नेकपाको खुशीयाली सभा : अब मुलुक संविधानबाट चल्छ – Janadesh Daily | ePaper

नेकपाको खुशीयाली सभा : अब मुलुक संविधानबाट चल्छ


काठमाडौँ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमद असंवैधानिक ठहर्‍याउँदै संसद् पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ ।

राजधानीको शान्तिवाटिकामा भेला भएका जनसमुदायले संसद् भङ्ग गर्ने सरकारको असंवैधानिक कदम न्यायालयले सच््याएको भन्दै खुशीयाली साटासाट गरेका थिए । सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो ।

सरकारको सिफारिशमा गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरिएको थियो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको विरोधमा नेकपालगायत विभिन्न राजनीतिक दलले देशव्यापी जनप्रदर्शन गरेका थिए ।

शान्तिवाटीकामा भेला भएका नेकपाका नेता कार्यकर्ताले जुलुससहित नगर परिक्रममा गरेका थिए । जुलुसमा नेकपाका स्थायी कमिटी सदस्य पम्फा भुसाल, जनार्दन शर्मा, केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, हिमाल शर्मालगायतको सहभागिता थियो । जुलुसपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै नेकपा नेत्री पम्फा भुसालले संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई न्यायालयले सच्याएको बताउनुभयो । “अब मुलुक संविधान र संविधानबाट चल्छ, सर्वोच्चबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले पनि खेलाची गर्न सक्दैन भन्ने ऐतिहासिक फैसला भएको छ”, उहाँले भन्नुभयो । विश्वकै उत्कृष्ठ समाजवादी मोडल स्थापना गर्न अब आफूहरूको ध्यान केन्द्रित हुने उल्लेख गर्दै उहाँले जनताको न्याय, समानता र मुक्तिको अभियानलाई पूरा गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेत्री भुसालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध देशव्यापी सङ्घर्ष गर्न साथ दिने सम्पूर्ण जनसमुदायप्रति पनि आभार व्यक्त गर्नुभयो । नेकपाले संसद् पुनःस्थापनाको खुशीयालीमा देशभर जनसभाको आयोजना गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्