गलेका ओलीः प्रधानमन्त्रीका यी भनाई जसले संसद पुनर्स्थापना हुने आभाष पाइसकेको संकेत गर्छ – Janadesh Daily | ePaper

गलेका ओलीः प्रधानमन्त्रीका यी भनाई जसले संसद पुनर्स्थापना हुने आभाष पाइसकेको संकेत गर्छ


जनादेश विश्लेषण ।

संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला आउने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको बोली रक्षात्मक बन्दै गएको छ ।

ओलीले संसद् पुनस्र्थापना हुने सुइँको पाइसकेको आभाष पछिल्ला अभिव्यक्तिमा अनुभूति गर्न सकिन्छ ।

सोमबारमात्र कञ्चनपुरमा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनस्र्थापना भए नयाँ प्रधानमन्त्रीको खोजी सुरु हुने, यसले आफ्नो राजनीतिमा कुनै फरक नपर्ने र कहिलेकाहीँ न्यायालयबाट अनुपयुक्त निर्णय हुने गरेको अभिव्यक्ति दिए ।

आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताउँदै प्रतिनिधिसभा पुनःस्थापनमा भए मुलुकमा तमासाको राजनीति शुरु हुने ओलीको भनाई छ । मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उनको भनाइ थियो ।

“देश बनाउन लोकतान्त्रिक आन्दोलन चलिरहन्छ”, उनले भने, “समग्र राष्ट्र परिवर्तनको आन्दोलन भएकाले सफलताका साथ अगाडि बढ्छ ।” आफूले अदालतलाई धम्की नदिएको स्पष्ट गर्दै उनले न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास रहेको उल्लेख गरे ।

त्यसैगरी ओलीले कहिलेकाहीँ न्यायालयले समेत अनुपयुक्त निर्णय गर्ने गरेको समेत बताए । यसको अर्थ उनले भन्ने गरेको सेटिङ मिलाएको कुरा भत्किसकेको संकेत हो ।

प्रधानमन्त्री ओलीले अदालतबाट जस्तो फैसला आए पनि आफ्नो राजनीति नसिद्धिने भन्दै रक्षात्मक रहेको स्पष्ट संकेत दिए । उनलाई प्रतिनिधिसभा पुनर्स्थापना हुने स्पष्ट सुँइको पाइसकेको संकेत गरेका हुन् ।

शनिबार विराटनगर पुगेर ओलीले ‘सेटिङ’मा संसद् पुनस्र्थापना भए आन्दोलन हुने चेतावनी दिएका थिए ।

सर्वोच्चले विघटन बदर गरे तत्काल सभा पुनःस्थापना हुन्छ । संवैधानिक व्यवस्थाअनुसार गत पुस १७ भित्र प्रतिनिधिसभाको अधिवेशन हुनुपर्नेमा नभएकाले जतिसक्दो छिटो बैठक डाक्नुपर्ने हुन्छ । तर प्रधानमन्त्री ओलीले गत पुसको राष्ट्रिय सभा अधिवेशनलाई देखाएर बैठक डाक्न ढिलाइ गर्न सक्ने अनुमान गरिएको छ ।

विघटन असंवैधानिक भन्दै पूर्वप्रधानन्यायाधीश, संविधानविद्, वरिष्ठ अधिवक्ता, अधिवक्ताले आफ्नो धारणा राखिसकेका छन् । उनीहरूले प्रधानमन्त्रीले अर्को सरकार बनाउने सम्भावना हुँदाहुँदै नेकपाको आन्तरिक कलहका कारण प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओली झन् पछि झन् नर्भस हुँदै गैरहेको समयमा उता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कन्फिडेन्स बढिरहेको देखिएको छ ।

नेकपा प्रचण्ड-नेपाल समूहका नेता विष्णु रिजालले ओलीले कार्यकर्ताहरुलाई मानसिकरुपमा संसद पुनर्स्थापनाका लागि तयार रहन संकेत गरेको टिप्पणी गरेका छन् ।

आइतबारमात्र पनि प्रचण्डले ले ‘सेटिङ’ भत्किसकेको र अदालतले केही दिनभित्रै प्रतिनिधि सभा पुनर्स्थापना गर्ने दाबी गरेका थिए ।

ओलीलाई अदालत र निर्वाचन आयोगबाट आफू अनुकुल निर्णय आउँदैन भन्ने लागिसकेको छ । त्यसैले उनी विप्लव लगायतका शक्तिसँगको सहकार्यतर्फ जोड दिन थालेका छन् ।

यो पनि हेर्नुस् – 

संसद विघटन सदर कि बदरः प्रधानन्यायाधीश राणाको सन्देश- फैसला जुनसुकै बेला हुनसक्छ

संसद पुनःस्थापना भए के के हुनसक्छ ?

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्