कहिलेसम्म डराएर बस्नुपर्ने ? | Janadesh Daily | ePaper

कहिलेसम्म डराएर बस्नुपर्ने ?


दुर्गम पहाडका गाउँहरुमा स्वछन्द रुपले मनमा रत्तिभर डर नलिई स्कुल जाने आउने गर्थ्यौँ । मेलापात, पानीघट्ट, जात्राहरुमा एक्लै जानेगथ्र्यौं । चाडपर्वमा राती अबेरसम्म घरबाट टाढाटाढा देउडा, हुड्केउली जस्ता अनेक स्थानीय लोकप्रिय नाचहरु हेरेर रमाउँथ्यौं । अबेर राती सल्लाको काठको राँको वा टर्चलाइट बालेर एक्लै आफ्नो घर फर्किन्थ्यौं । कति आनन्दको माहोल हुन्थ्यो गाउँसमाजमा । तर अचेल गाउँ, समाज र देशको अवस्था पूरै बदलिएको छ । त्यतिखेर मात्र जंगली जनावरको डर हुन्थ्यो तर अचेल गाउँ वा शहर जतासुकैमान्छेकै भयानक कर्तुतले सपना र बिपना दुवैमा तर्साइरहेको छ ।

समयसँगै राजनीतिक परिवर्तन, संचारमाध्यम, सामाजिक संजाल आदिको विकासले मानिसका ब्यवहार पनि विस्तारै मानवीय समवेदनालाई कुल्चिदै दानवीय प्रवृत्तितिर ढल्किदै छन् । जसले गर्दा हरेक पल डरैडरमा जीवन जीउन बाध्य हुनुपरेको छ । यसका साथै प्रकृतिले पनि घरिघरि तर्साइरहन्छ । कहिले बाढि पहिरो, कहिले हुरी, चट्याङ या भुकम्प आदिले अत्याइरहन्छ । २०७२ सालको भुँइचालो गएको महिनौसम्म मनमायस्तै डर भइरह्यो ।

त्यो डर बिस्तारै हराउँदै थियो फेरि अर्को डरले आजभोलि नराम्रोसँग मनमा बास गरेको छ । विहान काममा गएकी छोरी, बहिनी बेलुकी सकुसल घर आइपुग्छे कि पुग्दिन भनेर डर लागिरहन्छ । आफ्नै सहपाठी, चिनेजानेका, आफन्तबाट समेत कयौं किशोरीमाथि अनैतिक कार्य हुने गरेको समाचार सुन्दा झन् अत्यास लाग्न थालेको छ । यस्तो अकल्पनीय विकृति हाम्रो आफ्नै वरिपरि मौंलाउँदै गएको देखेर मलाई मात्र होइन, छोरी हुने कयन अभिभावकको मुहारमा डर देख्न सकिन्छ ।

आजभोलि मलाई डरलागिरहने अरु थुप्रै कारण छन् । आफू काम विशेषले बाहिर निस्कनुपर्दा घरमा रहेकी छोरीलाई कसैले फकाइफुल्याई वा जबरजस्ती लगेर बलात्कार वा हत्या पो गर्छ वा न्याय माग्न जाँदा वर्षौसम्म न्याय नपाएर उल्टै अन्यायमा पो परिने हो कि, सुरक्षा माग्न जाँदा आफै असुरक्षित पो भइने हो कि ǃ महिला भएकै नाताले काठमाडौं सितापाइलामा बस्ने युवती गत वर्ष मात्रै एसिडको शिकार हुनुपरेको घटनाले यो डरलाई थप मलजल गरेको छ ।

त्यस्तै डर लाग्छ मलाई काठमाडौंमा छ्यापछ्याप्ती देखिने चिया, नाश्ता पसल भित्र अनुमतिविना राखिएका रक्सिका बोतलको जसको सेवनले मान्छे दैत्य बन्छ र जुनसुकै कर्तुत गर्न पछि पर्दैन । डर लाग्छ बाटोमा हिंड्दै गर्दा कानमा लगाएको एकआना सुन लुछिने हो कि भनेर । त्यस्तै गरी डरलाग्छ बैंकमा पैंसा राख्न र झिक्न जाँदा, बजारमा किनमेल गर्नजाँदा दश गुणा बढी मूल्य तिर्नु परेर ठगिने ।

काठमाडौंको हिलो तथा धुलोले लाग्ने खोकिको तथा खोक्दाखेरी प्रसुति हुँदा सल्यक्रिया गरेको घाउ दुख्दा, काठमाडौंका सडकमा भएका खाल्टाखुल्टिमा स्कुटर चलाउँदाको र त्यतिखेरै पर्ने जामको डर ।

पौष्टिक तत्वको ठाउँमा बिषादिले भरपुर खाद्यपदार्थको जसले गर्दा हुने क्यान्सरजस्ता विभिन्न घातक रोगहरुको डर । बेलाबेलामा सडक तथा घरमै थुप्रिरहने फोहोरबाट भान्छासम्म पुग्ने गन्धको डर । बर्षेनी डर लाग्छ मलाई दशैंको बेला घर जाँदा छतमा र गाडी भित्र चाहिने भन्दा दोब्बर यात्री बोक्ने गाडी र सुरक्षादिने सुरक्षाकर्मी लाचार भएर हेरिरहँदाको । त्यो सँगै डर लाग्छ मलाई दुर्गमका सड्कको अवस्था र लापरवाहिले गाडी चलाएको देख्दा । त्यहि सडकको नाजुक अवस्थाका कारण पहिरोमा परि आफन्त गुमाउनुको पीडा झनै डरलाग्दो हुन्छ ।

डर लाग्छ मलाई मेरै सरकारसँग जसले भ्रष्टाचारलाई बढावा दिन पप्पु कन्स्ट्रक्सन, ओम्नीजस्ता कयौं ठेकेदार कम्पनीलाई कारवाही नगरेर फेरि पनि पुरस्कृत गरिरहँदा । अति डर लाग्छ मलाई न्यायका लागि अनसन बसेर ज्यान गुमाउँदा पनि सुनुवाइ नगर्ने सरकारी प्रवृतिको ।

सबैभन्दा बढी डर लाग्छ मलाई दिनरात ज्यानको बाजि थापेर हरदम जनतालाई सुसुचित र जागरुक बनाउने पत्रकार तथा संचारमाध्मलाई अंकुस लगाउन खोज्ने ऐन, कानुनको । सुरक्षाको उच्चतम पदमा बसेका नै हत्यामा संलग्न हुँदा र सजाय पूरा नगरी छुटदा झनै डर लाग्छ ।

अचेल पूर्व मेचीदेखि पश्चिम महाकाली, विश्वका प्रत्येक मान्छेको मनमा कोरोना भाइरसँगै अन्य केहि न केहि कारणले डर उन्पन्न गरेको छ । कतै बाढी, पहिरोको डर, कतै जागिर छुट्ने डर, कतै आफ्ना बालबालिकाले लामो समयसम्म पढ्न नपाउँदा त्यसबाट पर्ने नकारात्मक असरको डर, कतै सरकार नै विथोलिने डर, कतै भारत रिसाउने डर, कतै पद नपाउने डर, कतै पद खोसिने डर । सबैलाई आफ्नो स्वार्थ पूरा नहुँदाको चिन्ता र डर छ ।

भारत, चीन लगायत देशमा हेर्ने हो भने हाम्रो पूरै देशभन्दा ठूला उनीहरुका प्रदेश छन् तर सबै कुरामा उनीहरु हामीभन्दा समृद्ध छन् । यो सानो देशलाई अझै सातबटा प्रदेशमा विभाजित गरेको लामो समय हुँदा पनि स्वास्थ्य, यातायात, सुरक्षा, लगायत अति आवश्यक सुबिधा दिन नसक्नु विड्म्बना हो । महंगी आकाशिदो छ । बलात्कारका घटनामा वृद्धि भइरहेको छ । विचौलिया बढेका छन् । विकासका काम ठप्प छन् । उता सातै प्रदेशका मुख्यमन्त्रीहरु काम नपाएर भैंसी, कुकुरमा पनि कर लगाउँदै उठेको राजस्वबाट महंगा गाडीहरुमा सयर गर्न, भत्ता खान मात्र ब्यस्त छन् । के सामान्य जनताले देख्ने यत्ति धेरै समस्याहरुलाई देशका ठूला भनिने ब्यक्तिले पटक्कै देख्दैनन् ?

डरमा बाच्न बाध्य जनताको जीवनशैली चिल्ला गाडीमा हिड्नेहरुले किन देख्दैनन् ? जनताकै भोटले दुइतिहाई सरकारले समेत केहि गर्न सकेन । दुई ठूला दल मिलेर बनेको सरकारबाट जनताले झन धेरै पीडा र निराशा मात्र पाएको छ ।

देशको सर्वोच्च पदमा बस्नेहरु नै टुटफुटमा व्यस्त भएपछि कसले गर्ने देश विकास ? कसले लगाउने जनताको पीडामा मलम ? कुनै पनि विकासका कामहरु गर्न र त्यसको प्रतिफल प्राप्त गर्न समय लाग्छ । रातारात जादुको छडिजस्तै काम गर्न नसकिएला तर आजभोलि जे जस्ता डरलाग्दा आपराधिक, भ्रष्टाचारका घटना घटिराखेका छन् यस्तो हुनुहुदैनथ्यो । त्यसैगरी विकासको लागि छुट्याएको अरबौंको बजेट बर्षेनी फ्रिज भईरहन्छ र शुरु गरिएका बिकासका कामहरु पनि बर्षौसम्म अलपत्र रहन्छन् । सरकारको ढलमले पारा र कोरोना भाइरसको असर देख्दा यसपालि पनि त्यसै हुने छाँट देखिन्छ ।

जनताको अपेक्षा यस्तो थिएन । यो दुइतिहाईको सरकारले चाह्यो भने गर्न नसक्ने केहि पनि थिएन । तर सरकारले राम्रा कामहरु गरेको आभास हुन सकेको छैन । सरकार चलाउनेहरु नै शक्ति प्रर्दशन तथा झैझगडामा व्यस्त भएका छन् । कोरोना सर्छ भन्दै हप्ता दिनसम्म हिंडेर घर जाने आफ्ना जनताका लागि गाडीको व्यवस्था गर्न नसक्ने सरकारले कोरोना कहरकै बीच मासु खुवाउँदै पैंसा बाड्दै गाउँ गाउँबाट जनताहरुलाई आफ्नो शक्ति प्रदर्शन भन्दै भिडमा धकेलिरहेको छ । जसले जे बोले पनि जे गरे पनि भएको छ ।

कोराना कहरसँगै राजनैतिक खिचातानिका कारण जनताले शान्तिको सास फेर्न पाएका छैनन् । अब के हुने होला भन्ने त्रास बढेको छ । पद र पैंसाको लागि मात्रै राजनीति गर्नेहरुले जनताका पीडा पनि बुझिदिए कति जाति हुन्थ्यो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्