टाइगर उड्सको कार दुर्घटनाग्रस्त, गम्भीर घाइते – Janadesh Daily | ePaper

टाइगर उड्सको कार दुर्घटनाग्रस्त, गम्भीर घाइते


लस एन्जलस ।

 विश्वप्रसिद्ध गल्फ खेलाडी टाइगर उड्स चढेको कार लस एन्जलस नजिक मङ्गलबार दुर्घटनाग्रस्त भएको छ । उनी चढेको कार सडकमा धेरै पटक पल्टिएको थियो, तर गम्भीर चोट लागेपनि भाग्यवस उनी बाँच्न सफल भएका छन् ।

बिहानीपख उक्त दुर्घटना हुँदा उनी कुनै किसिमको लागूऔषध वा मदिरा सेवन गरेको अवस्थामा नपाइएको प्रहरीले जनाएको छ । लस एन्जलस काउन्टी प्रहरी अलेक्स भिल्लानुभाले गम्भीर घाइते उड्सको शल्यक्रिया गरिएको जानकारी दिनु भएको छ ।

अन्य सवारी साधन वा यात्रुका कारण दुर्घटना भएको पाइएको छैन, तर शहरको बाहिरी इलाकामा बारम्बार दुर्घटना भइरहने स्थलमा नै उड्स चढेको गाडी दुर्घटनाग्रस्त भएको छ । प्रहरीका अनुसार उड्स चढेको कारको गति केही बढी रहेको थियो ।

उद्धारका लागि घटनास्थल पुगेका प्रहरी अधिकृत कार्लोस गोन्जालेजले घटनाको प्रकृति हेर्दा टाइगर उड्स भयानक दुर्घटनाबाट भाग्यवस बाँच्न सफल भएको जानकारी दिनुभयो । गोन्जालोका अनुसार टाइगर उड्स दुर्घटनाग्रस्त कारभित्र च्यापिएको अवस्थामा तर होसमै फेला परेका थिए ।

गोन्जालोले टाइगर उड्सका दुबै खुट्टामा चोट लागेको हुन सक्ने बताउनुभयो । विश्वकै एक जना सर्वाधिक सफल गल्फ खेलाडी मानिने ४५ वर्षीय टाइगर उड्सले १५ वटा प्रमुख गल्फ प्रतियोगिता जितेर किर्तिमान राखेका छन् ।

उनको हालैमात्र पाँचौं पटक पिठ्युँको शल्यक्रिया गरिएको थियो । सोही शल्यक्रियाका कारण निकट समयमै हुन लागेको मास्टर्स प्रतियोगिता उनले त्याग्ने सम्भावना थियो । सन् २०१९ मा उनले यो प्रतियोगिता जितेका थिए ।

उड्सको दुर्घटनाप्रति विश्वका गल्फ खेलाडी तथा शुभेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्