दै नयाँ यात्रुको खोजिमा भौतारिएका छन् । समावेशी संघीय कम्पनीको जेट विमान अलपत्र परेको छ । विमान आकाशमा दिशाविहिन भएको छ । पाइलट सडकमा अवतरण गर्दै उफ्रदै छन् ।

समाजवाद उन्मुख भनिएको जेट विमान निर्माणको समयमा संसारकै सबै भन्दा राम्रो र बलियो भन्दै झ्याली पिटाइएको थियो । सायद पात्र र प्रवृति पुरानै भएका कारणले दुर्घटना निम्तिएको होला ! को पहिला ककपिटमा बस्ने भन्ने द्वन्द्वले विमान सुस्त गतिमा चल्ने अनुमान पहिले नै गरिएको थियो । खुला आकाशमा उडाइएको जेट विमान नेपाल राष्ट्र भन्दा बाहिर उडिरहेको अवस्थामा पनि राष्ट्रवादी उडानको जिद्दीले अवतरणमा ढिलाई भएको अनुमान गरिएको छ । विस्तारवादी र साम्राज्यवादी आकाशलाई आफ्नै भूमि देख्ने मोतियाबिन्दूले आफ्नो भूभाग गुमेको छ ।

पाइलटको समर्थकीय आन्दोलनमा आदिवासी, जनजाति, गरीब, असंगठित क्षेत्रका श्रमिक र किसानहरू आफ्नो समस्याबाट छटपटिएर आइरहेका छन् । उनीहरूको समस्या समाधान भाषण र आसनबाट कहिल्यै भएको छैन् । प्रत्येक श्रमिकले गम्भिरतापूर्वक आन्दोलनकारीको मूल्याङ्कन गर्न सक्दैनन् । महङ्गो सेवा सुविधा उपभोग गरेका पाइलटको दिनचर्याबाट उनीहरू अनभिज्ञ छन् । श्रमजीवी उत्पीडन कसबाट भएको छ रु उनीहरूले बुझ्दैनन् । विमानका धमिरा चालकलाई चिन्दैनन् । चिप्लाचाप्ला भाषणमा मन्त्रमुग्ध हुन्छन् । जिन्दावाद मुर्दावादमा रमाउछन् । शारीरिक श्रम गरेर ज्याला बुझ्नु भन्दा गाडीमा सवार भएर मासुभात र मजदूरी बुझ्न हौसिन्छन् र भीडमा मिसिन्छन् ।

सुकुमार र सुख शयलमा लिप्त पाइलट र उसका आसेपासेबाट भएको अन्याय, अत्याचार, भ्रष्टाचार, बलत्कार, महङ्गाईको हेक्का राख्दैनन् । राजकाजमा हात चिल्लो पारेकाको कहानी ज्ञात हुँदैन् । चेलाचपेटाले गरेको चुरिफुरीलाई वास्तविकता बुझेर जिन्दावाद र मुर्दावादको खेती गर्न पल्केका सर्वहारा एक दिन भए पनि मासुभात, गाडी चढाइ र एकदिने ज्याला बुझ्न लालयित हुन्छन् । आराम पनि हुने श्रमको मूल्य बुझ्दै रमितामा टाको गनाउछन् ।

विमान चालकले यात्रु र सर्वसाधारणलाई देशका जल्दाबल्दा समस्यामा प्रशिक्षित गराएर गम्भीरता लिएको देखिएन । ककपिटमा को बस्ने भन्ने संकटमोचनमा गरिने प्रदर्शनलाई परिवर्तनशिल मान्न सकिन्न । साँढेको जुधाई बाच्छाको मिचाइलाई जनआन्दोलन नामकरण गर्नु उचित देखिदैन् । आन्दोलन ! आन्दोलन ! निरन्तर आन्दोलनको संघर्षमा यात्रुले के पाए रु अन्यौल, अनभिज्ञ र निर्दोष यात्रुलाई एकत्रित गरिने भीडमा जनबल देख्नु दिवास्वप्न हो । पाइलटहरूमा अपेक्षित संस्कारको परिणाम देखिदैन् । पाइलटको हस्तक्षेपले अपराधीले मुक्ति पाइरहेका छन् । दुईतिहाईले भरिएको विमानका यात्रुलाई अलपत्र र अपमान गरी खतराको घण्टी बजाउनुले पाइलटले कसैको इसारा पाइरहेको अनुमान गरिएको छ । आत्मघाती कदमको सर्वत्र घृणा र निन्दा हुनु पर्छ । अन्यौलमा थुपारिएको भीडलाई कथित

जनआन्दोलनको रूप, रङ्ग र सारमा वर्णन गर्नु न्यायोचित देखिन्न । आन्दोलनमा नयाँ पाइलट जन्मिने सम्भावना पनि छैन् । गाउँघरको सुनसान सडकमा बैलगाडा चलाउन जानेकोलाई भीमकाय जेट विमानको पाइलट नियुक्त गरी खुला आकाशमा उडान भराउनेहरू पनि अपराधी हुन् । असक्षम पाइलटलाई पुन: दुईतिहाईका साथ जेट विमानको पाइलट नियुक्त गर्ने दुस्साहस यात्रु प्रतिको गद्दारी हो । दुईजना पाइलट भएको विमानको ककपिटको कुर्सीमा एउटै पाइलट बिराजमान गराउने प्रयास सर्वसंहारको बाटो हो । जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासले कायम गरेका मूल्य र मान्यतालाई सदाका लागि ओझेल पार्ने कदम हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्