बारपाकमा एकैघरमा सुतेका ३ जना मृत भेटिए, भट्टराईद्वारा निष्पक्ष छानबिनको माग – Janadesh Daily | ePaper

बारपाकमा एकैघरमा सुतेका ३ जना मृत भेटिए, भट्टराईद्वारा निष्पक्ष छानबिनको माग


जनादेश, काठमाडौँ ।

गोरखाको बारपाकमा एउटै घरमा सुतेका ३ जना मृत अवस्थामा भेटिएका छन् । बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा एकै घरमा सुतेका ८४ वर्षीय दिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सोमवार बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि छिमेकी सोधखोज गर्दा तीनै जना मृत अवस्थामा भेटिएका थिए । प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वको टोली घटनास्थल पुगेको छ । यस बारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

यस्तै, यसै घटनालाई लिएर पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निष्पक्ष छानबिनको माग गरेका छन् । ट्युमर भएको आशंकामा थप उपचारका लागि भारत गएका भट्टराईले सामाजिक सञ्जालमार्फत ट्विट गर्दै घटनाको निष्पक्ष र तथ्यगत छानबिनको माग गरेका हुन् ।

‘ज्यादै दुःखद घटना ऐतिहासिक बारपाक–सुलीकोटको । घटनाको निष्पक्ष र तथ्यगत छानबिबन होस् । शहर मात्र हैन गाउँघर कुनाकाप्चाका घटनाप्रति पनि उत्तिकै संवेदनशील बनौं । हार्दिक श्रद्धाञ्जलीरसमवेदना !’ भट्टराईले लेखेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्